कथाकारहरुको कथा

  

“ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् ।

“त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई महान् आख्यानकारमा दर्ज गराउन तम्सिएको छ । त्यस्तो पनि कथा हुन्छ ।” मात्तिएको स्वरमा अलि प्रौढ देखिने अर्को कथाकार । भट्टीमा काम गर्ने केटो अघिको माग पूरा गरेर फर्किन लाग्छ । अर्को लर्बराएको स्वरमा मागपत्र पेस गर्दछ, ‘भाइ, टेबुलमा राम्रोसित हेर्नुपर्दैन र? खोइ सितन र? चार प्लेट चिकन फ्राई, छिट्टै । साहूजी खै र? यति ठूलाठूला मान्छेहरू यहाँ आएका छन् । नमस्ते गर्न आउनुपर्दैन ?’ केटो बोल्दैन । सायद अभ्यस्त छ ऊ । यस्ता जँड्याहाहरू कति आउँछन्, कति । अनुहारमा कुनै भाव छैन । किचनतिर कदम बढाउँछ ।

‘त्यो समालोचक, नाम के रे र? प्राध्यापक पनि हो । आफूलाई नेपालको सबैभन्दा ठूलो समीक्षक भन्दै हिँड्छ अरे । हाम्रो किताबका बारेमा कतै पनि चर्चा गर्दैन यार ! त्यसको सेखी झार्नुपर्‍यो । तेस्रो बोल्छ । कतातिर सङ्केत गर्न खोजेको हो, कसैले मेसो पाउँदैनन् ।

जनयुद्धको सौन्दर्यका बारेमा हामीले पनि युद्धकथा लेख्नुपर्‍यो । जनयुद्ध गर्ने एउटा, युद्धकथा लेखेर मालामाल हुने अर्कै । होइन यो देशमा के भएको हो र? चौथो आफ्नै राग अलाप्छ । साथीहरू, हामी सबै बोलिरहेका छौं । सुन्ने मान्छे चाहिँ को हो रु सबै नेता बन्न तम्सिएका छौँ, कार्यकर्ता खोई ?’ थोरै पिउने एउटा पातलो पात्र अलि गम्भीर कुरा गर्न तम्सिन्छ ।

यसलाई सधैँभरि बाठो हुनुपर्छ । हामीले बोलेको हामीले सुनेका छौँ । हामीले लेखेको हामीले पढेका छौँ । आफैँ वक्ता, आफैँ श्रोता । हामी स्वयम् नेता, स्वयम् कार्यकर्ता । बढी बोल्ने होइन हैं ‘‘।। एउटा वाईसीएल शैलीमा गर्जिन्छ । पातलो पात्र मौन । सायद सम्भावित दुर्घटनालाई निम्ता गर्न चाहँदैन ।

एकछिनको सन्नाटा । रित्ता ग्लासहरू आवाद हुन्छन् । टेबुलमा चार प्लेट चिकेन फ्राई हाजिर । सबै सक्रिय हुन्छन् । गिद्धका पनि हजुरबाउजस्ता लाग्छन् । दुर्भिक्षको न्यानो स्नेह पाएका शरणार्थी जस्ता लाग्छन् । एकैछिनमा बोतल खाली, प्लेट पनि सुनसान । मुखामुख गर्छन् तृप्ति अझै टाढा भएझैं । अगस्तिहरू जम्मा भएझैं ।

“थप्ने हो ? ” एउटा पात्र ।

“आफूलाई त छोएकै छैन । १५ दिनमा बल्ल मौका पाइएको छ ।”

“दसजना कथाकारहरू जम्मा भएर जम्मा छ क्वाटर मात्र उदरस्थ गर्दा राष्ट्रको अपमान हुँदैन ? हाम्रा अग्रजहरू बिहान १० बजे पिउन बसेपछि राति २ बजेमात्र अनुष्ठान सम्पन्न गर्थे अरे । जति धेरै सोमरस पान गरिन्छ उति ठूलो सर्जक भइन्छ भन्ने कुरा बुझ्नुपर्दैन ?” अर्को थपिन्छ । “आज हामी कसको निमन्त्रणामा आएको ?” अहिलेसम्म मौन बसेको पात्र मुख खोल्दछ ।


“कथाको बारेमा व्यापक बिचार विमर्श गरौँ र गेट् टुगेदर पनि होस् भनेर मैले यो कार्यक्रम बनाएको हुँ । मित्रको सोचाइको आशय ? ” आयोजक बोल्दछ । ” मलाई त केही पनि थाहा थिएन । आज कुन बेबकुफ मुर्गा हुनेभएछ भनेर जान्न चाहेको ।” उही जिज्ञाशु ।

“मुर्गा ‘.हा‘।।हा‘।।हा‘।।म मुर्गा हुने अरे । म मुर्गा होइन, दुर्गा मित्तल हुँ । पित्तलको कारखाना छ । मेरो पित्तल बजारमा पुगेपछि सुन हुन्छ । तिमीहरूजस्ता दुई कौडीका कथाकारहरूलाई टन्न सोमरसपान गराउन पाउँदा मलाई आनन्द हुन्छ । बेबकुफ म होइन । फोकटमा खान पाइयो भनेर दगुर्ने पो ‘‘।।”

“दुर्गाजी, तपाईंलाई पनि तीन प्यागले नै छोयो । हामीलाई अन्टसन्ट भन्नुभन्दा अगाडि तपाईंले तीनपटक सोच्नुपर्दैन । लोटा लिएर दक्षिणबाट उत्तर पसेका होइनन् तपाईंका बराजु ! धरातल बिर्सनु भयो ?’ अलि स्वाभिमानीजस्ता लाग्ने कथाकार थामिएनन् ।

“विवेकजी, क्षमा पाउँ । म आफूलाई जे भने पनि सहन तयार छु, कसैले मुर्गा भन्यो भने बर्बण्डी खलबलिन्छ क्या ।”

“भयो, भयो, यो कवाफमा हड्डी कहाँबाट आयो ? त्यता नजाउँ । दुर्गाजीको उदारतालाई मान्नुपर्दछ लक्ष्मीपति भएर पनि सरस्वतीपुत्रहरूलाई माया गर्नुहुन्छ । धेरै धनीहरू छन् यो सहरमा, खोइ अरूले हामीलाई वास्ता गरेको । जहान छोराछोरी रुवाउने लहडीहरू भन्छन् हामीलाई । अनुत्पादक मान्छन् साहित्यलाई । बरू आजको मूल एजेन्डा के थियो रे ? विवेकजी, मैले पनि बिर्सिएँ । लागेछ ।’ सहजकर्ता जन्मियो ।

“खाएपछि लाग्छ नि शरदजी । आजको हाम्रो एजेन्डा हो-वर्तमान अबस्थामा हाम्रो कथाकारिताको दिशा कुन हो ?”

“विवेकजी, यति गम्भीर विषय रहेछ । नपिउँदै छलफल गर्नुपर्ने ।”

“केही फरक पर्दैन । होसमा भन्दा बेहोसमा मान्छेले सत्य कुरा बोल्छ ।”

“लौ त आजको बहसको श्रीगणेश विवेकजीबाटै जाओस् ।” एउटा स्वर ।

“साथीहरू, हामी सबै कथाकार । कथाकारहरूको कथा यस्तो छ । हामीजस्ता प्रबुद्ध वर्गको गति यस्तो भएपछि हाम्रो वाङ्मयको प्रगति कस्तो होला ?” “भाषण छाट्न भनेको होइन । वस्तुगत भएर कुरा गरौं । विवेक नाम हुनेले नै विवेक पुर्‍याउँदैनन् । हाम्रो के कुरा ।”

“ठीक छ प्रतापजी, मैले मित्रको आशय बुझें । मलाई पनि थाहा छ, हामीजस्ता मान्छेहरूलाई कसैले पनि सम्झाउन सक्दैन । स्वव्यवस्थापन कमजोर भएपछि निस्कने परिणाम यही हो । हाम्रो कथाकारिता, हाम्रो आख्यान कतातिर गइरहेको छ ? हामी कस्तो कथा सिर्जना गरिरहेछौँ ? साथीहरू पालैसित आ-आफ्नो धारणा राख्नुहोस् । त्यो छेउबाट सुरु गरौं । ल सुरेशजीको पालो ।” यतिञ्जेल मौन रहेको पात्र आफ्नो नाम सुनेपछि झसङ्ग हुन्छ । केही सोचेजस्तो गर्दछ । अलिकता खोक्दछ । सायद घाँटी सफा गर्दैछ । बोल्छ, “म बोल्नमा भन्दा सुन्नमा आनन्द मान्ने मान्छे । त्यतिधेरै ज्ञान छैन । सानो मान्छेको सानो कुरा । बजारमा आएका कथासङ्ग्रहहरू पढ्दा प्रायः कथाहरूमा अँध्यारो पक्ष हावी भएको पाउँछु । महिला स्रष्टाहरूको आख्यान पढियो भने पुरुष पात्रलाई पूरै खलनायक बनाइएको हुन्छ । कुनै कथामा सकारात्मक पुरुष चरित्र पाइँदैन । पुरुषले लेखेको कथामा नारीलाई अबला सावित गर्न खोजिएको हुन्छ । महलमा बस्नेहरू झुपडीको कथा लेखेर गोहीको प्रवृत्ति प्रदर्शन गरिरहेछन् । कताकता, केके नमिलेझैं लाग्दछ । हामी कथामा आदर्श छाट्दछौँ । हाम्रै व्यवहार यस्तो छ । म त चारैतिर विरोधाभास मात्रै देख्दछु । यो विषयमा, यस्तो ठाउँमा, हामीजस्ता मान्छेहरू मात्र जम्मा भएर छलफल गर्ने होइन कि रु मेरो भन्नु यति नै हो ।”


“भूपेन्द्रजी, आफ्नो धारणा राख्नुहोस् ।” अनुरोध गर्दछ विवेक । “मेरो सोचाइ अलि फरक छ । हरेक कुरा विघटन भएको समय हो यो । पुराना मूल्य र मान्यताहरू खुइलिए । नयाँ जमाना आयो । सिर्जना निर्देशित हुँदैन । लेखकीय स्वतन्त्रतामाथि हमला गर्न पाइँदैन । सर्जकले जस्तो अनुभूत गर्दछ त्यस्तै लेख्छ । कलात्मक छ कि छैन, कत्तिको रसिलो छ, सीप पुगेको छ कि छैन । प्राविधिक पक्ष कत्तिको सवल छ । शब्द संयोजन कस्तो छ । यी पक्षहरू महत्त्वपूर्ण होलान् । उज्यालो र अँध्यारोका बारेमा हामीले सोच्ने होइन कि ?”

“खानेकुरा सकियो यार । भाषण मात्र सुनेर पेट अघाउँदैन । मित्तलजी, अलि तृप्त भइएन ।”

“अहो, कमलजी, माफ गर्नुहोला । म मगाउँछु । रातभर खुवाएर, पिलाएर भए पनि म मेरा मित्रहरूलाई सन्तुष्ट बनाउँछु । गणेशलाई अघाउने बनाउन नसक्ने कुबेर होइन म ।” अर्डर गर्छ मित्तल । अर्डरअनुसारका सामानहरू आइपुग्छन् । सबैको ध्यान त्यतै जान्छ । बोतल फेरि पनि रित्तिन्छ । प्लेटहरू फेरि पनि खाली हुन्छन् । काम गर्ने केटा मिसिनझैं कुदिरहेछ । लर्बराउँदै बोल्छ कपिल, “साथीहरू, म त उत्तरआधुनिक कथाकार हुँ‘‘हि‘‘हि‘।।आफ्नो त सिद्धान्तै अर्कै छ‘।।हि‘‘हि‘‘।”

” कपिलजी, तपाईंलाई लागेजस्तो छ‘‘।”विवेक सम्झाउने कोसिस गर्दछ । कपिल थामिँदैन, “खाएपछि लाग्छ, लागेपछि कसको बाउको के लाग्छ ? लागोस् भनेरै खाएको होइन ?” “कपिलजी, म हात जोड्छु । कृपया शान्त भइदिनुहोस् । मेरैलागि भए पनि ।” मित्तल निरीह बन्दछ । “मोही पिएको हो र शान्त हुने? ए‘‘मित्तलजी हो । लौ त म चुप लागे । अरू झारपातलाई म कहाँ टेर्छु ? मित्तलजी, हाम्रो अन्नदाता । तपाईं जापान, हामी नेपाल‘।।हि‘‘।हि‘‘‘।” थामिन्छ कपिल ।

“यी जँड्याहाहरूको सङ्गत गर्न नहुने रहेछ” मौन संवाद गर्छ कपिल । ” यी सालेहरू के जँड्याहा, असली जँड्याहा त म हुँ” आफैंसित, उही कपिल । “अबदेखि सालेहरूलाई निम्ता गर्दिन । जहिले पनि बबाल मात्र गर्छन् ।” मित्तल पनि भित्रभित्र मुर्मुरिएको छ । १५ बोतल रित्तिए । मासु कति प्लेट हो, थाहा छैन । सलाद र स्न्याक्स उत्तिकै ।

“कति खान सकेका हन्तकालीहरू । यिनीहरू मन्त्री भए भने देशै खान्छन् ।” मित्तलको रिस मरेको छैन । अनुहार पनि कस्तोकस्तो बनाएको छ । “मित्तलजी, रमाइलो गर्न भनेर जम्मा भइयो, सारै बोर भयो हगि ।” विवेक, रुञ्चे स्वरमा । अरू साथीहरू मुखामुख गर्छन् ।

“होइन, होइन, विवेकजी, त्यस्तो केही होइन । मजा आइरहेछ । यस्तो बेलामा हुने यस्तै हो । थोरै सत्यनारायण पूजा लगाएको हो र । जुन चीजको सङ्गत गरिन्छ त्यो चीजले आफ्नो रङ देखाइहाल्छ ।” मित्तल परिस्थितिलाई काबुमा लिने असफल प्रयास गर्दछ । अचानक भट्टीको मालिक आइपुग्छ । उसको पछाडि एउटा भुसतिघ्रे पनि छ । सायद भट्टीको मर्यादापालक होला । “सरहरू, १२ बजिसक्यो । मेरा कामदारहरू थाके । ११ बजे नै बन्द हुने भट्टी हो यो । अब यहाँहरू गइदिए धेरै राम्रो । बिल तयार छ ।” भुसतिघ्रेमाथि सबैको नजर पर्छ । सातो जान्छ । मुखामुख गर्छन् । मित्तल बोल्छ, “साहूजी, हामी स्थायी ग्राहक हौँ । आज छलफलका कारणले अलि ढिला भयो । अब हामी जान्छौँ । घरमा पनि जहानपरिवार चिन्तित भए होलान् ।”

“हो, हो, मित्तलजीले ठीक भन्नुभयो । आजलाई पुग्यो ।” कपिलको घोषणा । जम्मा ने.रु.१२,६७० भएछ । रु.३३० टिप्ससहित १३ वटा हात्ती गनिदिन्छन् मित्तल । काम गर्ने केटाको अनुहार उज्यालो हुन्छ । सबैलाई झुकेर सलाम गर्छ । “यस्ता मान्छेहरू आइरहे हुन्थ्यो” यस्तै सोच्दछ केटो । भट्टी बाहिर सबैको बाइक छ । विवेक बाइकबिहीन । मित्तलको पजेरोमा विवेकले लिफ्ट पाउँछ ।

भोलिपल्टको अखबारमा छापिन्छ, “प्रसिद्ध कथाकार कपिलदेव शर्मा अत्यधिक मदिरा सेवनका कारण मोटरसाइकल दुर्घटनामा मृत्यु ।” चिया दोकानमा गफ हुन्छ, “कथाकारहरूकै कथा यस्तो भएपछि अरू मान्छेको कथा कस्तो होला ?” ” होइन, यी साहित्यकारहरू मदिरा सेवन नगरे लेख्नै सक्दैनन् ?” ” घरमै बसेर धोके पनि त हुन्छ नि । हेर, श्रीमती र छोराछोरीको बिचल्ली भएन १”

“त्यही भएर मलाई साहित्यकार देख्यो कि एलर्जी हुन्छ ।”

“पिउँदै नपिउँने लेखकहरू पनि त छन् ।”

“यी लहडीहरू अकालमा ज्यान फाल्छन् । भूपि, कटुवाल छिट्टै गए । चुरोटको कारणले महाकवि गए ।”

“यस्ता मान्छेहरू प्रायः अल्पायुका हुन्छन् क्यारे ।”

एक वर्षपछि कपिलदेव शर्माको नाममा भव्य स्मृति ग्रन्थ छापिन्छ । “शताब्दीकै महान् कथाकार” भनेर सबैले प्रशंसा गर्दछन् । “जिउँदो छउञ्जेल आलोचना मात्रै पायो, मरेपछि महान् भयो” विवेक एक्लै भुतभुताउँछ । उता कपिलको घरमा किताबको गातामा बाउको ठूलो तस्बिर देखेर सानी छोरी तोते बोलीमा आमासित प्रश्न गर्छिन्, “आमा, यो किताबले हामीलाई खान दिन्छ ?” आमाको आँखाबाट आँसु बगिरहन्छ । छोरी जिल्ल पर्छिन् । रेडियोमा समाचार आउँछ, “यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार, मरणोपरान्त, कथाकार कपिलदेव शर्मालाई प्रदान गरिने भएको छ ।”

भोलिपल्ट राष्ट्रिय पत्रिकाको शनिबारको अङ्कमा विवेकको कथासम्बन्धी एउटा लेख छापियो । लेखको सारसङ्क्षेप ः

धेरैदिनदेखि मेरो मनमा एउटा सुनामी लहर उत्पन्न भइरहेको थियो । मित्र कपिलदेव शर्माको आकस्मिक र अकल्पनीय दुर्घटनाका कारणले म स्तब्ध भएको थिएँ । हामी कथाकारहरूको कथा पनि उदेकलाग्दो छ । आफैं अनुशासनमा बस्न सक्दैनौं, कथामा मर्यादा, अनुशासन, आदर्श र नैतिकताको कुरा गर्दछौं । त्यो दिन त्यसरी सोमरसपान नगरेको भए आज मित्र कपिल हाम्रै वरिपरि हुने थिए । हाम्रो कमजोरी नै हाम्रो सर्वनाशको कारण रहेछ । त्यही दिनबाटै हामी १५ जना कथाकारहरूले मदिरा त्याग्यौँ । धूमपान पनि बर्जित । म यसै लेखमार्फत् सम्पूर्ण सोमरसानुरागी साहित्यकारहरूलाई आफ्नो आचरणका बारेमा पुनर्विचार गरियोस् भनी हार्दिक अपिल गर्दछु ।

साथै हामीले आजसम्म लेखेका कथाहरूमा यौन, दुर्भिक्ष र मदिरामात्र अन्तर्वस्तु बने । नारीदेहको मूल्याङ्कनमैं शब्दहरू विनियोजित भए । भोक र भोगकै वरिपरि लटपटियौं हामी । कथामा यौन, उपन्यासमा यौन । यो प्राकृतिक र मर्यादित कुरालाई यसरी छ्याल्लब्याल्ल पार्दा हाम्रो संस्कारमा, हाम्रो सामाजिक संरचनामा नै धक्का पुगेझैं लाग्यो । छाडा प्रवृत्तिले मलजल पाएझैं लाग्यो । अत्यन्त गम्भीर विषय हुन् यी । यिनीहरूको बारेमा अलि गम्भीर भएर सोच्ने हो कि रु बाबु र छोरीसँगै बसेर पढ्न र सुन्न मिल्ने कथा र उपन्यासहरू लेखिएमा हाम्रो साहित्यले सम्मान पाउने थियो कि ? समाजको चरित्र निर्माणमा साहित्यले महत्त्वपूर्ण भूमिका खेल्दछ ।

साहित्यमार्फत् समाजमा विद्यमान विकृति र विसङ्गतिहरूलाई न्युनीकरण गर्नुपर्ने होइन र ? आज हामी जस्तो साहित्य लेखिरहेका छौं, त्यसले सस्तो लोकप्रियता त कमाउला, रूपमा वाह, वाह पनि लुट्ला तर सारमा के होला रु चलचित्र त्यस्तै, कथा, गजल, कविता, उपन्यास सबै छाडा भएपछि हाम्रो दुर्दिन टाढा नहुन सक्दछ । हामीले आजसम्म अँध्यारोको कुरा मात्र गरेजस्तो लाग्यो । समाजभित्र औंसी मात्र छैन, पूणिर्मा पनि छ । नराम्रो मात्र छैन, राम्रो पनि छ । कतै न कतै सत्यको बास छ । नकारात्मकमात्र समाजको परिचय होइन । हामीले डाँकाजस्तो मानेको मान्छे साधु पनि हुनसक्छ ।

हामीले गुण्डा प्रमाणित गर्न खोजेको ठिटो गौतम बुद्ध हुन सक्छ । सिक्काको एउटा पाटो मात्र नहेरौं । सिमान्तीकृत वर्गका बारेमा हामी हाम्रा कथाहरूमा ठूलाठूला कुरा गर्दछौं । सिद्धान्तत:यो बेठिक नहोला । हामी कथा र कवितामा मात्र सुन्दर भएर भएन । व्यावहारिक जीवनमा पनि हामी हाम्रो कविताजस्तै, कथाजस्तै सुन्दर हुनुपर्‍यो । ‘निकृष्ट व्यक्ति, उत्कृष्ट कलम’ भन्ने उपाधि पाउनुभएन । गरिबको बारेमा चिन्तन गरेर लेख्नेले कमसेकम एउटा गरिबको सन्तानलाई शिक्षादीक्षाको अबसर दिलाउने काममा सहयोग पुर्‍याउनु पर्‍यो । मनले चाहेमा धन ठूलो कुरा होइन । जीवन सफल भएर मात्र हुँदैन, सार्थक पनि हुनुपर्दछ ।

२०६७ साल भदौ २६ गते शनिबार कान्तिपुर पत्रिकामा शेखर खरेलको लेखले यही पुष्टि गरेको छ । असल साहित्यको कुनै सिद्धान्त हुँदैन । जानीजानी हामी साहित्यलाई सिद्धान्तको दास बनाइरहेका छौं । इन्द्रेणीका हरेक रङको उत्तिकै महत्त्व हुन्छ । हामी त विभिन्न रङमा विभाजित भएर दन्तबझान गरिरहे छौं । निषेध हाम्रो संस्कृति बनिरहेछ । नारायणगढबाट पूर्व जाने बस चढेर हामी धनगढी, दिपायल, सुर्खेत र नेपालगञ्ज पुग्ने सपना देख्दछौं । धेरै हिड्छौं, कही पनि पुग्दैनौं । अरूले सानो भूल गरेमा तीललाई पहाड बनाउँछौं तर आफैँबाट कति ठूलो गल्तीभएको छ, लेखाजोखा गर्दैनौं । आत्ममूल्याङ्कन गर्ने बानी नै बसेन । नकारात्मकता हाम्रो शोधको विषय बन्यो । धोबी उद्योगमैं रमायौं ।

अरूलाई अयोग्य सावित गरेपछि मात्र आफू योग्य भइन्छ भन्ने भ्रममा रमायौं । अरूलाई नराम्रो भन्दा हामी आफैं कति राम्रो हुन्छौं, यो गणित बुझेनौं । राष्ट्र र मानवताभन्दा ठूलो कुरा केही पनि छैन । हाम्रो सिर्जनामा राष्ट्र सम्बोधन भएन, हाम्रो सिर्जनाले मानवीय संवेदनालाई स्पर्श गरेन भने कुरा बुझौं हामी मसी, कागज र शब्दहरू दुरूपयोग गरिरहेका छौं । पाइन, पाइन भनेर अरब्यरोदन मात्र गरिरहृयौं भने मानसिकरूपमा हामी टाट फर्किएछौं भनेर जाने हुन्छ ।

कमसेकम हाम्रो लेखाइ र गराइबीचको दूरी ज्यादै कम हुनुपर्‍यो । द्वैध चरित्र घातक हुन्छ । जटिल हुन्छ । जीवनको अर्को नाम सरलता हो । ‘सादा जीवन, उच्च विचार’ जहिले पनि काम लाग्ने कुरा हो । अब हामीले हाम्रा कथाहरूमा यस्ता उज्याला कुराहरूलाई प्राथमिकता दिनु पर्दछ । अब उज्यालोको कुरा गरौं ।