बेड नम्बर १५

  

मेरो दिनै खराब ! सिफ्ट शुरु भएको एकघण्टा नबित्दै आज फेरि बेड नम्बर पन्ध्रमा भर्ना भएको बिरामी एकाएक हरायो ।

यो बिरामी हराउने र भेटिने क्रम नौलो भने पटक्कै होइन । पाँचदिन पहिले पनि बेड नम्बर पन्ध्रकै बिरामी दिउँसो दुई घण्टा जति बेपत्ता भएको थियो भनेर मेरा सहकर्मी भन्दै थिए । त्यस दिनचाहिँ उसको मोबाइलमा फोन गर्दा उठाएर एकछिनमा आउँछु भनी जानकारी दिएकाले त्यत्ति हैरान भएन अरे ।

मेरा पालामा फोन उठाए त मरिजाउँ ! फोन त कत्ति गरेँ कत्ति ! अब कहाँ जानु उसलाई खोज्न ?

दिउँसोको खाना खानसमेत फुर्सद भएन मलाई । बिहानदेखि पुलिसलाई फोन गर, सेक्युरिटी शाखासँग मद्यत माग, कागजपत्र तैयार गर, डक्टरलाई खबर गर, परिवारलाई फोन गर । हैरान पनि कति हो कति ! पुरैदिन उसैको झमेला सल्टाउँनैमा बित्यो । आखिर यो सबै मेरै सिफ्टमा हुन लेखेको रहेछ ।

बेलुकीको छ बज्न लाग्दा त मेरो मानसिक थकानले सीमा काट्यो । मलाई कतिखेर दिनभरको विवरण रातिको सिफ्टका सहकर्मीलाई बुझाएर घर फर्किनु जस्तो भैसकेको थियो । सिफ्ट सक्न दुईघण्टा बाँकी मात्र थियो । मैले हेर्नुपर्ने अरु बिरामीहरुलाई साँझको औषधीसम्म समयमा दिन भ्याएकी थिइनँ ।

सात बज्न लाग्दा बल्लतल्ल दिनदिनभरको तनाब बिर्सिएर पेशागत जिम्मेवारीलाई आत्मसाथ गर्दै उनीहरुलाई साँझको औषधी दिएँ । कम्प्युटरमा सबैको दिनभरको विवरण लेखेर त्यसलाई प्रिन्ट गरी ठिक्क पारेँ ।

मैँले यति गरिसक्दा झण्डै–झण्डै साढे सात बजिसकेको थियो । बिस्तारै बिरामी भेट्न वार्डमा आएका बिरामीका आफन्तहरु फर्किन थालेका थिए । रिसेप्सन डेस्कको भिडभाड शान्त हुँदैथियो । यसैबीच रातिको सिफ्टका सहकर्मीहरु पनि फाट्ट–फुट्ट आउन थाले । सिफ्ट सकिनै लागेको हुँदा बिहानदेखि हराएको बिरामी रात परेपछि नफर्किने पक्कापक्की थियो ।

अब उसलाई खोज्ने र भेट्टाउने काम पुलिसको भएकाले मैले उसको फायल अध्यावधि गरेर थन्क्याइसकेकी थिएँ । बस् ! मैले एकैछिन अगाडि प्रिन्ट गरेको वार्डका अन्य बिरामीहरुको विवरण मात्र मेरा सहकर्मीलाई बुझाउन बाँकी थियो ।

म त्यही अन्तिम घडीको पर्खाइमा थिएँ ।

“हेलो सिस्टर !”

मेरो टाउकै पछिल्तिरबाट एक्कासी आएको आवाजले म झसङ्ग भएँ । मेरा लागि यो आवाज शान्त तलाउमा जोडले फ्याँकेको, सानो तर आफ्नो आयतनको तुलनामा कयौं गुणा ठूलो तरङ्ग ल्याउन सक्ने तिखो ढुंगा बराबर थियो । यस्तो अनपेक्षित आवाजले उठाएको तरङ्गले एकैछिन अघि मैले अनुभुत गरेको शान्त वातावरण एकाएक खल्बलिएन मात्र, मेरो मष्तिस्क नै रन्थनियो ।

रन्थनिएको मष्तिस्क बोकेको टाउको फर्काउँदै मैले पछाडि हेरेँ । मलाई सिस्टर सम्बोधन गरेर बोलाउने अरु कोही नभएर उही बिहानदेखि हराएको बिरामी लुकास थियो ।

उसको यो अप्रत्यासित उपस्थिति मेरा लागि ग्रिक पौराणिक कथामा भेटिने भयका देवता ‘फोबोस’ कोभन्दा कम थिएन । यद्यपि लुकास एक कमजोर रोगी पुरुष थियो । लुकासमा मैले देखेको त्यस काल्पनिक फोबोसले मलाई पुनः सन्त्रास, भागदौड र पराजयको जटिल घेराभित्र सर्लक्क बाँध्यो ।

अब मैले घर फर्किने कुरालाई चटक्क बिर्सिएर अरु दुई घण्टा बढी खर्चनुपर्ने निश्चित थियो । सम्झिएर एकैछिन त म रुनु न हाँस्नुको दुविधामा जिल्लिएर उभिइरहेँ ।

दिनभर हराएको मान्छे मुख्य ढोकाबाट यसरी कसको पछि लागेर सुट्ट भित्र छि¥यो ? मलाई लुकासप्रति अनौठो शंका पनि लाग्यो । मैले शंका गरिरहँदा ऊ भने म नजिकै उभिएर एक निर्दोष बालकलेझैं मेरो अनुहारमा हेरिरहेको थियो ।

उसको निर्दोषपनले मलाई रत्तिभर छोएन ।

“दिनभर कहाँ गएका थियौ ?” दिनभरको कष्ट सम्झेर मैले उसलाई रिसाउँदै सोधेँ ।

“कहीँ होइन । त्यहीँ स्टेशनसम्म हो ।” लुकासले विनम्र हुँदै भन्यो ।

स्टेशन भनेको सुन्नासाथ मलाई झनक्क रीस उठ्यो । अनि मैले उसलाई धम्क्याउँदै भनेँ –“तिम्रो बेड छैन । आजबाट तिम्रो कोठा र बेड दुवै अर्कै बिरामीलाई दिइएको छ ।”

“सिस्टर नरिसाउ न यसरी ! मलाई विश्वास छ, तिमीले मेरो बेड अरुलाई दिएकै छैनौ ।”

बेड छैन भन्ने मेरो धम्क्याइले लुकासलाई खासै प्रभाव परेन । न ऊ रिसायो, न त डरायो नै ! बरु बारम्बार नरिसाउ न सिस्टर त्यसरी भन्दै याचनाको भाव लिएर ऊ मेरो डेस्क छेउमै आयो ।

नजिकै आउँदा उसको मुखबाट रक्सीको गन्ध आइरहेको थियो । अनुहार पहेँलो न पहेँलो देखिन्थ्यो । अनुहारको रङ्गको ठीक विपरीत हातमा बोकेको प्लाष्टिकको ठूलो झोला चाहिँ रातो न रातो रङ्गको  थियो । भगवान् जानुन्, त्यो ठूलो रातो झोलाभित्र उसले के–के लिएर आएको  थियो ।

“नरिसाउनु ? कसरी नरिसाउनु ? तिमीलाई थाहा छ आज कति हैरान भयो मलाई ?” मैले केटाकेटीलाईझैं हकार्दै उसलाई सम्झाउन थालेँ – “के तिमीले बुझेका छौ तिम्रो उपचारका लागि एकदिनमा कति खर्च लाग्छ भनेर ? पैसा तिर्नु परेको भए चाल पाउँथ्यौ । बित्थैमा आजको औषधी सबै खेर गयो । कोही साँच्चै उपचारको महत्व बुभ्ने बिरामीले त्यो औषधी पाएको भए कति अनुग्रहीत हुनेथियो त्यो बिरामीे । तिमीले त औषधी पनि नाश ग¥यौ र दिनभर रक्सी पिएर बिग्रिएको तिम्रो स्वास्थ्यलाई अरु बिगारेर फर्कियौ ।”

मेरो रिस मत्थर नभएकाले लुकासको नजिक उभिएर अझ थपें– “जतिबेला मन लाग्यो कसैलाई थाहा नदिई फुत्त निस्किने अनि जतिबेला मन लाग्यो लुरुलुरु भित्रिनलाई के यो तिम्रो घर हो ? छि...! हेर त कस्तो ह्वास्स गन्हाएको तिम्रो मुखबाट रक्सी !”

यसरी मैले उसलाई एकैछिनमा धेरैथोक भनेँ । मैले यतिथोक भनिसक्दा पनि लुकासको अनुहारमा मसँग प्रतिवाद गर्ने कुनै संकेत देखिएन । तसर्थः ऊ थोरै शब्द तर धेरै अनुभुतिमा विश्वास गर्ने पुरुष हो भनेर ठम्याउँन मुश्किल भएन मलाई ।

“सिस्टर यति धेरै नरिसाउन ! किन रिसाउँछ्यौ ? यो जीन्दगी त छोटो छ । भोलि के हुन्छ, कसलाई  थाहा ? न तिमीलाई न मलाई ।” उसले दाहिने हातको बुढीऔंला र चोरऔंलाको बिचमा सानो अन्तर राखेर जीन्दगीको आयतन नाप्दै देखायो मलाई ।

एउटा रोगीले जीवनको आयतन मेरा आँखा नजिकै नापेको दृश्यले मेरो मस्तिष्कलाई मज्जाले हल्लाइदियो । मुटुको धड्कनको गति अनियमित हिसाबले बढ्यो । त्यो धड्कनलाई मैले मेरो मुटु बाहेक घाँटी र गर्दनमा पनि अनुभुत गरेँ ।

मेरा आँखा तिलमिलाए । वरिपरि कालो अँध्यारो छायो । क्षणभरमा मेरो मानसपटलमा ऊप्रति रन्थनाइरहेका क्रोध मिश्रित भावनाको मुस्लो पातलिन लाग्यो ।

म निस्तब्ध भएँ ।

‘भोलि !’ वास्तवमा यो कहिल्यै नहराउने तर कहिल्यै नभेटिने भोलिको शिलसिलाभित्र त बाँचिरहेकी छु म । मलाई त्यही भोलिसँग त्रास लाग्छ । मलाई त्यही भोलिसँग आश जाग्छ । मलाई त्यही भोलिसँग लाज लाग्छ । मलाई त्यही भोलिको लोभले तान्छ । जन्मिए परन्त आजसम्म मेरो अस्तित्व नै भोलिसँग जोडिएको छ । तर, के त्यो भोलिलाई कहिल्यै मैले देखेकी छु ? कुनै पल त्यो भोलिलाई भेटेकी छु ? यथार्थतः यस्तो कहिल्यै नभेटिने अनि देख्दै नदेखिने भोलिको एक बफादार नोकरबाहेक अरु केही होइन म । प्राचीन मेसोपोटामियाको दासत्वभन्दा कहालीलाग्दो भोलिको दासत्वभित्र कहिल्यै नफुत्किने गरी बाँधिएकी छु म ।

लुकाससँगको झमेलामा पनि उही भोलिको आदेश मानिरहेकी थिएँ म ।

“ल...ल...! जाऊ अब आफ्नो बेडमा । आजलाई भैगयो । भोलि फेरि कसैलाई जानकारी नदिई बाहिर नजानू ।” मैले आफूुलाई त्यही भोलिको दास बनाएर लुकासलाई चेतावनी दिँदै भनेँ ।

मैले उसलाई दिएको चेतावनी त केवल आफ्नै पदक्रमको साख जोगाउने मेरो कमजोर प्रयत्न मात्र थियो । यथार्थतः म लुकासले मेरो मुटुलाई शब्द प्रहारबाट अरु हल्लाउन सक्ने सम्भाव्यताबाट भाग्न चाहन्थें ।

“धन्यवाद सिस्टर !”

मेरो अनुमति पाएपछि लुकास आफ्नो शीर आधा झुकाएर मप्रति अनुग्रहित हुँदै कोठातिर लाग्यो ।

लुकास कोठामा पुगेको निकैपछिसम्म उसले बोलेका शब्द–शब्दको पुनरावृति मेरा दुवै कानमा भइरहे । पेशागत नीति र नियमभित्र बाँधिएकी हुनाले त्यस खास क्षणका लागि भावनाभन्दा पर रहेर मैले काम गर्नुपर्ने थियो । तसर्थः उसका शब्दहरुको अनुगुञ्जनलाई एकछिनका लागि बिर्सिने कोशिस गर्दै मैले लुकासको मेडिकल कागजपत्रमा दर्ता भएको निकटतम परिजनलाई फोन गरी ऊ अस्पताल फर्किएको जानकारी दिएँ ।

आफन्तलाई फोन गरेपछि मैले क्रमशः पुलिस र लुकासलाई हेर्ने डक्टरलाई पनि लुकास अस्पतालमा फर्किएको जानकारी गराएँ । त्यसपछि मेरो सहायकलाई लुकासको सामान्य स्वास्थ्य स्थिति जाँच गरी केही थपघट भए मलाई तुरुन्त जानकारी दिनू भनी अह्राएँ र आफू भने लुकासको परिवर्तित घटनाक्रमलाई उसको मेडिकल फायलमा लेख्न बसेँ ।

“हेपाटोसेलुलर कार्सिनोमा– स्टेज सी !” फायल पल्टाउँदा मार्च १४ मिति लेखिएको पेज ठ्याक्क पल्टियो, जसमा डाक्टर जोनको हस्ताक्षर थियो ।

त्यो ‘स्टेज सी’ लेखिएको त्यस पेजको सबैभन्दा माथि लुकासको नाम, थर, जन्म मिति, अस्पताल नम्बर र ठेगानासमेत भएको नीलो रङ्गको लेबल टाँसिएको थियो । मेरा दिनभरको थकानले गलेका आँखा उसको जन्ममितिमा पुगेर अडिए ।

“छत्तिस बर्ष !” मैले लुकासको उमेरको हिसाब गरेँ । औंला भाँचेर उसको र मेरो उमेरबीचको फरक निकालेँ ।  बिचरा ! मभन्दा आठ बर्ष कान्छो रहेछ । ऊ र मबीच उमेरको यति लामो अन्तर थाहा पाएर मेरो शरीरभर त्रासका काँडा भरर्र उम्रिएँ ।

मलाई लुकास झण्डै–झण्डै अन्तिम चरणमा पुगिसकेको कलेजोको क्यान्सरको उपचारका लागि भर्ना भएको हो भन्ने मात्र थाहा थियो । उसको उमेरको ख्याल गरेकै थिइनँ मैले ।

मन गह्रौं भयो ।

यस्तो भर्खरको उमेरमा त रोगको ‘र’ पनि छेउ नपर्नुपर्ने । तर, लुकासको मृत्युको मिति करिब–करिब तोकिइसकेको थियो । एकातिर बिरामीलाई निको पारेर घर फर्काउनु पर्ने मेरो पेशागत उद्देश्य, अनि अर्कोतिर लुकासको आफ्नै स्वास्थ्यप्रतिको लापर्वाहीपन । आफूलाई यो असहज परिस्थितिको बीचमा पाउँदा दिक्क लागेर आयो ।

म यही दिक्दारीलाई कम गर्न बसिरहेको डेस्कबाट जुरुक्क उठेर बेलुकीको औषधी दिन उसको कोठातिर लागेँ । म पुग्दा लुकास भने उसको रातो प्लाष्टिकको झोलाभित्रका समानहरु निकालेर टेबलमा राख्दै थियो ।

“ए सिस्टर ! म त तिमी घर गैसक्यौ पो भन्दै थिएँ ।”

मलाई उसको कोठैमा पुगेको देखेर छक्क पर्दै उसले भन्यो– “तिमीले घर नगएर राम्रो ग¥यौ । यी हेर ! मैले तिमीलाई पनि गिफ्ट लिएर आएको छु । ल ! यो तिम्रो, यो जेनीको, यो डाक्टर जोनको, यो एलिसियाको । अनि योचाहिँ हाम्री क्वीन साराको ।”

रिसेप्सनिष्ट सारालाई ‘क्वीन’ सम्बोधन गरेर खित्खित् हाँस्यो र सबैका गिफ्टका प्याकेटहरु त्यही रातो झोलाबाट झिक्दै मेरा हातमा थमाइदियो ।

लुकासको यस्तो व्यवहारले म आश्चर्यमा परेँ । मृत्यु निश्चित भैसकेको एक मान्छेले अरुलाई उपहार किनेर बाँड्ने हिम्मत कहाँबाट आउँदो होला ? मैले केही बुझ्न सकिनँ ।

“ल ! नढाँटी भन त तिमी आज पूरै दिन कहाँ गएका थियौ ?” उसले थमाएका गिफ्टका प्याकेटहरुलाई अञ्जुलीमा कस्दै मैले सोधेँ ।

“कहीँ होइन । त्यही परको सेन्ट्रल ट्रेन स्टेशनसम्म गएको ।”

उसले रातो प्लाष्टिकको झोलाभित्रका बाँकी सामानहरु झिक्दै भन्यो । 

“कुन मूर्ख मान्छेले यस्तो चिसो मौसममा ट्रेन स्टेशनमा बसेर पुरै दिन बिताउँछ ?’’ मैले उसलाई पुरै अविश्वास गर्दै भनेँ ।

“मजस्तो मृत्युको मिति तोकिएको एक मूर्खले बिताउने हो सिस्टर ।” मेरो अविश्वासको प्रतिकारमा देब्रे हातले आफ्नो छाती पिट्दै लुकासले थप्यो– “सिस्टर ! तिमीजस्ता लामो जीवन भएकाहरुले होइन ट्रेन स्टेशनको चिसोमा बसेर दिन बिताउने । तिमीहरुले त चलायमान टे«नमा चढेर जीवनको मनोरम यात्रा गर्ने हो ।”

लुकासले मलाई दीर्घजीवीको संज्ञा दियो । यस्तो उपमा मलाई दिइरहँदा उसका कानहरुमा अत्यधिक रक्तसञ्चार भएर राता भएका थिए । पहेँलो देखिएको अनुहारमा चिट्चिट् पसिना आइरहेको थियो ।

“कसले भन्यो तिम्रो मृत्युको मिति तोकिएको छ ? हरेक दिन आफूले समयमा खानुपर्ने औषधी नखाएर मिति त तिमी आफैं तोक्दैछौं ।” मैले मृत्यु र जीवनको हिसाब उसकै हातमा रहेको तर्क गर्न खोजेँ ।

“सिस्टर ! तिमी मलाई यस्तो झूठो शान्त्वना नदेऊ । बरु सक्छ्यौ भने डाक्टर जोनलाई भनेर हरेक दिनको केही घण्टा मलाई मेरो ट्रेन स्टेशन जाने अनुमति मिलाइदेऊ ।”

मेरो तर्कको औचित्य रहेन । लुकास आफ्नै ढिपीमा थियो ।

“म तिम्रो घरको सिस्टर भएको भए हुन्थ्यो नि ! म त हस्पिटलको नीति र नियमभित्र बाँधिएकी एक सिस्टर न हुँ । तिमीलाई लाग्छ, डाक्टर जोनले तिमीलाई दिनको केही घण्टा ट्रेन स्टेशनमा बिताउने अनुमति लेखिदेला ? मैले आश्चार्य मान्दै लुकासलाई सोधेँ – तिमी मलाई बताउ त, आखिर त्यस्तो के छ त्यो टे«न स्टेशनमा ?”

“सबथोक छ त्यो स्टेशनमा ।”

यति बोल्दै लुकासले हातमा झुण्ड्याइराखेको रातो प्लाष्टिकको झोलालाई फ्यात्त भुँईमा फ्याँक्यो र आफ्नो बेडमा आएर बस्दै मतिर फर्किएर भन्न थाल्यो– “सिस्टर ! के छैन त्यो त्यो ट्रेन स्टेशनमा ? त्यहाँ मेरो बालापन छ । आमाको हात समाउँदै त्यही स्टेशनबाट ट्रेन चढेर स्कूल गएको र फर्किएको स्मृति छ । स्कूल छुट्टीका समयमा सर्कस हेर्न जाँदा बुवासँग गफिँदै ट्रेनको झ्याल बाहिर हेर्दाको मीठो अनुभुति छ । त्यही प्लेटफर्ममा उभिएर पहिलो पटक गलफ्रेण्डलाई चुम्बन गरेको रोमाञ्चक अनुभुति छ । अक्सफोर्ड युनिभर्सिटीबाट ग्राजुएट भएको दिन सर्टिफिकेट बोकेर सरर ट्रेन चढेर फर्किँदाको गर्व  छ । जागिरे जीवनको शुरुवातदेखि प्रोमोशन हुँदासम्मको खुशी छ त्यो स्टेशनमा । साँच्चै भनुँ भने मैबाट छुट्टिएको एउटा सग्लो ‘म’ छ त्यो स्टेशनमा । के म मेरो सग्लो ‘म’ ले खुशीमा बिताएका क्षणहरुलाई पुनरावृत्ति गर्न पनि पाउँदिनँ ?”

लुकासले अस्पतालबाट भागी–भागी सेन्ट्रल स्टेशन जानुको कारण खोल्यो । किन जान नपाउने भनेर प्रश्न ग¥यो मसँग । मलाई प्रश्न गरिरहँदा लुकासको अनुहार निराशाको कालो बादलले ढाकेको थियो भने उसको मनभित्र ज्वालामुखीको लाभाजस्तो तातो र पग्लिँदो पीडाले निकास खोजिरहेको थियो । उसका आँखाका नानीहरुबाट घनघोर बर्षा हुनै लागेको थियो ।

उसको कमजोर क्षणलाई मेरो सामु छरपस्ट हुनबाट लुकासले रोक्यो । ऊ सम्हालियो ।

“अलिकति रोएको भए मनको पीडा कम हुन्थ्यो नि !” मेरो मनले थक्थक् मान्यो ।

लुकास रोएन । आँखाका नानीमा टिल्पिलाएका आँशु भित्रभित्रै दबायो । उसले आँशु लुकाएको देखेर लुकासलाई पनि पुरुष समाजले लोग्नेमान्छे भएर रुनुहुन्न भन्ने पाठ पढाउन कुनै कसर छोडेन छ जस्तो लाग्यो ।

स्वास्थ्यकर्मीको बुझाइका नाताले भने उसको शरीरमा प्रोल्याक्टिनको मात्रा बिल्कुलै घटेको पो हो कि भन्ने अड्कल गरेँ । फेरि सम्झिएँ– ऊ त अक्सफोर्डजस्तो विश्वप्रसिद्ध विश्वविद्यालयको ग्राजुएट ! हुन सक्छ, उसले आँखाका नानीलाई हावाको झोँक्काले छुँदाधरि बग्ने आँशुको केही खास उत्पादक उद्देश्य हुँदैन भन्ने दार्शनिक डार्बिनको झण्डै डेढ सय बर्ष पुरानो अभिव्यक्ति आत्मसाथ गरेको होला भन्ने पनि ठानें ।

मलाई लुकास नरोएको देख्दा पनि पीडा भयो । कलिकति मात्र रोएको भए पनि डार्बिनसँग प्रतिवाद गर्ने प्रोफेसर भिङ्गरहोएट्सको ‘रुनु भनेको शरीरको विषाक्त पदार्थ निश्कासन गर्ने प्राकृतिक तरिका हो ।’ भन्ने भनाइलाई मान्यता मिल्थ्यो ।

म रुनु र नरुनुको उल्झनमा अल्झिएँ केहीबेर ।

“भैगो । मैले बुझें, तिमी ट्रेन स्टेशनमा दिन बिताउने कुरा । तर, बिग्रिएको स्वास्थ्यका लागि विष हो भन्ने जान्दा–जान्दै तिमीले रक्सी चाहिँ किन पिएको ?” मैले आफ्नो मनलाई बलियो पार्दै सोधेँ ।

मेरो कुरा सुनेर लुकासले मलाई खिस्याउँदै भन्यो “रक्सी किन पिएको भनेर तिमीले सोधेको सिस्टर ? तिमीलाई कसरी रक्सीको रसायनिक प्रतिकृया थाहा छैन हँ ? रक्सीले मष्तिस्कमा हुने रसायनिक सन्तुलनलाई भङ्ग गरेर मभित्रको भयलाई कम गर्छ । एकैछिन भए पनि मेरो मष्तिस्कबाट मेरा सारा समस्याहरुलाई बिर्साइदिन्छ । अनि मेरो मनलाई हलुङ्गो बनाइदिन्छ । म सबथोक बिर्सिएर मर्न चाहन्छु ।”

यति भनेर उसले हाँस्दै मलाई सोध्यो– “के तिमी मलाई हरपल मृत्युको घडी गन्दै प्रताडीएर मरेको हेर्न चाहन्छ्यौ ?” 

म उसको प्रश्न सुनेर अक्क न बक्कको स्थितिमा पुगेँ ।

“यति धेरै कुराहरुको जानकारी राख्ने तिमीजस्तो मान्छेले मूर्ख हुन मिल्छ ? मन शान्त पार्ने बहानामा रक्सी पिएर मेरो काम र उद्देश्यमा बाधा नपु¥याऊ । म तिमीलाई निको भएको हेर्न चाहन्छु ।”

यति भन्दै म उसको कोठाबाट बाहिरिन खोजेँ ।

लुकासले मलाई सजिलै बाहिरिन दिएन । उसले ढोकामा उभिएर मलाई छेक्दै प्रश्न गर्दै गयो– “अबको सात महिनापछि हुन लागेको मेरो बिवाहको मिति कसरी भुलुँ म ? मेरी प्रेमिकाको रहर, आशा र ममाथिको भरोसालाई कसरी टुट्न दिउँ ? मेरा आमाबाबुलाई आइपर्न लागेको बज्रपातको कल्पना कसरी गरुँ  म ? अहो ! त्यो मेरी प्यारी बहिनीले आफूलाई मनदेखि माया गर्ने दाजु गुमाउन लागेको सोँचु मात्र पनि कसरी ? किड्नी प्रत्यारोपणलाई सबैको पहुँचसम्म पु¥याउन थालेको आधा अनुसन्धानलाई सक्न मलाई पर्खिरहेका मेरा सहकर्मीहरुलाई के जवाफ दिऊँ म ? के तिमीसँग यी सबै पीडा भुलाइदिन सक्ने औषधी छ ?”

यसरी दुःखेसो पोख्दा–पोख्दै केहीबेर अघिसम्म सुख्खा रहेका आँखाबाट बरर्र आँशु खसाल्दै लुकासले रक्सी पिउनुको कारण खोल्दै भन्यो– “आखिर मृत्यु निश्चित भएको मान्छे म ! मर्नै परेपछि रक्सी पिएरै सारा पीडा भुलाएर मर्न चाहन्छु ।”

अनुसन्धानको कुरा सुन्नासाथ स्वास्थ्य क्षेत्रमा ऊ आफैं विज्ञ रहेछ भन्ने जानेपछि मसँग उसलाई भन्ने केही कुरा बाँकी रहेन । केहीबेर अगाडिसम्म उसलाई रोएर हलुङ्गो भएको हेर्न चाहने म अब उसलाई नरुने आग्रह गर्ने मोडमा पुगेकी थिएँ । लुकासको सबै पीडा सुनेपछि मैले उसलाई थम्थम्याएर छोड्नुको विकल्पै थिएन ।

“लुकास ! म बुझ्छु तिम्रो पीडा ।” मैले उसको पीडालाई आफ्नै ठानेर उसलाई सान्त्वना दिँदै भनेँ –“जति बाँच्छौ, त्यति त सबैका लागि बाँच । के थाहा ? तिमीलाई माया गर्नेहरु तिम्रा बाबुआमा, तिम्री प्रेमिका, तिम्री बहिनी, तिम्रा सहकर्मी सबै–सबै तिमी आफ्नो स्वास्थ्यप्रति लापर्वाही नभई जिम्मेवार भएको हर्ने चाहन्छन् ।”

मैले एक हातले उसले थमाएका गिफ्टका प्याकेटहरुलाई समाएर अर्को हातले उसलाई स्नेहपूर्वक धाप मार्दै भनें, “तिमीलाई थाहा छ, म पनि तिम्रो आयु सकेसम्म लम्बिएको देख्न चाहन्छु । तिमी बाँचेको हेर्न चाहन्छु ।”

“म बाचा गर्न सक्दिनँ, तर कोशिस पक्कै गर्ने छु ।” अन्ततः लुकासले आफु स्वास्थ्यप्रति जिम्मेवार हुने आश्वासन  दियो ।

उसको आश्वासनसँगै मेरो सिफ्ट पनि सकियो ।

लुकासले दिएको गिफ्टको प्याकेट मेरो छेवैको प्यासेन्जर सिटमा राखेर गाडी स्टार्ट गरेँ । घर फर्किँदा बाटैभरि मेरो टाउकोलाई सय किलोको ढुंगाले थिचिरहेको जस्तो भैरह्यो ।

लुकासको घटनाले दिनभर तनाब भएता पनि उसले मलाई जीवनको परिभाषा बदल्ने एउटा कारण दिएको थियो । आजका दिनसम्म जीवनलाई घाम र जूनझैं आफ्नै गतिमा उदाउने अनि आफ्नै गतिमा अस्ताउने ठानेकी थिएँ । जीवनको आयतनलाई अनन्त देखेकी थिएँ । आँखामा सधैं भोलिको सपना बोकेर हिँडिरहेकी थिएँ ।

लुकासले मलाई भोलिको दासत्वबाट मुक्ति खोज्न सिकायो । उसले रक्सी पिएको वास्तविकता भनेर किन नहोस् पीडा भुलाउन सक्नुपर्छ भन्ने सिकायो । गिफ्ट ल्याइदिएर लिनभन्दा दिन सिकायो । नम्र हुन सिकायो । रीस त्याग्न  सिकायो । समग्रमा मान्छे भनेको केवल समयको प्राकृतिक नियमसँग बाँधिएको एउटा जीवित प्राणी मात्र हो भन्ने बुझायो ।

मैले उसका यिनै कुराहरु सम्झेर बाटैमा आफ्नो चित्त बुझाएँ ।

घर पुगेर नुहाई–धुवाई गरेँ । दिनभरको थकाई पानीले खलक्क पखालिएझैं हलुङ्गो महशुस भयो । भोलिपल्टको सिफ्टमा लुकासलाई फेरि भेट्नै थियो । त्यसैले त्यस रात लुकासले सिकाएका धेरै कुराहरुलाई मनमा लिएर सुतेँ ।

भोलिपल्ट बिहान अस्पताल आउँदै गर्दा भने लुकासलाई डाक्टर जोनसँग सल्लाह गरेरै केही घण्टा स्टेशन जान दिने अनुमति मिलाउनु पर्ला भन्ने लाग्यो । लुकासको स्टेशनमा भेटिने खुशीलाई आफ्नै पहलमा दिन पाउने कल्पिँदा पनि मलाई सन्तोष भयो ।

म त्यही उत्साहकासाथ रातिका सहकर्मीबाट बिरामीको अद्यावधिक विवरण लिन तैयार भएकी थिएँ  ।

‘‘हिजोजस्तो हैरान आज तपाईंलाई हुनेछैन’’ सहकर्मीले विवरण हस्तान्तरणको शुरुवातमै मलाई निश्चिन्त बनाउने प्रयासमा भन्यो –“बेड नम्बर पन्ध्रको बिरामी दुईबजे राति नै म¥यो । डाक्टर जोनको टिमले अघि साढे छ बजे आएर मृत्यु प्रमाणित गरिसक्यो ।”

म सहकर्मीको दिएको विवरण सुनेर लल्याक–लुलुक्क भएँ ।

आफूलाई सम्हाल्दै लुकासको कोठामा पुगेँ । उसको लामो शरीर सेतो प्लास्टिकको ब्यागभित्र बन्द भैसकेको रहेछ । ब्यागको एक कुनाका लुकासको नाम, जन्म मितिसहित झुण्डिरहेको ट्याग शवगृहको ट्रलीमा चढेर वार्डबाट बिदा हुनलाई पर्खिरहेको थियो । मैले लुकासको अनुहारसम्म हेर्ने मौका पाइनँ ।

“गुडबाई लुकास !”

झुण्डिरहेको ट्याग हेरेर मेरो भित्री हृदयबाट केवल दुईशब्द निस्किए । लुकासले दिएको गिफ्टको प्याकेट मैले खोल्न नभ्याउँदै संसार छोडिहाल्नुपर्ने त्यस्तो के हतार थियो होला उसलाई ?

निर्जीब बेड नम्बर पन्ध्रले उत्तरै दिन नसक्ने एउटा प्रश्न मेरो जीवनमा सधैं जोडियो ।