एमालेको मुख्यालय धुम्बाराहीबाट थापाथली हाईटमा (भिडियो सहित)

  

काठमाडौं। नेकपा (एमाले) को मुख्यालय धुम्बाराहीबाट थापाथली हाईटमा सरेको छ । चक्रपथ बिस्तारका क्रममा धुम्बाराहीमा रहेको कार्यलयमा आउजाउमा कठिनाई हुने भएपछि एमाले मुख्यालय सरेको हो  ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान थापाथी हाईटमा रहेका कार्यालय उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोती दुगडको अग्रसरतमा व्यवसायी सञ्जय अग्रवालको घर भाडामा लिई नयाँ पार्टी कार्यालय बनाएको हो ।

आज लेलिन दिवसको अवसर पारेर थापाथलीमा रहेको भाडाको घरबाट कार्यालय सञ्चालन भएको हो । २०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने गरि क्षती गरेपछि कार्यालय सञ्चाल पासाङ ल्यामु प्रतिष्ठान रहेको धुम्बाराहीको भवनबाट हुँदै आएको थियो । 

कार्यालयमा पार्टी पदाधिकारीहरुको छुट्टाछुट्टै बस्ने व्यवस्था, बैठक कक्ष, गाडीहरुको लागि प्रयाप्त पार्किङ्गको सुविधा रहेको छ । प्रधानमन्त्री ओलीले आज बिहान बल्खुमा पार्टी कार्यालयको भवन शिलान्यास पनि गर्नुभएको छ । बल्खुको पार्टी कार्यालय नबनुन्जेल यसै कार्यालयबाट पार्टीको काम कारबाही हुनेछ ।