अहिलेको लकडाउन युद्धबिराम मात्र हो, युद्धको अन्त्य होइनः जनस्वास्थ्यविद डा विराज कर्माचार्य

  

डा विराज कर्माचार्य
जनस्वास्थ्यविद

अहिले जेजति संक्रमित छन् उनीहरु अब घरमै हुन्छन् । घर परिवारमा पनि संक्रमित व्यक्तिबाट परिवारका अरु सदस्यहरुमा सरिरहेकै हुन्छ । त्यही भएर एउटा गर्नु पर्ने मुख्य काम टेस्ट र ट्रिट (परीक्षण र उपचार) भनिन्छ, अर्थात् घरमा भएकाहरुलाई अथवा अरु ठाउँमा भएकाहरुलाई अहिलेको निषेधाज्ञा भएको बेलामा संक्रमित भएकाहरु पहिचान गरेर ती संक्रमित भएकाहरुलाई छुट्याउने, उपचार गर्ने र ठीक गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखेर वा परीक्षण गर्न थालियो भने हामीले घरघरमा बस्ती बस्तीमा भएका अहिलेका संक्रमितहरुबाट पछि संक्रमण नफैलियोस् भनेर हामीले एउटा ठूलो पूर्व सावधानी बनाउन सकिन्छ । चीनमा पनि उहानमा हुँदाखेरि त्यहाँ गरेको पनि यही नै थियो । लकडाउन गरिसके पछि घरघरमै गएर परीक्षण गरिएको थियो । अहिले पनि हामीले यो परीक्षणलाई बढाउनु पर्दछ ।

दोस्रो, अहिलेका संक्रमितहरु खुला हुनासाथ फेरि बाहिर निस्कन्छन् । संक्रमणको चक्र त उही गति र चक्रमा जान्छ । लकडाउनले के फाइदा हुन्छ भने एकै पटक धेरै बिरामीको संख्या नभै अलिकति लामो समय पारेर संक्रमितको संख्या बढ्छ । त्यो हुनाले स्वास्थ्य संरचनालाई त्यति धेरै भार हुँदैन । तर यो भन्नुको अर्थ के हो भने निषेधाज्ञा हुँदाखेरि अहिले हामीसँग रहेका तर अपर्याप्त स्वास्थ्य संरचनाहरुलाई पुनः तयार बनाउन एक घण्टा पनि समय खेर फाल्नु हुँदैन । लकडाउन खुलेपछि संक्रमितको संख्या त अवश्य बढ्छ, र त्यसका लागि पनि यी संरचनालाई व्यापक बनाउन जरुरी छ । त्यसको तयारीमा लाग्नु पर्छ जस्तै बेड थप्ने, अक्सिजनका सिलिन्डर बढाउने इत्यादि ।

तेस्रो, लकडाउनमा पनि जुन संक्रमित आउँछन् उनीहरुको व्यवस्थापनका लागि पनि अहिले भएका स्वास्थ्य संरचनालाई पनि पूर्ण रुपमा प्रयोग गर्नु पर्दछ । अहिले पनि स्वास्थ्य संरचनाहरु जहाँ अक्सिजन छ, जहाँ सामान्य व्यवस्था गर्न सकिन्छ, त्यहाँबाट उपचार दिन सकिन्छ । कोभिड भएकाहरु सबैलाई ठूल्ठूला अस्पतालमै लैजानु पर्छ भन्ने छैन । शुरु शुरुको अवस्थामै बिरामीलाई अलिअलि गाह्रो हुन थाल्नासाथ बिरामीलाई उपचार गर्न सकियो भने धेरैको ज्यान बचाउन सकिन्छ । अहिलेकै अवस्थामा पनि हामीले हजारौंको ज्यान बचाउन सक्दछौं । त्यसका लागि प्राथमिक र द्वितीय स्तरका स्वास्थ्य केन्द्रहरुलाई पनि हामीले तयार गर्नु आवश्यक छ ।

कसरी नियन्त्रण हुन्छ ?

अहिले, संक्रमित अत्यधिक बढिरहेको ठाउँबाट बाहिर बाहिर मानिसको यात्रा हुँदा यसले संक्रमण फैल्याउने सम्भावना निकै बढ्छ । गाउँगाउँमा संक्रमण फैलिन सक्ने ठूलै सम्भावना छ । त्यही भएर अहिले संक्रमित क्षेत्रबाट संक्रमण धेरै नभएका क्षेत्रमा गएका व्यक्तिहरुले जानासाथ परिवार तथा छरछिमेकसँग हेलमेल गर्न हुँदैन । कमसेकम १० दिन क्वारेन्टिनमा बस्नु पर्दछ । यदि आफूमा कुनै लक्षण देखिएको भए जाँच गराएर मात्रै परिवार तथा छरछिमेकसँग हेलमेल गर्नु पर्दछ । अन्यथा केही ठाउँमा केन्द्रित रहेको संक्रमण गाउँगाउँमा पुग्ने सम्भावना रहन्छ ।

कहिले जाने अस्पताल ?

निकै गाह्रो भएपछि मात्र अस्पताल जानुपर्छ भन्ने गल्ती कसैले पनि गर्नु हुँदैछ । हो, धेरैजसो बिरामीलाई खासै केही समस्या हुँदैन । लगभग ८० प्रतिशत बिरामीलाई घरमै राम्रोसँग खाइपिई राम्रोसँग बस्दा राम्रो हुन्छ, तर २० प्रतिशत जति त अस्पताल जानु पर्दछ । कतिबेला अस्पताल जाने ? रोगले कति च्यापेको छ, बिरामीलाई कति कठिनाई भएको छ भन्ने कुराले निक्र्यौल गर्दछ । अलिकति गाह्रो हुनासाथ जानु पर्दछ । संक्रमितहरु सबैले आफ्नो घरमा एउटा पल्स अक्सिमिटर राख्नु पर्दछ किनभने कोभिडमा अक्सिजनको मात्रा घट्दै जाने हो । त्यो दिनहुँ हामीले हेर्नु पर्दछ । अक्सिजनको स्तर सामान्यतया ९२ पुग्न थालेपछि घरमा बसिरहनु हुँदैन । त्यसपछि अस्पतालमा गएर अक्सिजन लिएर केही साधारण औषधिहरु छन् ती चलाइसके पछि त्यो थप बिरामी हुनबाट जोगिन्छ । तर होइन, अझै गाह्रो भएपछि मात्र जान्छु भन्यो भने यो रोगले बढी च्याप्छ । यो रोगले १२–२४ घण्टामा नै फोक्सोलाई एकदमै खराब बनाइदिन्छ । ढिलो हुँदा संक्रमितलाई बचाउन एकदमै गाह्रो हुन्छ ।

आइसियु र भेन्टिलेटर तुरुन्तै चाहिन्छ ?

शुरुमा जाँदा आइसियु, भेन्टिलेटर केही चाहिन्न । कोभिड बिरामी अस्पताल भर्ना हुनु भनेको आइसियुमै, भेन्टिलेटरमै राख्ने भन्ने होइन । जनमानसमा देखिएको यो भ्रम हो । अधिकांश कोभिड बिरामी शुरुको अवस्थामा अस्पतालमा गएको खण्डमा अक्सिजन र साधारण औषधिबाट पनि धेरै राम्रोसँग उपचार गर्न सकिन्छ । तर निकै गाह्रो भएपछि मात्र अस्पताल जान्छु भन्ने गल्ती कसैले पनि गर्नु हुँदैन ।

पूर्वाधारको कमी हो ?

हो, हामीसँग स्वास्थ्यको पूर्वाधारको कमी पक्कै छ । तर हामीसँग उपलब्ध पूर्वाधारलाई हामीले पूरै उपयोग गरिसकेको जस्तो मलाई लाग्दैन । अहिले सबै अस्पतालहरुले अत्यावश्यक र कोभिड बिरामीको उपचारलाई पहिलो प्राथमिकता दिनु पर्दछ । कुन अस्पतालले कुन स्तरको कोभिडका बिरामी उपचार गर्नु पर्दछ भनेर योजना बनाउनु पर्दछ ।

धेरै मुलुकले अस्पतालहरुमा रातारात ठुल्ठूला आइसोलेसन सेन्टरहरु बनाएका उदाहरण छन् । हामीले पनि यहाँ अक्सिजन र बेड सहितको आइसोलेसन सेन्टर बनाउन सकिन्छ । स्थानीय निकाय र अन्य सरोकारवालाहरुले यसमा धेरै काम र साझेदारी गर्न सक्छन् । यो एक किसिमले लडाइँ जस्तै हो । हल, पार्टी प्यालेस, खाली भवनहरु, होटल इत्यादिलाई आइसोलेसन सेन्टरमा रुपान्तरण गर्न सकिन्छ । कोभिडको यस महामारीमा खटिने स्वास्थ्यकर्मी र समुदाय दुबैले मिलेर कार्य गर्नु पर्दछ ।

परीक्षण कति विश्वसनीय छ ?

कोभिड–१९ को भाइरसका बारेमा अझै पनि हामीलाई यथेष्ट जानकारी छैन । यो एकदमै नयाँ रोग पनि हो । नयाँ नयाँ भेरिएन्ट (समूह) आएका छन् तर कुन भेरिएन्ट हो, होइन भन्न निकै कठिन छ । हरेक दिन नयाँ सूचना आइरहेका छन् । त्यसैले, अहिलेकै संरचनाले नयाँ नयाँ भेरिएन्टलाई डिटेक्ट नगर्न पनि सक्छन् ।
अहिले नेपालमा देखिएको कोभिड युके भेरिएन्ट हो । यो रोगबाट पीडितहरु अस्पताल जानुपर्ने दर ६० प्रतिशतले बढी छ, र मृत्युको जोखिम पनि झण्डै ६० प्रतिशतले बढी छ । फैलिने दर पनि पहिलेभन्दा झण्डै दोब्बर छ, अर्थात् ७० देखि ९० प्रतिशत छ । त्यसर्थ यसबाट डराउनुचाहिँ पर्दछ । त्यसर्थ अत्यावश्यक बाहेक अरु मानिससँग सम्पर्क नै नगरौं, घरमै बसौं ।  

खुला हावा जरुरी

मास्क लगाएर अक्सिजन कमी हुँदैन । तर हामी राम्रो हावा आउजाउ गर्ने, भेन्टिलेसन भएका ठाउँमा बस्नु पर्छ । अझ संक्रमित व्यक्ति बसेको ठाउँमा परिवारका अरु सदस्यले सास फेर्नु हुँदैन । झ्यालढोका खुला राख्नु पर्दछ ।

लकडाउन कति उपयुक्त छ ?

समुदायले कोभिडको खतरा बुझेर घरमै बसिदिएको र स्वास्थ्य सचेतता अपनाएको भए यो संकट यति भयावह हुने थिएन । त्यसमा हामी सबै चुक्यौं । अब अहिलेचाहिँ, हाम्रो लक्ष भनेको यो लकडाउन धेरै समयसम्म नगर्ने । हाम्रो ध्येय त्यही हुनु पर्दछ । जतिसक्दो छोटो गर्नु पर्दछ । यस लकडाउनमा तीन कुरा गर्नु पर्दछ । एक, शंका लागेका सबैले परीक्षण गर्ने, दुई, स्वास्थ्य संरचना जतिसक्दो चाँडो बनाउने र तीन, स्थानीय तहमा अक्सिजन सहितका ठुल्ठूला आइसोलेसन सेन्टर बनाउने ।

अहिले युद्धबिराम हो

निषेधाज्ञा भएको अहिलेको समय युद्धबिराम जस्तो मात्र हो । युद्धको अन्त्य होइन । यो समयमा कोरोना संक्रमण त बढ्छ नै, यसलाई व्यवस्थापन गर्न स्वास्थ्य संस्थाहरु र साथसाथै स्थानीय निकायहरुले अक्सिजन सहितको आइसोलेसन सुविधा तयारी गर्नु पर्दछ ।