त्रिभुवन विश्वविद्यालय, परीक्षा र हाम्रो शिक्षा प्रणाली

  

कोभिडका कारण रोकिएका परीक्षाहरु अहिले धमाधम संचालन भईरहेका छन । देशको सवैभन्दा ठूलो तथा पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका विभिन्न तह र संकायका परीक्षाहरु भौतिक उपस्थितिमा संचालन भई रहेका छन ।

त्रि.वि.वि. लाई विश्वास गर्ने हो भने उसले नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरुको पूर्ण परिपालना गरेको छ । भौतिक दुरी, मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग मात्र होइन परीक्षा केन्द्रहरु विषाणुरहित समेत वनाइएकोसम्म भन्न त्रि.वि.वि. ले धक मान्दैन होला ।

त्रि वि वि ले विभिन्न सरकारी तथा निजी कलेजहरुमा परीक्षाको केन्द्र तोकेको छ । एउटै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु दुई वा बढी केन्द्रवाट परीक्षा दिइरहेका छन । यो आवश्यक मात्र होइन वाध्यता पनि हो । यहा केन्द्रको कुरा गर्न खोजिएको विषय चाही परीक्षा संचालनका भिन्नताहरुलाई उल्लेख गर्न खोजिएको छ । केही केन्द्रमा परीक्षा कडा भएको तथा केही केन्द्रमा परीक्षाको मर्यादा कायम हुन नसकेको मान्नेहरु पनि प्रशस्तै छन ।

केहि कलेजमा परीक्षा निकै मर्यादित रुपमा भैरहेको पनि देखिन्छ । परीक्षार्थी मात्र होइन परीक्षाको लागि खटिएका निरीक्षकहरुमा समेत सामान्य मर्यादा र अनुशासनको पाटो कमजोर देखिएको छ । यस लेखमा परीक्षाको मर्यादा कायम गर्ने विद्यार्थी, निरीक्षकहरु, केन्द्रको व्यवस्थापन पक्ष एवं त्रि.वि.वि. बाट खटिनुभएका अनुगमनकर्ताहरु प्रति उच्च सम्मान गर्दै वाकी विद्यार्थी, निरीक्षकहरु, केन्द्रको व्यवस्थापन पक्ष एवं त्रि.वि.वि. बाट खटिनुभएका अनुगमनकर्ताहरुले आगामी परीक्षा मर्यादित र अनुशासित वनाउन प्रेरणा मिलोस भन्ने अपेक्षा लिइएको छ ।

स्वास्थ्य मापदण्डः 

कुनै पनि परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्डहरु पालना भएको देखिएन । परीक्षा केन्द्रमा प्रवेश गर्ने मूल ढोका वा भित्र कहि कतै पनि सामान्य स्वास्थ्य शतर्कता अपनाएको पाइएन । केन्द्रमा विद्यार्थीको सिट प्लानिङको जानकारी दिने सूचना एकै स्थानमा मात्र टासिएको कारण आफ्नो भवन तथा कोठा पत्ता लगाउन विद्यार्थीहरुको ठेलमठलले नै स्वास्थ्य मापदण्डको खिल्ली उडाइदिएको थियो । कोठमा प्रवेश गर्ने परीक्षार्थीको लागि स्यानिटाइजरको व्यवस्था गरिएको छैन भने मास्क लगाए नलगाएको अनुगमन समेत भएन । विद्यार्थीहरु पछाडीका वेञ्च तथा कुना तर्फ झुम्मिएर वसेको देखिन्छ ।  

एक वेञ्चमा एकजना वस्न आग्रह सम्म गरिन्छ तर एक वेञ्च र अर्को वेञ्चमा अलग अलग दिशामा वस्न न त निर्देशन दिइन्छ । न परीक्षार्थी नै सजग भएको पाइयो । निजी तथा साना केन्द्रहरुमा तुलनात्मक रुपमा साना बेञ्चहरुमा पनि तीन जनासम्म परीक्षर्थीहरु राखेर परीक्षा संचालन गरेको पाइयो । यस विषयमा केन्द्रका व्यवस्थापकहरुसंग चासो राख्दा क्षमताभन्दा बढी विद्यार्थी पठाएकोे कारण समस्या उत्पन्न भएको वताएका थिए । 

होहल्लाः

परीक्षा शुरु हुंनासाथ विद्यार्थीहरुको खासखुस मात्र होइन परीक्षामा संलग्न कर्मचारीहरुको होहल्ला, निजहरुको मोवाइलको घण्टीहरुले शान्त वातावरणमा जांच दिन विद्यार्थीले पाएको देखिएन । परीक्षा शुरु हुनु अगावै गर्नु पर्ने निर्देशन तथा परीक्षण समेत प्रश्न पत्र दिए पछि गर्ने, त्यो पनि कर्मचारी पिच्छे एक एक छिनमा चर्को चर्को स्वरमा । परीक्षार्थीहरुले चिट सार्ने, कितावका पन्नाहरु च्यातेको दृश्यले परीक्षाको मर्यादालाई गिज्याइरहेको देखिन्थ्यो । विश्वविद्यालयबाट अनुगमनको लागि आउने टोलीको व्यवहार र प्रस्तुति परीक्षाको मर्यादामा भन्दा पनि शक्तिको दम्भमा केन्द्रित भएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

चिटः

परीक्षामा विद्यार्थीले निरीक्षकको आखा छलेर चिट चोर्नखोज्नु नेपालमा सामान्य भैसकेको छ । यो परीक्षामा प्रश्नपत्र वाडेर नसक्दै विद्यार्थीहरु आफूले ल्याएको आवश्यक चिटको छनोट गरी उत्तर पुस्तिकामा सार्न तल्लिन देखिए ।  आपसमा कुराकानी र चीटको आदानप्रदान सामान्य व्यवस्था जस्तो देखियो । निरीक्षकले अनदेखा गर्ने, विद्यार्थीले सार्ने यो एक आपसमा भएको सहमती जस्तो देखियो । कदम कदाचित निरीक्षकले खोसिदिए पनि तत्काल अर्को चीट व्यवस्थापन गर्न विद्यार्थीहरु माहिर देखिए । निरीक्षकहरुसंग केही परीक्षार्थीहरु चीट चोर्न पाउने हक झै प्रतिवादमा उत्रिएको पनि देखिन्थ्यो । 

कोभिड केन्द्र र मिलेमतोको आशंकाः

कोभिड भएका परीक्षार्थिहरुका लागि अलग्गै कक्षा कोठाको व्यवस्था गरिनु परीक्षार्थि तथा अन्य संलग्न कर्मचारीहरुको लागि पनि सुरक्षित हुने भएकोले यो व्यवस्थालाई राम्रो मान्नु पर्दछ । कोभिड भएकै कारण परीक्षा दिनबाट वञ्चित नगरिनु त्रि.वि.वि. को उदाहरणाीय कार्य पनि हो । तर कतिपय केन्द्रमा यसको दुरुपयोग भएका वा हुन सक्ने आशंका गरिएको छ । कोभिड नभएका विद्यार्थिहरुलाई आपसी मिलेमतोमा अलग्गै केन्द्रमा राख्ने र अनुकुल वातावरणको सिर्जना भैरहेको स्वयं परीक्षार्थी तथा केन्द्रका कर्मचारीहरुले अनौपचारिक रुपमा स्वीकार गरे सरह नै लाग्दथ्यो ।

शौचालय चिटै चिटको भण्डारः

परीक्षा संचालन भैरहेको तथा सम्पन्न भैसके पछि शौचालयमा छिर्दा देखिएको अवस्थाले हाम्रो शिक्षा प्रणालीको नाजुक अवस्थाको चित्रण गर्दथ्यो ।  चिट, कपी तथा पुस्तकहरु च्यातिएका, दिशा तथा पिसाव गर्ने स्थानमा यत्रतत्र फ्याकिउको र सोहि माथि शौच गर्नु पर्ने अवस्थाले विद्याका साधन माथि विद्याको मन्दिर अनि विद्याका पूजारीहरुबाट भएको अन्याय शिवाय केहि हुन सक्दैन । 

नियमित र अनुशाशित विद्यार्थी माथिको अपमानः

परीक्षाको मर्यादा कायम नहुंदा तथा अघोषित मिलेमतो जस्तो लाग्ने परीक्षा प्रणालीले नियमित अध्ययन गर्ने जेहेन्दार विद्यार्थी र चिटे विद्यार्थी बीचको भेद कायम हुन सकेको देखिएन । चोर्ने विद्यार्थीको आउने अंक र उसको क्षमता दक्षतावीच के कस्तो तालमेल हुने होला चिन्ताको विषय हो । जेहन्दार विद्यार्थीलाई चिटे विद्यार्थीको प्राप्तांक र कलेजहरुले गर्ने सम्मान देखेर कस्तो अनुभव गर्दछ होला ? के यो विषयमा परक्षिा नियन्त्रण कार्यालयले सोच्नु पर्ने होइन । 

लगनशील नवन्न प्रेरितः

परीक्षामा चीट चोर्न सहजै पाइने भएपछि परीक्षार्थीले वर्षभरी मिहिनेत गरेर किन पढ्ला ? यसले त्रि.वि.वि. वाट उत्पादित जनशक्तिको गुणस्तर कस्तो रहला ? यस विषयमा सरोकारवाला सवै चनाखो हुनु पर्ने देखिन्छ । विद्यमान परीक्षा प्रणाली र व्यवहारले विद्यार्थीहरुमा अध्ययन, लगनशील बन्ने हौसला जगाउन सक्दैन । 

अन्तमा, जेठो विश्व विद्यालय, सवैभन्दा ठूलो विश्व विद्यालय विकृतिमा होइन नैतिकता र मर्यादा अनि गुणस्तरमा हुन सक्नु पर्दछ । गुणस्तरीय शिक्षा पठनपाठनमा मात्र भएर पनि हुंदैन शैक्षिक सत्रका हरेक गतिविधिमा हुनु पर्दछ । विश्वविद्यालयको स्तरमापन प्रमाण पत्रमा कतिजनाले विशिष्ट श्रेणी वा प्रथम श्रेणी प्राप्त गरे भन्ने आधारमा होइन उत्पादित जनशक्तिले राष्ट्र निर्माणमा के कति योगदान दिन सक्यो, अन्य विश्वविद्यालयका विद्यार्थीको तुलनामा कति प्रतिष्पर्धी हुन सके वा कति गुणात्मक देखिए भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । यसतर्फ हाम्रा प्रयासहरु केन्द्रित हुनु पर्दछ । विद्यार्थीको प्रवृत्तिमा नकरात्मकता सिर्जना गर्ने वेथितियुक्त परीक्षा प्रणाली यस वर्षको परीक्षा अन्तिम वन्न सकोस शुभकामना ।

लेखक : त्रिभुवन विश्वविद्यालयका विद्यार्थी हुन् ।