सुदूरपश्चिमका १४ सांसदले भीम रावललाई दिए राजीनामा फिर्ता लिन दबाब

  

धनगढी । नेकपा एमालेको सुदूरपश्चिमका प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । 

संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्य (माधव समूह)ले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी समेत दिएको बताइएको छ ।

नेता रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिई संसदबाट बाहिरिएका थिए ।

यद्यपि, सभामुखले उनको राजीनामा स्वीकृत गरिसकेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।