अपाङ्गता परिवारलाई छाक टार्न समस्या

  

कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ बाणी मुक्त कमैया बस्तीका ४५ वर्षीय रामबहादुर चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । ह्वील चेयरको सहायतामा उहाँले हिँडडुल गर्दै आउनुभएको छ । घरमा उहाँ मात्रै एक्लो अपाङ्गता भएको व्यक्ति भने होइन । उहाँका श्रीमती मुलीदेवीकोसमेत बायाँ खुट्टा चल्दैन । उहाँले पनि ह्वील चेयरमै हिँडडुल गर्दै आउनुभएको छ ।

चार छोरीमध्ये  एक छोरी पनि मानसिक रोगी छिन् ।  छ जनाको परिवारमध्ये तीन जनामा अपाङ्गता छ । घरमा कमाउने कोही पनि छैन । मुक्त कमैया पुनःस्थापन गरिँदा पाएको पाँच कट्ठा जग्गा र त्यसमा बनेको कच्ची झोपडी सम्पत्तिका रुपमा रहेको छ । 

कम्मरमुनिको भाग नचल्दा पनि राम बहादुरले बाध्यताले महेन्द्रनगर बजारमा मिष्ठान भण्डारमा ह्वील चेयरमै बसेर भाँडा माँझ्र्दै आउनुभएको थियो । यसबाट उहाँले मासिक रु आठ हजार पारिश्रमिक पाउँदै आउनुहुन्थ्यो  । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा गरिएको बन्दाबन्दीमा उहाँको रोजगारी खोसिएको छ ।

तीन महीनादेखि उहाँ बेखर्ची भएर घरमै बस्दै आउनुभएको छ । अपाङ्गता भएकै कारण उहाँलाई रोजगारी पाउन मुश्किल छ । दातृ संस्थाले दिएको सहयोगमा दुई छाकको खाना जुटेको छ । अरुको सहारामा हिँडडुल गर्दै आएका उहाँलाई नगरपालिकाले निलो रङको अपाङ्ता परिचय पत्र दिएको छ ।

“रातो परिचय पत्र पाउनुपर्ने हो”, उहाँले निरास हुँदै भन्नुभयो, “खै किन हो । मलाई निलो रङको परिचयपत्र दिएको छ । श्रीमतीलाई पनि सोही परिचयपत्र दिएको छ ।” “नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताबापत पाइने थोरै रकमले घर खर्च चलाउन गाह्रो भएको दुखेसो उहाँले पोख्न भयो । नगरपालिकाबाट पाइने भत्ताको रकम समयमै नपाइँदासमेत खर्च चलाउन मुश्किल भएको उहाँको भनाइ छ ।
 
मुक्त कमैया मुक्तिको घोषणापछि मालिकका घरबाट बिदा भएका  उहाँको परिवारलाई विसं २०५९ मा पुनःस्थापन कार्यक्रमअन्तर्गत पाँच कठ्ठा जग्गा दिइएको थियो । उपलब्ध गराइएको जग्गा नदी छेउमा परेकाले बलौटे छ । जग्गामा उब्जनी हुँदैन ।

“आफ्नो भन्ने मान्छे नभएपछि कमजोर ठानेर बलौटे जग्गामा पुनःस्थापन गराइयो । बाध्यताले जग्गा स्वीकार ग¥र्यौं”,  ४२ वर्षीय मुली देवीले भन्नुभयो, “जग्गामा खेती गर्ने मान्छे पनि परिवारमा छैन । बलौटे जग्गालाई मलिलो पनि बनाउन सकेका छैनौँ । छिमेकीलाई अधिया लगाउन दिने गरेका छौँ । उब्जनी नहुने हुँदा कसैले पनि जग्गा जोत्नै मान्दैनन् ।” 

मुलि देवीको सानै छँदा ज्वरो आएपछि बायाँ खुट्टा सुक्दै गएर नचल्ने भएको हो । उहाँका श्रीमान् रामबहादुर भने छ÷सात वर्षको छँदा आमासँगै गुइँठा टिप्नका लागि वन क्षेत्रमा गएका बेला लडेर कम्मरमा चोट लागेको थियो । समयमै उपचार नपाउँदा विस्तारै कम्मरमुनिको भाग चल्न छाडेका छ । चोट लागेर ठीक भएपछि केही वर्ष उहाँ हिँडडुल गर्न सक्ने भएका थिए । 

केही समय उहाँले दोमिल्लाका जमिन्दारको घरमा कमैया बसेर काम पनि गरेका हुन् । उमेर ढल्किँदै जाँदा कम्मरमुनिको भागले काम गर्न छाडेको छ । सात वर्षयतादेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ह्वीलचेयको सहायतामा उहाँले हिँडडुल गर्दै आउनुभएको छ ।

छोरी विपनामा समेत मानसिक अवस्था कमजोर हुँदा चौधरी दम्पतीले घरमै दाम्लोले बाँधेर राख्ने गरेका छन् । छिमेकीको घरमा गएर बिगार गर्ने भएकाले बाँधेर राख्नुपरेको चौधरी दम्पतीको भनाइ छ ।

सहयोगी संस्था पाइए छोरीको उपचार गरी ठीक हुने आशा उहाँहरुलाई छ । अहिलेसम्म सहयोगी संस्था भने उहाँले भेटाउनुभएको छैन । घरमा मुख्य समस्याका रुपमा शौचालयको रहेको छ । पुनः स्थापनकै बेला दातृ निकायले बनाइदिएको शौचालय अपाङ्गमैत्री नहँुदा समस्या छ । सिँढीसहितको शौचालय त्यसमा प्यान सेटबाहेक छत र पर्खालसमेत नहुँदा कपडा बेरेर राख्नुपरेको छ । हावा चल्दा खुला आकाश मुनि चौधरी दम्पतीले शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ ।

ती दम्पती भन्छन्, “आयआर्जन हुने सीप सिकाइ घरमै बसेर रोजगारी हुने कार्य भए गथ्र्यौं । त्यो पनि छैन । कसैले त्यसका लागि सहयोग गर्दैनन् । गाह्रो काम गर्ने अवस्था नहुँदा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।”

काठ र माटोले झण्डै दुई दशकअघि बनाइएको कच्ची घरसमेत भत्किने अवस्थामा रहेको छ । चौधरी दम्पतीले घर मर्मतको कार्य गर्न नसके खुला आकाश मुनि बस्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । घर निर्माणका लागि दातृ निकायलाई उहाँहरुले गुहारेका छन् । “गाउँ नजिकैको सामुदायिक विद्यालयमा पढ्दै आएका तीन छोरीको पढाई खर्च धान्न नसक्ने भएपछि विद्यालयबाट छुटाउनुपर्ने अवस्था आएको छ”, रामबहादुरले भन्नुभयो, “विद्यालयबाट पुस्तक निःशुल्क पाइन्छन् । विद्याय पोशाक, झोला, अभ्यास पुस्तिकालगायत स्टेशनरी खर्च धान्न नसक्दा निकै अप्ठ्यारोमा छौँ ।” (रासस, राजेन्द्रप्रसाद पनेरु)