उसको शहर

  

साप्पोरो (उत्तर जापानको महानगर)का सडकमा यो वर्षको पहिलो हिमपात शुरु भएको छ। पानीका थोपाहरू हिउँमा परिणत हुन्छन्, हिउँका साना डल्लाहरू पानीमा। साप्पोरोको सडकमा हिउँ त्यस्तो रोमान्टिक लाग्दैन। भन्न पर्दा यहाँको हिमपात कुलको नाम बिगार्ने नातेदारजस्तै हो।

अक्टोबर २३ तारिख। शुक्रबार।

हिंड्दा टोकियोबाट एउटा टिसर्ट लगाएर हिंडेको थिएँ। हानेदा विमानस्थलबाट ७४७को बिमान चढेर वाकम्यानमा ९० मिनेटको टेप सकिंदा नसकिंदै म हिउँको बीचमा आइपुगें।

“यहाँ यस्तै हो,” मेरो साथीले भन्यो। “सधैं यही बेलातिर पहिलो हिउँपर्छ। र अब जाडो शुरु हुन्छ।”

“साह्रै जाडो!”

“अलि पछि त साह्रै, साह्रै, साह्रै जाडो हुन्छ।”

हामीहरू कोबे (पश्चिम जापानको शहर) नजिकैको सानो र शान्त शहरमा हुर्कियौं। हामीहरूको घर पचास मीटरको दुरीमा थियो र हाइस्कुलसम्म सँगै पढ्यौं पनि। सँगै यात्राहरू गर्यौं र सँगै डबल-डेट् पनि गर्यौं। दुवैजना रक्सीले टिल्ल भएर ट्याक्सीको ढोकाबाट खसेको अनुभव पनि छ।

हाइस्कुलपछि म टोकियोको विश्वविद्यालयमा लागें, र ऊ होक्काइदो (उत्तर जापानको टापु) को विश्वविद्यालयमा पढ्न थाल्यो। मैले टोकियोमै जन्मे-हुर्केकी सहपाठीसँग बिहे गरें भने उसले ओतारु शहर (होक्काइदोको एउटा शहर) मा जन्मेहुर्केकी सहपाठीसँग बिहे गर्यो। बिरुवाको बीउहरू हावाले उँडाएजस्तै हामीहरू यो विशाल धरतीमा बिरलिरह्यौं।

यदि ऊ टोकियोको विश्वविद्यालयमा लागेर म होक्काइदोको विश्वविद्यालयमा पढ्न थालेको भए, हामीहरूको जीवन पनि अवश्य फरक हुने थियो। अथवा म साप्पोरोको ट्राभल एजेन्सीमा काम गरेर संसारभरि पुग्थें र ऊ टोकियोमा लेखक बनेर बस्न पनि सक्थ्यो होला। यद्यपि दैवसंयोगले म उपन्यास लेख्छु भने ऊ ट्राभल एजेन्सीमा काम गर्छ। र आकाशमा ओरिअन तारामण्डल आज पनि चम्किरहेछ।

उसको छ वर्षको छोरो छ र रेलपास राख्ने थैलीमा सधैं तीनवटा फोटो राख्ने गर्छ। मारुयामा चिडियाखानामा भेडासँगै खेल्दै गरेको उसको छोरो होकुतो। सिचिगोसान् (जापानमा केटाहरू तीन र पाँच वर्ष, केटीहरू तीन र सात वर्ष पुग्दा बेलामा मनाइने पर्व)को कपडा लगाएको होकुतो। मेलाघरमा रकेट चढेको होकुतो। मैले ती तीन तस्वीरहरू तीन-तीनपटक हेरिसकेपछि उसलाई फिर्ता गरें। त्यसपछाडि हामीले हिउँजस्तै चिसो रुइबे (माछाको परिकार) सँगै बियर पियौं।

“साँच्ची, P अहिले के गर्दै होला?” उसले सोध्यो।

“राम्रै गरिराखेको छ,” मैले उत्तर दिएँ।

“केही समयअगाडि संयोगले बाटोमा भेटियो। श्रीमतीसँग पारपाचुके गरेछ र हाल भर्खरकी केटीसँग हिंड्छ रे।”

“Q को के छ हँ?”

“विज्ञापन बनाउने कम्पनीमा काम गर्छ, धेरै कपी लेखिराखेको छ त।”

“हो है!”

आदि इत्यादि।

रेस्टुरेन्टको बिल तिरेर हामी बाहिर निस्क्यौं। बाहिर अँझै हिउँ परिरहेको थियो।

“के छ, समय-समयमा कोबे फर्किंदै गरेको छौ?” मैले सोधें।

“अहँ,” उसके मु्न्टो फर्कायो। “टाढा छ। तिमी?”

“फर्केको छैन। फर्किन मन पनि लाग्दैन।”

“ए।”

“बजार निकै फेरियो होला है।”

“अँ।”

दश मिनेटजति साप्पोरोका सडकहरूमा टहलिंदै गर्दा गफको प्रसंग पनि सकियो। त्यसपछि म होटलमा फर्किएँ र ऊ आफ्नै अपार्टमेन्टमा फर्कियो।

“ल, राम्रोसँग बस है।”

“तिमी पनि।”

र हाम्रो भेटको प्रसंग पनि यत्तिकै सकियो। केही दिनपछि हामीहरू पुनः फरक बाटोमा हिंड्न थाल्नेछौं। भोलि हामीहरू पाँच शय किलोमिटर फरकका शहरहरूमा आ-आफ्नै पट्यारलाग्दा र लक्ष्यहिन संघर्षहरू जारी राख्नमा तल्लीन हुनेछौं।

होटलको टिभीमा स्थानीय स्टेसनको विज्ञापन बजिरहेको छ। म जुत्ता लगाएरै तन्नामाथि उत्तानो परी स्मोक-सामन्ड् स्यान्डविच् र चिसो बियर सँगै घाँटीबाट निल्दै टिभीमा आँखा लगाउँदैछु।

टिभीस्क्रिनको मध्येभागमा निलो रंगको वानपिस् लगाएकी एउटी युवती एक्लै उठिरहेकी थिई। अचल टिभी क्यामेराले उसको कम्मरबाट माथिको भाग धैर्यपूर्वक बसिरहेको मांसाहारी पशुलको जस्तो हेराइलाई प्रशारण गरिरहेको थियो। क्यामारा अन्य कोणमा फेरिएन र अगाडि-पछाडि पनि गरेन। त्यो ठ्याक्कै अलि पहिलेको नुबेल-बाग फिल्मजस्तो थियो।

“म R शहरको प्रशासन कार्यालयको प्रचारविभागमा काम गर्छु,” उसले भनी। उसको भाषामा हलुका स्थानीय लवज झल्किन्थ्यो र बोली भने आत्तिएकोले होला केही हडबडिएको थियो।

“R शहर जनसंख्या सातहजार पाँच शय भएको सानो शहर हो। त्यस्तो प्रसिद्ध पनि छैन, त्यसैले तपाईंहरूलाई यसको बारेमा थाहा नहुन सक्छ।”

अफसोस् थाहा छैन, मैले भनें।

“यहाँका बासिन्दाको मुख्य पेशा भनेको कृषि र डेरीउत्पादन हो। त्यसमा मूख्यत अवश्य पनि धानखेती नै हो, र हिजोआजको धानखेती घटाउने नीतिको कारणले गर्दा फटाफट गहुँ र तरकारीखेतीमा परिवर्तन हुँदैछ। र बस्तीको छेउभागमा शहरले सञ्चालन गरेको गौचरन छ, जहाँ करीब दुई शय वटा गाई, शय वटा घोडा र शय वटा भेडा पालिएको छ। यहाँमा अहिले पशुपालनको बिस्तार हुँदैछ र अबको तीन वर्षभित्रमा यो संख्या निकै नै बढ्नेछ।”

ऊ त्यस्तो राम्री थिइन। उमेर त्यस्तै वीस वर्ष वरपरकी त्यस युवती, पावर धेरै भएको मेटल-फ्रेमवाला चस्मामा, ओठमा बिग्रिएको फ्रिजजस्तै कडा मुस्कान निकाल्दै थिई। तर त्यसको बाबजुद ऊ सुन्दर देखिन्थी। नुबेल-बागजस्तो टिभीक्यामेराले उसको सबभन्दा सुन्दर पक्षलाई सबभन्दा सुन्दर किसिमले प्रस्तुत गरिरहेको थियो। मलाई लाग्यो, हामीहरू सबैजना टिभीक्यामेराको अगाडि दश-दश मिनेट बोल्यौं भने संसार साह्रै सुन्दर बन्नसक्छ।

“मेइजी युग (सन् १८६८-१९१२)मा यो R शहरको नजिकै बग्ने R नदीको बालुवामा सुन भेटिएकोले निकै ठुलो चहलपहल भयो। तर बालुवाको सुन सकिएपछि त्यो चहलपहल पनि हराई केही साना घरहरूको अवशेष र पहाडतिर जाने गोरेटो मात्रै त्यसबेलाको सम्झनलायक दृष्य रहे।

मैले स्मोक्-सामोन्ड् स्यान्ड्विचको अन्तिम टुक्रा टोकेँ र बियरलाई एकैपटकमा पिइभ्याएँ।

“बस्तीमा… अहम्… शहरको जनसंख्या केहीवर्षअगाडिसम्म दशहजार नाघेको थियो, हिजोआज कृषि पेशाबाट अलग्गिनेहरू बढ्दै गएपछि जनसंख्या ह्वात्तै घटेको छ। युवाहरू ठुला शहर पसेर उतै हराउने कुरा चाहिं समस्या बनेको छ। मेरा सहपाठीहरू पनि आधाभन्दा बढी अन्तै सरिसके। तर यहीं बसेर संघर्ष गर्नेहरू पनि अवश्य छन्।”

ऊ भविष्य देखाउने ऐना हेर्न लागेजस्तो गरेर क्यामेराको लेन्सको बीच भागलाई एकनाशले हेर्दै बोलिरही। उसका आँखाले टिभीको ट्युब हुँदै मेरो मलाई ट्वाल्ल हेरिरहेका थिए। मैले फ्रिजबाट बियरको दोश्रो क्यान् निकालेर खोलें र एक घुट्को पिएँ।

उसको शहर।

मैले उसको शहरको अवस्थाको बारेमा कल्पना गरें। दिनमा आठ पटकभन्दा रेल नरोकिने स्टेसन्, स्टोभ राखिएको प्रतिक्षाकक्ष, कठ्याङ्ग्रिदो सानो रोटरी, अक्षर मेटिएर आधा पनि पढ्न नमिल्ने अवस्थामा पुगेको शहरको गाइड नक्शा, सयपत्रीको उद्यान र नानाकामादो (एकप्रकारको वृक्ष) का लहरहरू, जीवनदेखि थकित र फोहोरलिप्त सेतो कुकुर, उजाड तर फराकिला सडक, सैनिक-भर्नासम्बन्धी पोस्टरहरू, तीन तले डिपार्टमेन्ट स्टोर, विद्यार्थीको ड्रेस र टाउको दुखेको औषधीको साइनबोर्ड, एउटा सानो लज, कृषि सहकारी र वनस्पति केन्द्र अनि सामुहिक उत्पादन प्रवर्धन समितिका भवनहरू, खैरो आकाशतिर ठिंग ठडिएको तातोपानी स्नान पसलको एउटा चिम्नी। शहरको मध्येसडकबाट देब्रेतिर मोडिएर दुई लाइन अगाडि पुगेपछि शहर प्रशासन भवन, र त्यसको प्रचारविभागमा ऊ बसेकी छ। सानो पट्यारलाग्दो शहर। वर्षको आधाभन्दा बढी समय हिउँमा पुरिन्छ। “आगामी फलानो महिनाको फलानो दिन भेडाहरूको संक्रमण रोक्ने औषधी बाँडिंदैछ। इच्छुक महानुभावहरूले फलानो महिनाको फलानो गतेभित्र निर्धारित फारम भरेर…”

साप्पोरोको होटलको सानो कोठामा मेरो र उसको जीवन एकअर्कालाई स्पर्ष गर्दैछन्। तर त्यहाँ एउटा चीज अपुग भइरहेको छ। होटलको ओच्छ्यानमाथिको समय शरीरसँग मिल्न मान्दैन, मागेको सुट्जस्तै। धार भुत्तिएको तलवारले मेरो पैतालामुनिको डोरीलाई रेटिरहेछ। यदि डोरी चुँडिएमा म कतै पनि फर्कन सक्तिन। यसले मलाई अधिक तनाब दिइरहेछ।

अहँ, डोरी अवश्य चुँड्दैन। अलि बेशी नै बियर लिएको हुनाले त्यस्तो लागेको मात्र हो। त्यसमाथि, सायद झ्यालबाहिर वर्षिरहेको हिउँको कारणले पनि त्यस्तो लागेको हुन सक्छ। म पैतालाको डोरीलाई पहिल्याउँदै वास्तविकताभित्रको अँध्यारोमा फर्किन्छु। मेरो बजार र उसका भेडाहरू।

उसका भेडाहरूले संक्रमण रोक्ने औषधी पाउने बेलासम्ममा म सायद आफ्नो बजारमा आफ्नै भेडाहरूको लागि जाडोयामको तयारी गर्दै हुनेछु। घाँसपात बटुली, ट्यांकमा मटितेल भरेर हिमपातबाट जोगिन झ्यालको मर्मत गर्दै हुनेछु। जाडो त्यतिसम्म नजिकिइसकेको छ।

“यो मेरो शहर हो,” ऊ भन्दै थिई। “यही हो भनेर सुनाउन लायकको विशेष केही छैन, तर जे भए नि मेरै शहर हो। यदि मौका मिलेमा शहरमा आइहेर्नुहोला। हामीले सेवा गर्न सक्ने केही हुन पनि सक्छ।”

त्यसपछाडि ऊ स्क्रिनबाट हराई।

म सिरानीमुनिको स्वीच दबाएर टिभी बन्द गर्छु र बाँकी रहेको बियरको घुट्को लगाउँछु। र उसको शहर भ्रमण गर्ने बारे सोच्न थाल्छु। उसले मेरो लागि केही सहयोग गर्न पनि सक्छे! यद्यपि अन्ततः म उसको शहरमा सायद जाँदिन होला। मैले पहिल्यै नै धेरै नै कुराहरू फालिसकेको छु।

बाहिर हिउँ परिरहेछ। र शय वटा भेडाहरू अन्धकारभित्र चुपचाप आँखा चिम्म गरी बन्द गरिरहेका छन्।

अनुवादः कुमार सिंखडा

हारुकी मुराकामी 

सन् १९४९ जनवरी १२ मा जन्मिएका उनी जापानी लेखक हुन् । उनका पुस्तक जापान र विश्वमा समेत बढी बिक्री भएका छन् भने ५० भन्दा बढी भाषामा अनुवादीत छन् । उनका वस्तुगत र काल्पनिक विषयका लेखले उनलाई वर्ल्ड फ्यान्ट्यासी अवार्ड (२००६), फ्रेक ओकनर इन्टरनेसनल सर्ट स्टोरी अवार्ड (२००६) र अन्य पुरस्कार द फ्रेनक काफ्का प्राइज (२००६) र जेरुसेलम प्राइज (२००९) जिताएका छन् ।