खोप लगाउनेहरुको लाइन घटेन

  

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन ।

राजधानी काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेकोछ । अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ । काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको  छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ । 

दिनभरी लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन् । अर्कोतर्फ नागरिकले आफुहरुले खोप लगाउन नपाएको पनि बताएका छन् । थापाथलीस्थित प्रसुतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफुहरुले खोप लगाउन नपाएको गुनासो गरेका छन् । खोप लगाउन पुगेका गोपाल खनालले आफुलाई बिहानभरी लाइन बस्दा पनि खोपबाट वञ्चित गराईएको बताउनुभयो ।

सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । लक्षित समुह भनेर सरकारले नागरिकहरुलाई विभेद गरेको उहाँको भनाई छ । खोपहुँचवालाले खोप लगाउन नपाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।