बा महिमा

  

खासमा बाका कुरा आमाका भन्दा कमै हुन्छन्
तर, कुरा जताबाट गरे पनि गरेजति बाका जम्मै हुन्छन् ।

हुन त बा पनि कसैका सानातिना कुरा कमै सुन्छन्, 
सुने पनि बाहिर सुनेजवस्तो गर्दैनन्, मनमै गुन्छन् ।

कुनै समय लाग्थ्यो, मेरा बाले केही जान्नुहुन्न,

त्यसमाथि हामीले भनेको केही मान्नुहुन्न ।
म रिसाउँथेँ, मलाई उपदेश दिइरहँदा,

अर्ती दिइरहनु पर्दैन बच्चालाई जस्तो
धेरै सिकाइरहनु पर्दैन कच्चालाई जस्तो

मैले नसुने पनि सुनाउनुहुन्थ्यो, रिसाउनुहुन्थ्यो,
आज थाहा हुँदैछ, बाका सबै कुरा

मेरो सफलताको चुरो रहेछ ।

अरुका फोस्रा र बिना अर्थका कुरा के कुरा,
बाको कुरो पो कुरो रहेछ ।

मेरो सामु कहिल्यै मेरो गुनगान गाउनुहुन्न
तर, अरुको अगाडि मेरो प्रसंशा नगरी धरै पाउनुहुन्न ।
म ठूलो हुँदा पनि, ठूलो भएँ भन्ने भेउ पाउनुहुन्नथ्यो,
कतै निस्किँदा उपदेश र सचेतनाका कुरा भनि नै रहनुहुथ्यो ।

आफू थाकेर पनि थाकेको छु कहिल्यै नभन्ने
आफ्नो अनुहार कस्तो छ भनी बा कहिल्यै ऐना नहेर्ने,
आफ्नो बुढेसकालको साहारा टेक्ने लठ्टीले मेरो लागि बाटो देखाउने,
सारा जीवन सन्तानमा समर्पण गरी
सन्तानको सफलतामा आफ्नो लक्ष्य भेट्टाउने,
प्रायः बाको गोजी छाम्दा रित्तै हुन्छ
तर, भन्नुहुन्छ तँ आँट म पु-याउँछु,
तँ अघि बढ्, जानु पर्ने ठाउँ र गन्तव्य म डोहो-याउँछु ।

अप्ठ्यारा देखाई हिम्मत जुटाउने,
आँसु लुकाई खुसी देखाउने,
साँच्चै, बा नै जीवनमा परिस्थितिअनुसार बाँच्न सिकाउने,
म रुँदा बाले नफकाएको देख्दा लाग्थ्यो,
बाले मलाई माया गर्नुहुन्न,
पछि थाहा भो आफ्नो आँखाको आँसु पुछ्न
कहिल्यै अरुको भर पर्नु हुन्न ।

खाजा खर्च नापी नापी दिएका देख्दा लाग्थ्यो,
मेरा मात्रै हुन् कि अरुका बा पनि यस्तै लोभ गर्नुहुन्छ,
पछि थाहा भो मैले खाएपछि खाना सकिए,
अघाएजस्तो गरी भोक खप्नुहुन्छ ।

पुरानै कमिजमा रमाउने मेरा बा
जेठको घाममा खेतका गरा पसिनाले 
किन भिजाउँछन् भन्ने लाग्थ्यो,
तर, धानका बाला झुलेपछि थाहा भो ।

अँध्यारो औँसीको यो दिन
किन पिता सम्झिन्छन् सबैले भन्थेँ,
उहाँको कपाल सेतै फुलेपछि थाहा भयो ।
उहाँ त्यो कालो रातको आश हुनुहुँदो रहेछ,
सन्तानको अगाडिको बाधा हटाउने,
दिव्य प्रकास हुनुहुँदो रहेछ ।

पितृ देवो भव,
आखिर यही दिव्य गुणको परिणाम रहेछ ।