गरे के हुँदैन ?  फोहोर थुपारेर पर्यटकीय पहाड

  

( तस्बिर: चेतनाथ आचार्य )

चेतनाथ आचार्य

चीन । कुनै पनि ठाउँ पर्यटकीय गन्तव्यमा पर्नका लागि केके मापदण्ड हुनुपर्छ? आकर्षक भौगोलिक संरचना, ऐतिहासिक अथवा सांस्कृतिक महत्वको स्थल अथवा महत्वपूर्ण घटना भएको ठाउँ। तर, उल्लिखित कुनै मापदण्डमा नपरेको ठाउँलाई पर्यटकीय गन्तव्यको सूचिमा राख्न सकिएला ? चीनमा जतिपनि पर्यटकीय गन्तव्यका स्थलहरु छन् ती सबैमा ऐतिहासिक तथा सांस्कृतिक कथा जोडिएको हुन्छ। प्राकृतिक रुपमा त त्यस्ता ठाउँहरु बेजोड नमूना नै हुने गर्छन्। तर कुनै कुनै ठाउँहरु यस्ता पनि छन् जहाँ तिरस्कृत स्थललाई केही वर्षको मिहिनेतबाट उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।

ती ठाउँहरुमध्ये चीनको उत्तर पश्चिममा पर्ने सिन्च्याङ स्वायत्त प्रदेशको पोर्ताला मंगोल स्वायत्त प्रिफेक्चरको पोलस्थित ुवान मु हाइथाङ युआनुलाई बेजोडको नमूना मान्न सकिन्छ। यो ठाउँको भौगोलिक तथा प्राकृतिक अवस्थासँगै भएको निर्माणको जानकारी जानकारी पाएपछि सबैले जिब्रो टोक्ने गर्छन् अथवा आश्चर्यभाव व्यक्त गर्छन्। अझ कतिपय व्यक्तिले त यो पार्क बनेको कुराप्रति हत्तपत्त विश्वास पनि गर्दैनन्।

चिनियाँ भाषामा ुवान मु हाइथाङ युआनुको अर्थ दस हजार मु (मु भनेको चिनियाँ भाषामा जग्गाको क्षेत्रफल जनाउने इकाइ) बेगोनिया पार्क हो। वरिपरी फाँटिलो जमिन बीचमा अग्लो थुम्को। थुम्को चढ्नका लागि बनाइएको आकर्षक सिँडी। थुम्काको चुचुरोमा गजब्बको छानो सहितको विस्राम कक्ष जहाँबाट वरिपरीको दृश्वावलोकन गर्दा प्राप्त हुने रोमाञ्चक अनुभूति। पश्चिमतिर कजाकिस्तानको पहाडबाट डुब्दै गरेको सूर्य हेर्दा दिनभरको थकान बिर्सिन्छन् पर्यटकले।

क्षितिजको लालिमाले गोधुली साँझको झल्को दिन्छ। यस्तो दृश्य आँखाले हेर्दै क्यामरा तेर्स्याउनेसँगै दुरबिनबाट हेर्नेहरुको घुइँचो उस्तै। त्यहाँ जडान गरिएका तीनवटा विशाल क्षमताका दुरबिनले अस्ताउँदो सूर्यलाई  आँखैमा ल्याएर टाँसेजस्तो अनुभव दिन्छन्। वरिपरी फाँटैफाँटै भएको क्षेत्रमा कसरी थुम्को सिर्जना भयो भनेर जिज्ञासा उठ्नु स्वाभाविक हो। जब स्थानीय अधिकारीहरुले प्रश्नको उत्तर दिए तब न यो लेख सिर्जना गर्ने मुड चल्यो। पार्क बनेको थुम्को नितान्त कृतिम रहेछ। यो थुम्को त पाँच वर्ष पहिले मात्र बनाइएको रहेछ त्यो पनि काम नलाग्ने बस्तुहरुबाट। थुम्को पोल बजारबाट नजिकै छ।

पोल बजारको विस्तार गरेर नयाँ संरचनाहरु बनाउने क्रममा जमिन खन्दा निस्किएको माटो र काम नलाग्ने सामान तथा फाल्नुपर्ने फोहोरहरु भेला गएर त्यस ठाउँमा थुपारेर कृतिम पहाड बनाइएको रहेछ। पहाडको फेदीबाट चुचुरोमा पुग्नका लागि १५ मिनेटभन्दा बढी लाग्छ। तुलना गर्ने हो भने स्वयम्भूको डाँडो जतिक्कै हो। पहिले निस्कासित पदार्थलाई मरुभूमिमा लगेर राखियो। सामान थुपार्दै जाँदा पहाड बन्यो। त्यसपछि पहाडलाई पर्यटकीय गन्तव्य बनाइयो जहाँबाट वरिपरीको दृश्यसँगै सूर्योदय र सूर्यास्त हेर्ने गज्जबको ठाउँ बन्यो। मरुभूमिका बीचमा कृतिम पहाड बनाएसँगै वरिपरी वृक्षारोपण गर्न थालियो। जसका लागि निकै टाढाबाट बग्ने हिमनदीलाई घुमाउँदै ल्याएर पानीको आपूर्ति पनि गरिएको छ। पाँच वर्ष अगाडि रोपिएका वनस्पतिले हराभरा भइसकेको छ। अहिले पनि नयाँ क्षेत्रमा यसरी नै रुख विरुवा रोप्ने र हरियालीको विकास गर्ने क्रम जारी छ।

ओहो एक दसक अगाडिको तिरस्कृत मरुभूमि अहिले हरियाली आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। सरकारको इच्छाशक्ति भएमा विकासको फड्को मार्न लामो समय नचाहिने रहेछ भन्ने कुराको गज्जबको उदाहरण होइन र यो ? 'वान मु हाइथाङ युआनु मा टहलिँदै गर्दा मैले आफ्नै मातृभूमि नेपाललाई सम्झिएँ। प्रकृतिले अनुपम सिर्जना गरेर दिएको भूमिलाई हामीले कहिल्यै प्रयोग गर्न जानेनौँ अथवा सकेनौँ। नगरकोटबाट देखिने हाँसिरहेका हिमालहरुको दृश्य होस् अथवा पाल्पाको श्रीनगर डाँडाबाट देखिने हिमशृङ्खला, कुनै पनि मुलुकले न बनाउन सक्छ न त नक्कल नै गर्न सक्छ। मान्छेले ह्वाइट हाउस बनाउन सक्ला, ग्रेटवाल बनाउला, इफिल टावर सिर्जना गर्ला तर फेवातालमा नुहाइरहेको पाछापुच्छ्रे बनाउन कदापि सक्दैन। मान्छेले न फेरि बुद्ध जन्माउन सक्छ न पाताले छाँगो खोप्न सक्छ। तै पनि हामी पर्यटन विकासमा किन पछि परेका छौँ ?

यस सन्दर्भमा चिनियाँ प्रोफेसर हुसिसेङको भनाइ नेपाली सञ्चार माध्यममा पढेको थिएँ। उनले भनेका रहेछन् ुनेपाल सुनको कुचौरामा मागिरहेको छ।ु आहा कस्तो मार्मिक भनाइ। एकै वाक्यले गहन अर्थ बोकेको अथवा भनौँ एउटै गोलीबाट ठहरै। साँच्चै हाम्रो हातमा सुनको कचौरा छ तर हाम्रो हातमा के छ भन्ने कुरा हामीलाई थाहै छैन। हैन हाम्रा नेता, शासक, नीति निर्माता, अगुवा र अभियन्ताको चेत कहिले खुल्छ होला ? अनि गाउँ गाउँमा ुवान मु हाइथाङ युआनु जस्ता पर्यटकीय स्थलले जन्म लिन पाउँछन्।

हामीलाई त प्रकृतिले नै बनाएर दिएको छ। केही बनाउनै पर्दैन। मात्र त्यसको व्यवस्थापन, त्यहाँ पुग्ने पहुँच स्थापना, पर्यटकका लागि चाहिँ सूचनासँगै पूर्वाधार निर्माण, प्रवर्द्धन अनि वातावरणीय संरक्षण। त्यति गरेमा नेपाली नवजवानहरु अरबका मरुभूमिमा खुन र पसिना बगाउन जानै पर्दैन। 'अन्तमा फेरि यही ठाउँको अर्को प्रसङ्ग राख्दै बिदा हुन्छु। पोर्ताला मंगोल स्वायत्त प्रिफेक्चर सिन्च्याङको उत्तर पश्चिममा पर्छ। यसको पश्चिमी सीमा कजाकिस्तानसँग जोडिन्छ। यो ठाउँ बेइजिङदेखि निकै टाढा पर्छ। किनभने बेइजिङमा घाम अस्ताएको तीन घण्टापछि मात्र यहाँ घाम अस्ताउँछ। चाइना मिडिया ग्रुपका विदेशी र चिनियाँ पत्रकारहरु सोमबार साँझ यस पार्कमा पुग्दा सूर्यास्त हुँदै थियो।

रातको सवा साढे दसमा पूर्वबाट चन्द्रमा मध्य आकाशमा आइसकेको थियो भने पश्चिमतिर सूर्य डुब्ने तरखर गर्दै थियो। विशाल मुलुक भएर पनि चीनमा एउटै समय प्रचलनमा छ। हामी बेइजिङमा बस्नेहरुका लागि तीन घण्टाको फरक अनौठो रहेछ। चीनको समय नेपालको भन्दा २ घण्टा १५ मिनेट चाँडो छ। काठमाडौँमा घाम अस्ताउँदा बेइजिङले अँध्याराको पछ्योरी ओडेर गुमान भइसक्छ तर यो ठाउँमा घाम नअस्ताउँदै काठमाडौँ सुतिसकेको हुने रहेछ।