फिल्मकर्मीहरुको माओवादी अध्यक्ष प्रचण्डसँग भलाकुसारी

  

काठमाडौं । कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी दिदै फिल्मकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । 

बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिँदै अध्यक्ष दाहाललाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्डलाई विभिन्न माग राख्दै ज्ञापनपत्र समेत बुझाएका छन् । 

उनीहरुको माग सुनेपछि प्रचण्डले चलचित्र क्षेत्र क्षतविक्षत भएको बताउँदै यसबारे आफू विज्ञ रहेको र मन्त्रीहरुलाई तत्काल यस बिषयमा जानकारी गराउने प्रतिबद्धता जनाएका थिए ।