"बाह्र बजेर पैँतीस मिनेट जाँदा"

  

निद्रामै उसले अनुभव ग¥यो– उसको पैतालामा कुनै चिसो स्पर्श भएको छ । ऊ झसङ्ग भयो । आँखा खुल्यो उसको । 

कोठाले अन्धकारको कालो गलबन्दी बेरेको थियो र कोठामा लास गन्हाएजत्तिकै कुनै दुर्गन्ध फैलिरहेको थियो। एकछिनपछि उसले आफ्नो त्यो कोठामा अर्कै कोही भएको महसुस पनि ग¥यो। खत्राकखुत्रुक... केही 

आवाज आयो । चोर हो कि ? उसले सक्दो स्तरको अनुमान ग¥यो ।

एकछिनमै कोठाबाट लासको गन्ध स्वतः हरायो। अनि उसले कोठाको बत्ती बाल्यो। तर कोठामा कोही थिएन । चोर आएको कुनै आभास पनि थिएन । यसो चारैतिर हे¥यो । भित्तामा उसका मृत पिताज्यूको फोटो देख्यो, जुन फोटोमा हिजोसम्म मुसुमुसु हाँसिरहेका उसका पिताज्यू अहिले गम्भीर मुद्रामा थिए । ऊ नजानिँदो आश्चर्यले जुरुक्क उठ्यो 

र फोटोनजिकै गयो। फोटोमा उसका पिताज्यू साँच्चीकै गम्भीर मुद्रामा थिए । उसले वर्षौदेखि देख्दै आएको त्यो फोटोमा उसका पिताज्यू हाँसिरहेको मुद्रामा हुनुपर्ने हो। यो के भएको ? ... ऊ अलमलमा प¥यो। ... सपना हो कि बिपना छुट्टयाउन सकेन । यसो ओछ्यानतिर हे¥यो– ऊ त्यहाँ सुतिरहेको थिएन । मतलब, त्यो बिपनै थियो सपना थिएन । 

ऊ यस्तै अचम्मित भइरहेकै अवस्थामा एउटा गहुङ्गो स्वर कोठामा गुन्ज्यो, “बाबु !” 

त्यो उसका पिताज्यूको स्वर थियो। उसले राम्ररी चिन्यो त्यो स्वर । तर उसका पिताज्यू स्वर्गे भएको सात वर्ष भइसकेको थियो र अहिले रातको ठीक बाह्र पैँतीस बजेको थियो। फोटोमा भएको भावपरिवर्तन र यो मृत व्यक्तिको स्वर । ... के भएको ? उसले बुझ्न सकेन । अनायासै उसको मुखबाट निक्लिहालेछ, “बुबा !” 

“विपिन ! तैँले मोटरसाइकल किनिस् रे, हो ?” यतिखेर उसले देख्यो– आवाज पिताज्यूको फोटोबाट आइरहेथ्यो ! पिताज्यू फोटोबाट बोल्दैथे । उसले यो क्षण कठिन अनुभव गरिरहेथ्यो । ऊ केही नबोलेर फोटोलाई हेरिरहेथ्यो । 

“मलाई छिटै जवाफ दे, विपिन ! समय अँठ्याइराख्न गाह्रो परिरहेछ मलाई ।” फोटोबाट आवाज आयो । 

“केको जवाफ ? यस्तो अद्भूतको कुरा के भएको यो ? तपाईं कहाँबाट बोलिरहनुभएको ?” ऊ भित्रैदेखि अव्यवस्थित भएर चिच्यायो ।

“पहिलो मेरो प्रश्नको जवाफ दे, तैँले मोटरसाइकल किनिस् रे, हो ?” 

“हो ।” 

“तैले ठीक काम गरिनस्, विपिन । मलाई थाहा छ ... म मरेपछि मेरो अफिसबाट आएको पैसाले तैँले मोटरसाइकल किनिस् । यो राम्रो काम होइन । मलाई थाहा छ ... तैले मेरो पैसाबाट एक पैसा पनि आमालाई दिइनस् । मलाई सब थाहा छ, विपिन ! मलाई सब थाहा छ ।” 

ऊ ट्वाल्लट्वाल्ती हेरेको हे¥यै भइरह्यो । 

“यी सब मैले गरेका कुराहरू तँलाई मन पर्दैन होला सायद । तर तैँले जे काम गरिस्, त्यो पनि त मलाई मन परिरहेको छैन । ... मेरो सञ्चयकोषबाट आएको पैसा, मेरो सञ्चित विदाबाट आएको पैसा, मेरो परिश्रमको पैसालाई तैँले आफ्नो सुविधाको निम्ति किन खर्च गरिस् ? 

तैँले आफ्नी स्वास्नी र छोरालाई त्यही पैसाको बहुमूल्य लुगाहरू किनिदिइस् । तर आमालाई वास्तै गरिनस् । अहिले पनि सुन् त ... उता कोठामा शोभा खोक्दैछे । रोगी आमालाई औषधी ल्याउनु पर्दैन ? डाक्टर जँचाउनु पर्दैन ?” 

उसको ध्यान पल्लो कोठामा पुग्यो। नभन्दै, आमा अति तीव्र रुपले खोक्दै गरेको आवाज राम्ररी सुनिँदै थियो । 

“शोभाले यसरी खोक्दा तेरो मुटु दुख्दैन बाबू ?” 

ऊ एकदम अलमलमा प-यो । 

“भैहाल्यो छोड् यी कुरा । बुहारी खोइ नि ?” 

“माइत गएकी छे ।” 

“बिहे गरेपछि तेरो लागि सबभन्दा प्रिय आफ्नी स्वास्नी भएको हो ? हो भने यो पनि राम्रो भएन ।” 

ऊ फेरि अलमलमा प¥यो ।

“भैहाल्यो छोड् यी कुरालाई पनि । तैँले कहाँ जागिर खाइस् ?” 

“स्वास्थ्य सेवा विभागमा ।” 

“ठीक गरिस् । स्वास्थ्य सेवा विभागमा रिजालजीलाई सन्चै छ ?” 

“उहाँले जागिर छोडिसक्नुभयो, बुबा !” 

“मल्लजी कहाँ छ नि अचेल ?” 

“सरुवा भएर पोखरा जानुभएको छ, बुबा !” 

“तँ पनि यसो एक–दुई वर्ष राजधानीबाहिर बसेर काम गर्नू । प्रमोसन हुने बेलामा नम्बर बढ्ता आउँछ । बुझिस् ? सक्छस् भने् अझ सुदूर पश्चिमाञ्चल गएर काम गर् । अँ, मल्लजीसँग दुईसय पचास रुपैयाँ लिनु छ । दियो कि दिएको छैन ?” 

उसले घडी हे¥यो– बाह्रबजेर पैँतीस मिनट गएको थियो ।

“कृष्णेसँग पनि एकसय उन्नाइस रुपैयाँ लिन बाँकी छ । लिइस् ?  हरिमानदाइ छन् नि ... पच्चीस सय रुपैयाँ मैले उनीसँग घर बनाउन सापट लिएको थिएँ, तिरिदे ।” 

यो सात वर्षअघिको हरहिसाबले अहिले उसको मस्तिष्कभरि उथलपुथल पारिदियो ।

“बुबा ! हरिमानदाइ त बितिसक्नुभयो ।” 

एकछिन् उसका पिताज्यू चुप लागे । 

“पछाडिको बारी किन बाँझो राखेको नि ? मैले रोपेको हलुवाबेदको बोट पनि काटिछस् । घर छेकियो भनेर हो ? ... त्यो बारी बाँझो नराख्, विपिन । त्यहाँ आलु र मकै रोप् । आलु एकदम सप्रन्छ त्यहाँ । ... अगाडिको फूलबारीका फूलहरू पनि सुकेका मात्र छन् । बेलाबेलामा पानी हाल्दै गर्नुपर्छ । किन विपिन ? के तँलाई वसन्त आएको मन पर्दैन ?” 

यतिखेरसम्ममा ऊ संयमित भइसकेथ्यो। सोध्यो, “बुबा ! आज कसरी यहाँ आउनुभएको ?” 

“घुम्दै आएको नि ।” 

“अनि के बुबालाई त्यहाँ आरामै छ ?” 

छोराको यस्तो स्नेहसिक्त प्रश्नले गर्दा बूढा मृत पिताज्यूलाई रुनुपर्ने बनाइदियो। रुन्चे स्वर लिएर उनले भने, “आरामै छ, बाबु ! तर मलाई थाहा छ– तिमीहरूलाई त्यहाँ शान्ति छैन । यतातिर तेरो देशको बारेमा धेरे नै कुरा भइरहन्छ । अब कुनै महान् व्यक्ति नपठाउने रे त्यहाँ । निकृष्ट व्यक्ति मात्र पठाएर देशलाई निकम्मा गरिदिने रे ।” 

ऊ त्रासले थररर्र ... काँप्यो । 

“एउटा कुरा थाहा छ, विपिन ? मैले यहाँ पनि एउटा हलुवाबेदको विरुवा लगाएको छु।” उसका पिताज्यूले एकदम उत्साहित भएर भने। 

उसले चाहिँ केही भनेन । निराशा र त्रासमिश्रित अनुहार लिएर हेरिरह्यो मात्र ।  

“अँ, तैँले रक्सी पनि खान थालिस् रे ?” 

“हो बुबा !” 

“वाह ! तेरो साहस !” व्यङ्गय प्रहार गरे उसका पिताज्युले, “ज्यूँदै छँदा जो बाबुसँग आँखा उठाएर कुरासम्म गर्दैन थिइस् । मरेपछि चाहिँ धक फुकाएर ‘रक्सी खान्छु’ पनि भन्न थालिस् ?” 

चुपचाप चुपचाप समय बित्यो । तर हैन, समय बितेन । यतिखेर पनि घडीमा बाह्र पैँतीस नै बजेको थियो । 

“भैगो। जाँडरक्सी खा । चरेस र म्यान्डेक्स पनि खा । आमालाई कुनै औषधी नख्वा । तँ आफू मात्रै धेरै ठूलो मान्छे बन् । आफ्नी स्वास्नीको मात्र राम्रो हेरचाह गर् । बूढी आमा... मार् तेरी बूढी आमालाई । तँ धेरै ठूलो मान्छे बन् विपिन ! धेरै ठूलो मान्छे ।” 

र, फोटो आफै हल्लियो ।

फोटो हल्लिनुसँगै उसको जीउमा सुनैसुनको पहिरन भएको र उसको शिरमा हीराको मुकुट आएको जस्तो लाग्यो उसलाई । सम्राट भएको महसुस ग¥यो उसले । यसको साथसाथै उसका पिताज्यूको त्यो फोटो कीलाबाट आफै नै फुस्क्यो र भुइँमा बजारियो । सम्राटको पोसाक र मुकुट लगाएरै ऊ पनि भुइँमा निद्राले बेहोस भयो । 

भोलिपल्ट बिहान सवा नौ बजे बिपिन कीलाबाट खसेर फुटेको ऐना र फोटो बढारेर फ्याँक्दै थियो । पल्लो कोठामा आमा खोक्दै थिइन् ।