बन्द भएको नागेंचा नाच सञ्चालन गर्न महानगरको अनुदान

  

काठमाडौँ । आर्थिक अभाव भएर ०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौँ महानगरले अनुदान दिएको छ । अनुदान पाएपछि यस बर्षदेखि नाच प्रदर्शन थालिएको छ । हरेक बर्ष यँया पुन्हीबाट सुरु भएर ३ दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका ९ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ । काठमाडौँ महानगरको वडा ७ चारुमती विहारमा ०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ०७८ असोज ४ गते चारुमती विहारमा प्रदर्शन गरियो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने बाद्य सामाग्री गुठीयारहरुलाई दिएर नाच शुभारम्भ गर्नुभएको थियो । विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो । यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ । नाच आज बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइने छ । 

प्याखँ पुनः सञ्चालन शुरुवात अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, आर्थिक अभाव भएर मौलिक र परम्परागत कुनै पनि सांस्कृतिक चलन नरोकिने बताउनुभयो ।   

‘गुठी गहनाका धार्मिक सांस्कृतिक काम नरोकिउन भनेर हामीले २ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौँ । गुँला बाजा संरक्षण र बाजा गुरुहरुको प्रोत्साहनका लागि राज्यकोतर्फबाट लगानी बढाएका छौँ । यस क्रममा पशुपति क्षेत्रमा पनि गुँला खलः रहेको हाम्रो जानकारी आएपछि यो समूहलाई पनि सहयोग गरेका छौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘गुठीयारहरुसँग समन्वय भएका सबै ठाउँमा हामी पुगेका छौँ । गुठीयारको सहभागिता भएन भने हाम्रो प्रयास अपर्याप्त हुन्छ । त्यसको संरक्षणमा समस्या हुन सक्छ । हामी सम्पदा बनाउँछौँ, जोगाउँछौँ र त्यसलाई जीवन्त बनाउने क्रियाकलापका लागि गुठीयारलाई जिम्मा लगाउँछौँ ।’ 

त्यस क्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले, नागेँचा प्याखँ अक्षय कोष स्थापना गर्न महानगरले सहयोग गर्नुपर्ने बताउनुभयो । अक्षय कोषबाट प्राप्त रकम दिगो हुन्छ । 
यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो । यसका लागि १ लाख रुपैयाँ दिने गथ्र्यो । त्यो रकमले नाचसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न नपुग्ने भएपछि बन्द भएको थियो । नागेँचा प्याखँ संरक्षण समितिका अध्यक्ष जलाद वैद्यले भन्नुभयो, ‘काठमाडौँ महानगरले नाचलाई पुनर्जीवन दियो । यसबाट स्थानीयहरुमा खुशीको सञ्चार प्रवाह भएको छ ।’

शिव पार्वतीको प्रेम कथामा आधारित यो नाचलार्ई किराँतकालीन मानिन्छ । शिव र पार्वतीको प्रेमिल क्रियाकलाप भइरहँदा विचमा पार्वती हराउँछिन् । त्यसपछि शिवले पार्वतीलाई खोज्न थाल्छन् । पार्वती खोज्न सघाउनेलाई आफूसँग भएका गरगहना दिन थाल्छन् । ४५ मिनेटदेखि १ घण्टासम्म देखाइने यो नाचको अन्त्यमा शिव र पार्वतीको भेट हुन्छ । संयोगान्त कथामा नाच समापन हुन्छ । 

यो नाच सिकाउने गुरु चारुमती विहारका शाक्यहरु नै हुनुपर्छ । सिक्नचाहिँ नेवार समुदायको जो भए पनि हुन्छ । नाचलाई नियमित गर्न महानगरले गएको आर्थिक बर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये ६ लाख रुपैयाँ निकासा भइसकेको छ । सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानका अनुसार रोकिएको नाच पुनःसञ्चालन गर्न प्रशिक्षण चलाउनुपर्ने, बाजा, पोशाक, मुकुट र गहना किन्नुपर्ने भएकोले गएको बर्ष धेरै रकम थियो । अहिलेसम्ममा नाच सञ्चालन गर्ने आधार तयार भएको छ । यस बर्षका लागि ५ लाख रुपैयाँ छ ।

यो बर्ष महादेवको भूमिकामा रोनी शाक्य र सुप्लप शाक्य र पार्वतीको भूमिकामा आयुश डंगोल र उमित वैद्य हुनुहुन्छ । नाचका प्रशिक्षक रुपेश शाक्यकाअनुसार यो नाचमा पार्वतीको भूमिकामा पनि बालकहरुलाई सहभागी गराइन्छ । यो बर्ष पार्वतीको भूमिकामा रहनुभएका आयुश ९ बर्षको हुनुहुन्छ । नाचको प्रशिक्षण रुपेशसँगै कृष्ण, सचिन र निरेश शाक्यले गर्नुभएको हो । 

परम्परागत गायन र वाद्य तालमा यो नाच नाचिन्छ । चो ताल, प्रताल र जाति नाचका मुख्य ताल हुन् । यसको गायकीमा खीँ, धा, नायखिँ, ता, छुस्या, भुस्या र छ्वालीमाली बाजा बजाइन्छ । शिवको भूमिकामा नाच्नेले मखुन्डो लगाउँछन् भने पार्वतीको भूमिकामा हुनेले मुकुट लगाउँछन् । शिवको सरीरको माथिल्लो भागमा खुल्ला हुृन्छ । सुरुवाल र कमरमा पेटी लगाउँछन् । जय बागेश्वरीले लगाएकोजस्तो घाँटीबाट दुईतिर झुण्ड्याएर सिक्री लगाउँछन् । पार्वतीले भने माथि चोलो कमरमा पेटी लगाएको हुन्छ । उनको माला भने एकातर्फ मात्र फर्किएको हुन्छ ।