ज्वाला संग्रौलालाई तीन दिन थुनामै राख्न प्रशासनले दियो अनुमति

  

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी ज्वाला  संग्रौलासहित तीन जनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो । उनीहरु आइतबार पक्राउ परेका थिए । 

आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहमाथि अराजक गतिविधि गरेको आरोप लागेको छ।

केही दिन पहिले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध जातीय विभेदयुक्त अभिव्यक्ति दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले राजनीतिक कार्यकर्ता खुश्वु घिमिरेमाथि प्रहरी कार्यालयमै कुटपिट गरेका थिए। घिमिरेले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन्।

यी दुवै मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु अहिले काठमाडौं परिसरको हिरासतमा रहेका छन् ।