स्मृतिमा बाः साहसको धुरी मेरा बा !

  

असोज १८ गते २०७५ । अनन्तराज पौडेल अर्थात् मेरा बाले छोडेर जानुभयो हामीलाई । आमा अनि हामी १३ जना छोराछोरी टुहुरा भयौँ ।  असोज १९ गते देवघाटको दोभानमा दाहसंस्कारसँगै बाको शरीर खरानी हुँदै गर्दा मेरो हिम्मत, मेरो साहस, मेरो आत्मविश्वास, मेरो भरोसा, मेरो सम्पूर्णता दन्किरहेको थियो विशाल ज्वालामा । संरक्षकत्वको बलिष्ठ अँगालोबाट फुस्कँदै गएकी थिएँ म । बालाई पनि उहाँका अङ्गअङ्गले छोड्दै गएका थिए ।

देवघाटको तीरमा चिताबाट धुवाँ मात्रै उडिरहेको थिएन, त्यसमा बा र मेरा कैयौँ सपना उडेका थिए । त्यो धुँवा माथि माथि पुगेर बिलाउँदै थियो । मेरो जीवनको आडभरोसाको मूल खामो, मार्गदर्शक, पथप्रर्दशक सबै सबै टाढिँदै थिए । दुःख पर्दा मान्छेले सम्झने भनेका दुई तस्वीर छन् । एउटा निर्जीव र एउटा सजीव । ढुङ्गाको मूर्तिसँग मान्छे अझै पनि डराइरहेछ । विश्वास गरिरहेछ । जति नै नास्तिक किन नहोस्, भगवानको मन्दिर नजिक पुगेपछि स्वचालितरुपमा उसको शीर निहुरिन्छ । अनि बाआमाका अगि ।

ठेस लाग्दा मान्छे ‘ऐया नि बाबा ! ऐया आमा !’ भन्छ । अथाह पीडा भएपछि ‘भगवान् !’ नभनी छोड्दैन स्वचालित रुपमा । यसरी गाँसिएको हुन्छ बाआमा र भगवानसँग मान्छेको सम्बन्ध निरन्तर जीवनभरि । तीन वर्षअघि सोह्रश्राद्धको दशमी तिथिमा बाले सधैँका लागि छोडेर जानुभयो । ‘सोह्रश्राद्धका १६ दिन पितृकार्य गरिने भएकाले राम्रो मरण’ भने पुरोहित र ज्योतिषहरुले । तर, मृत्यु आफैमा कसरी राम्रो हुन्थ्यो ? मुटु गाँठो पारेर हामीले मानिदियौँ पुरोहितहरुका कुरा ।

अभावको चरित्र नै पीडा हो । बाको अभावले सधैँ दुखी बनाउँछ । तर, कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन आउँछ, सम्झनाले दिने दुःख र अभावले दिने पीडाको मूल्य चर्को बन्दो रहेछ । मृत्युको सम्झना, चुँडिएको मायाको तिर्सना एकान्तमा झनै गाढा बनेर आउँदो रहेछ ।  बाले छोडेर गएदेखि मलाई जमघट भन्दा एकान्त नै प्रिय लाग्न थालेको छ ।  बन्द कोठामा बाको फोटो हेरेर सम्झिरहेकी छु ती दिन । बा का सम्झनाका छालहरुले हुत्याइरहेछ निरन्तर । 

हुन त बाका केही केही कुरा मानिनँ मैले । मेरा गुनासा बाले सुन्नु पनि भएन । बाका कुरा र मेरा गुनासाको बहस समयसँगै गर्नु थियो हामीलाई । समयले बाका कुरा सही बनायो, मेरा गुनासा पनि जायज प्रमाणित भए । तर, हामी दुवैले स्विकार्न बाँकी नै थियो । बासँग समय थिएन, मैले रोजेको बाटो पक्की बनेको हेर्ने । पर्खिन दिएन नियतिले । समयले मलाई पनि दिएन बा हुँदै आफूले लिएको बाटो मजबुत रहेको प्रमाणित गर्न । सबैभन्दा दुष्ट भनेकै समय रहेछ, जसले पटक पटक परीक्षा लिइरहेछ ।

म विकासे भाषामा ‘समविकास’ को कुरा गर्थें, बा धर्म र संस्कारसहितको समानताको कुरा गर्नुहुन्थ्यो । गन्तव्य एउटै थियो तर त्यहाँ पुग्नका लागि हामीले राम्रो ठानेको बाटो अलग । गन्तव्य एउटै भएकाले लामो बहसपछिको निष्कर्षलाई हारजितबिनै दुवैले स्वीकार ग-यौँ । आमा प्रत्यक्षदर्शी बनेर मुसुमुसु हाँसिरहनुहुन्थ्यो । बा र मेरो विवादमा तटस्थ बस्ने आमाको खास बानी हो । जितभन्दा पनि मप्रति बाआमाको विश्वास देख्दा साह्रै सुखी लाग्छ । आत्मविश्वासले आकाशै छोला जस्तो हुन्थ्यो हृयदमा । ऊर्जाको त कुरै नगरौँ ।

सानैमा पनि बासँग नडराई बोल्न सक्थेँ म । दिदीदाइहरु बाका अगि पर्न डराउँथे । ठुलो भएकाले हकदाबीमा ठुली दिदी, सानी भएकाले मायामा मैले बोलेका विषयमा बा एकदम थोरै प्रतिकार गर्ने गर्नुहुन्थ्यो । बा जीवन बाँच्ने कला सिकाउनुहुन्थ्यो । ‘दुखी भएर, अपूरो भएर होइन, जे छ त्यसैमा खुसी हुन सिक्नुपर्छ ।’ बाको यो भनाइले मलाई भित्रैदेखि साहस भरेछ । धर्म, संस्कृतिसहितको पारिवारिक अनुशासनमा कडा हुनुहुन्थ्यो बा । समयसँगै सांस्कृतिक मूल्य र मान्यतालाई आफू अनुकूल बनाउँदै लैजान मैले गरेको सानो प्रयास पनि ठुलै विद्रोह देखिएको थियो त्यस समय । ‘महिनावारी हुँदा घरभित्र पस्न हुँदैन’ भन्ने मान्यता पनि मैले नै नाघेकी थिएँ । बा भन्नुहुन्थ्यो– “यसले हामीलाई मिची । छोरी पढाउन हुन्न भन्थेँ, हो रैछ । मूल खामो नै छुन आई अब त ।”

तर, जब साँझ पथ्र्यो । माथिल्लो तला उक्लिसकेपछि आमालाई भन्नुहुन्थ्यो– “ए ! कान्छीलाई भित्रै सुत्न भन् । बाहिर डराउली ।” छोरीलाई जागिर खान पठाउन नहुने मान्यतालाई मैले नै तोडेकी थिएँ । बाका सात दाजुभाइमा एकाध बुहारीले घरबाहिर गएर जागिर खाएको भए पनि छोरी बाहिर निस्किएका थिएनन् जागिर खान । सुन्दा दन्त्य कथा जस्तो लाग्ने विषय मैले कसरी प्रतिकार गरेँ ? सम्झँदा पनि अचम्म लाग्छ । मैले जागिर खान जाँदा ‘तीनतले’ को साख गिरेको अनुभूति भयो बालाई ।

२०५७ सालतिर ‘चितवन साप्ताहिक’ को परिचयपत्र गलामा देखेर गाली गर्ने मेरा आफन्त र इष्टमित्रले केही वर्षभित्रै प्रशंसा गर्न थालेपछि बाले भन्नुभएको थियो– “यस्तै निडर होस् भन्ने चाहेको थिएँ मैले, मेरो भित्री चाहना पूरा भयो ।” हो, यहाँनिर म सही थिएँ । “म चुप थिएँ, त्यसैले तिमी सही भयौ !” बा सधैँ भन्नुहुन्थ्यो । उहाँको मौनताभित्रको रिस पनि मलाई मिठो लाग्थ्यो । ठान्थेँ– मैले त जितेँ नि बा ! हजुरको रिस त एकै क्षणका लागि मात्र त थियो नि समयसँगै ।

बाको मौनता आजका लागि हिजो तय भएको मेरो गोरेटो हो । त्यही मौनताले मलाई कार्यक्षेत्रमा अगि बढ्ने प्रेरणा दिएको थियो । तब न मैले आफुले रोजेको बाटो खन्न अनि  विस्तार गर्ने मौका पाएँ । भड्किलो बिहे गरेर दाजुभाइका नाममा मेरो दायित्व उठाउँदा लागेको खर्चको बहिखाता नरहोस् भन्ने मेरो चाहाना पनि पूरा गरिदिनुभयो बाले । तर, उहाँको चाहना ? बा सधैँ भन्नुहुन्थ्यो– “कान्छीको बिहे नजिकै अनि धुमधाम गर्नुपर्छ । नौमती बाजा, इष्टमित्र, भोजभतेर ‘. आदि, इत्यादि ।” बाका चाहना धेरै थिए, जहाँ हाम्रा विचार मिलेनन् सायद । यो पनि सबैभन्दा बलवान् समयकै प्रभाव मान्छु ।

लामो समयपछि बाले भन्नुभयो– “तिमीले ठिकै ग-यौ । वाहियात खर्चको कामै रैनछ । छोरीको बिहे पनि त्यसै गरी गर्नू । कर्म गर्नुपर्छ । खर्च गर्ने होइन ।” “देख्नुभो, म गलत निर्णय गर्दिनँ नि बा ! बाँकी निर्णयहरु भविष्यमा यसै गरी तपाईंको आत्मस्वीकृतिसहित सत्य साबित हुँदै जानेछन् ।” मेरो अभिव्यक्तिमा आँखीभौँ उचालेर बाले स्वीकृतिको मुन्टो हल्लाउनुभएको थियो ।

थाती रहेका कैयौँ विषय पनि समयले छिनोफानो गरिसक्यो । तर, बाको आत्मस्वीकृति पाउने मेरो चाहाना पूरा भएन र अब कहिल्यै हुँदैन पनि । बा भएको भए कोभिड–१९ ले मुलुक नै त्रसित बनेका बेला ‘हत्केलामा सास लिएर हिँडेकी छ छोरी’ भन्दै चिन्ताले अझै सुक्नुहुन्थ्यो होला । अथवा गर्व गर्नुहुन्थ्यो होला कर्तव्य नबिर्सेकोमा । जिम्मेवारीबाट नपन्छिएकोमा ।

कोरोना कहरमा वर्तमान विश्व जटिल अवस्थामा पुगेको बेला कठिन अवस्थामा बाले दिने गर्नुभएका सान्त्वनाका शब्दहरु स्मृतिमा आइरहेछन् । तात्कालिक शसस्त्र द्वन्द्व, ०६२–६३ को आन्दोलन, महाभूकम्प, नाकाबन्दी लगायतमा उहाँले आशाको त्यान्त्रो देखाउँदै सधैंँ ‘हिम्मत राख्न’ प्रेरणा दिइरहनुभयो ।

ज्योतिष र संस्कृतको सामान्य शिक्षा भए पनि देशको राजनीतिमा चासो राख्ने भएकाले समाचार सुन्ने बानी थियो बाको । रेडियो नेपालबाट आउने घटना र विचार सुरुदेखि नै सुन्न कहिल्यै छुटाउनुभएन । “यस्तै हुुनुपर्छ निडर अनि हक्की !” बाले सबैलाई पत्रकार पुरुषोत्तम दहालको उदाहरण दिने गरेको सम्झन्छु अहिले पनि ।

बा अहिले हुनुहुन्न । मप्रति बाका अपेक्षाहरु कति पूरा भए कति पूरा भएनन् तर अहिले पनि गुन्जिरहेछन् बाका अभिव्यक्ति । माया, प्रेम, स्नेह र सम्झनाको त के कुरा गर्नु । सन्तानले बाआमालाई कहिले बिर्सन सक्छन् र ! मेरा हरेक निर्णयलाई समयको कसीमा राखेर तौलिने बाको कार्यशैलीमा सधैँका लागि पूर्णविराम लाग्यो । बाको शरीर जलेर निस्किएको धुँवा अकासिँदै गर्दा अनायासै उहिले बाले मलाई काखमा राखेर चोरी औँलाले आकाशतिर देखाउँदै भनेको सम्झिएँ – “मरेपछि उः त्यो चन्द्रमासँगै रहेको चम्किलो तारा भएर तिमीलाई हेरिरहनेछु ।” त्यो बेला मेरो बालमस्तिष्कले के बुझ्यो होला र बाको कुरा ? धमिलो सम्झनाले मुटु भक्कानियो ।

अब मेरा अगाडि बा कहिल्यै आउनुहुने छैन । सधैँका लागि छोडेर जानुभयो । पीडामा हृदय चिरा चिरा भएर आँसु डिलसम्म आइपुग्दा बाले भनेझैँ म अनायासै आकाशलाई नियाल्ने गर्छु । मेरा आँसु आँखाका डिलमै अडिने गर्छन् । सायद आकाशबाट बाले हेरिरहनुभएको छ । उहाँ मेरा आँसु खसेको कसरी देख्न सक्नुहुन्छ र ?