मेलम्चीमा राहतको नाममा यस्तो रमिता !

  

रातमा बाढी र दिनमा हेलिकोप्टरको त्रासमा छन् मेलम्चीबासी


फोटो –प्रदीपराज वन्त

"एकलट राहत दिइसकेपछि पीडा भरिएका ती मुहारतिर क्यामेरा नतेर्साइदिए हुन्न ? "

मेलम्चीमा राहातका नाममा रमिता छ अहिले । एकथरि मानिसहरु राहात बाँड्ने नाउँमा हेलिकोप्टर चढेर त्यहाँ पुगेका छन् र रमिता देखाइरहेका छन् । यसो हेर्दा लाग्छ त्यहाँ बाढी पर्यटन मेला लाग्दैछ । 

यसो भन्दा यी अक्षरहरु पनि संवेदनाहिन हुन सक्लान, तर तीतो यथार्थ यही छ यहाँ । बाढीले बजार बगाएपछि नथामिएको आँशु केही थान मास्क र चाउचाउले रोक्न सकेको छैन, तर हेलिकोप्टरहरु उडिरहेकै छन् । त्यसैमा चंगा भएका छन् पीडितका मनहरु पनि । र लाग्छ, रातमा बाढी र दिनमा हेलिकोप्टरको त्रासमा छन् मेलम्चीबासी ।

“हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको ? १० थान पी फोम, १९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति होला ?”यस्तै यस्तै गुनासा छन् यहाँका स्थानीयका । 

असार १ गते सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले क्षति पुगेको स्थानमा बिपत पर्यटनहरु बढ्न थालेको छन् । प्रकृतिले दिएको पीड भुल्न खोज्दा खोज्दै राहतका नाममा पुग्ने बिभिन्न ब्यक्ति तथा समूहले दिएको दिक्दारी कति सहनु ? 

लाग्छ कतिपय सहयोगको नाममा हाम्रो आलो घाउमा नुन चुक छर्किने काम भएको छ । बरु यस्तो सहयोग रोकिदिए हुन्थ्यो, हामीसँग तस्बिर नखिचिदिए हुन्थ्यो, हामीलाई एकान्त नै ठिक थियो भन्छन् स्थानीय । 

बाढीपहिरोले तटीय क्षेत्रका बजार, बस्ती खेतका फाँट र थुप्रै व्यवसायी फर्म छिनभरमै खण्डहर मात्रै बनाएन मेलम्ची वजार छिन भरमै बगरमा परिणत भयो । स्थानियको खुसी छिनभरमा खोसियो । ठूलो बर्षात् विना नै आएको बाढी पहिरोले सुन्दर नगरी मेलम्ची र हेलम्बु क्षणभरमै खण्डहर बनाइदिएको हप्ता दिन पुग्न लागिसक्यो । 

मेलम्ची हेलम्बु र पाँचपोखरीमा जुन किसिमको विनास भयो आजसम्म यो सामाजिक सञ्जालमा एक शब्द राख्ने हिम्मत गर्न सकेको छैन । एउटा भनाइ छ नि– पीडा धेरै भयो भने आँशु पनि झर्दैन , त्यस्तै भएको छ ।  

 लगभग पीडा सबैको एउटै हो । नापिनसक्नुका छन् सबैका पीडाहरु । र भन्छन्– दुःखमा अरु कोही नभए नि भगवान हुन्छन् भन्थे तर होइन रछ ।  

असार १ गते जसरी बाढीपहिरोले मेलम्चीबासीलाई आक्रमण गर्यो त्यसपछि देश तथा विदेशमा रहेकाहरुले राहत लैजाने कार्य सुरु भयो । मानिसहरुले राहात सामाग्रीलाई राजनीतिक एजेन्डा नै बनाए । केही दिन अगाडी एमाले निकट अनेरास्ववियुको टोलीले आफनो पार्टीको ब्यानर राखेर राहत वितरण गरेको भन्दै केही तनाबको अबस्था समेत सृजना भयो ।

काठमाडौं लगायत मुलुकका विभिन्न स्थानबाट आजसम्म पनि राहत लैजाने क्रम जारी नै छ । राहत लैजाने बहानमा मेलम्चीमा यस्ता दृश्य पनि देखिन्थे कि मानवीय संकटमा कति धेरै मजाक भै रहेको छ ।

एक गाडी सामान लाने क्रममा ५ देखि ७ वटा भन्दा बढी नीजि सवारी साधन प्रयोग गरेर पीडितको पीडा भन्दा पनि उजाड मेलम्चीमा रमाउन र मोबाइलमा सेल्फि खिच्न ब्यस्त देखिन्थे । तर पीडितहरु भने आफनो करोडौंको बासस्थान आँखै अगाडी बाढीले लैजादै गरेको हेर्नु शिवाय अन्य उपाय केही थिएन ।

बाढी पीडितहरुका लागि सहयोग गर्ने नाममा केही राजनीतिक दल के संघसंस्था प्राय अधिकांसलाई सामाजिक सञ्जालमा आफनो प्रचारप्रसारमा नै बढी केन्द्रीत भएको देखिन्थे । 


काठमाडौंदेखि सुरु भएको उनिहरुको सेल्फी यात्रा पुनः काठमाडौं नआउन्जेल त्यो क्रम रोकिएको देखिएन । राहात लिएर जाने क्रममा १ गाडीमा खाद्यन्न सामाग्री देखिन्थ्यो भने ५ देखि ७ वटासम्म नीजि सवारी साधनको लस्कर देखिन्थो । 

यो हेर्दा लाग्थ्यो कि उनीहरु कुनै जात्रा वा मेला पर्व हेर्न आएका छन् । उनीहरु त्यहाँ पुगेपछि पीडाको पालमा बास बसेका केटाकेटी यसरी झुम्मिन्थे कि त्यहाँ कुनै फिल्म सुटिङ हुँदै थियो । अनि हातमा एक दुई प्याकेट चाउ चाउ र विस्कुट लिएर फर्किन्थे । 

म मेलम्चीकै स्थानीबासी भएका कारण पनि बाढीपहिरो गएपछि ५ दिन निरन्तर हेलम्बु र मेलम्चीमा बसेँ । अझै भनौं राजनीतिक दलका कार्यकर्ता जुन किसिमले पार्टीभक्त देखिन्थे त्यसले समग्र मेलम्चीबासीको संवेदनामा खेलेको जस्तो देखिन्थ्यो । उनीहरुका शब्दले त मिल्नेजति भनेकै थियो त्यो भन्दा पनि बढी हाउभाउले भन्थ्यो कि ‘मेरो नेताले जति त कसैले नि गरेको छैन तिमीहरुको नेता भन्दा त हाम्रो नेता बढी पावरफुल र बाढी पीडितहरुको उद्धारमा खटिएको छ । 

जनताका मनमा गहिरो घाउ छ । उनीअरु प्रकृतिले व्यवहारबाटै अवाक थिए । अनि मानिसको सहगोगको र त्योभन्दा पनि यी रवाफको के आशा थियो र ? तर कार्यकर्ताको अहमता सुनेरै र सहेरै बस्नुपरेको छ । 
त्यति मात्रै होइन नेताहरुको चाकडी गरेर नेताकै गाडीमा र राहात वितरण गर्ने निउमा हेलिकप्टरमा चढेर सामाजिक सञ्जालमा फोटो राख्ने उनीहरुको ध्येय थियो ।  राहातमा रमिता देखाउँदै पहुँच प्रदर्शन गर्ने काम गरिरहेका छन् । 
सामाजिक अभियान्ता र यूटुबे पत्रकारहरुको आतंक फेरि छँदै छ । तिनका विगविगिले पीडितहरु माथि थप पीडा वोध भएको मलाई भान हुन्थ्यो । आफु लोकप्रिय बन्न बडेमानका क्यामेरा पीडितमाथि राखेर आँशुसँग खेलेको देखेर लाग्थ्यो वास्तवमा समाजमा वास्ताविक समाजसेवी र राजनीतिकमी रहेनछन ।

तर म पनि विवसमा थिएँ । मेरो केही दिनको मेलम्ची बसाइमा देखेका र भोगेका दृश्यहरु मैले टुलुटुलु हेर्नुबाहेक मसँग पनि खासै केही थिएन । तर म यत्ति भन्न चाहिँ सक्छु कि स्वाभिमानी मेलम्चीबासीमाथि स्वस्फूर्त रुपमा सहयोग गर्नका लागि सदैव खुल्ला छ । सच्चा मन र मायाले दिएको एकमुठी चिउरा पनि यहाँका स्थानीय स्वीकार नै गर्छन् । 

यो महामारीमा त्यसमाथिको प्राकृतिक प्रकोपले समेत पीडा थपिदिएको कर्मठ मेलम्चीबासीका घाउमा हेलिकोप्टरमा नुन लगेर छर्ने काम गर्न कसैलाई छुट छैन । समाज सेवाका कुरुप रुपहरु देखाउने प्रदर्शनीस्थल यो होइन । यो त सकिन्छ भने आँशु पुछ्ने ठाउँ हो । 

फोटो –प्रदीपराज वन्त