स्पर्शले कसरी मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ? - डा. अरुणा उप्रेती

  

'हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरूले चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका छन्।' आज यो समाचार पढेर मनमा आयो केहि बिचार 'स्पर्श र अंगालो पनि औषधि हो'

आफूले माया र स्नेह गरेको मानिसलाई कोरोनाका बेला अंगालो मार्ने, मुसार्ने, चुम्बन गर्ने कामहरू हुँदै गएका छन् । यसले गर्दा कति मानिसहरू दुःखी छन् । प्रायः माया गर्दा छोइने, मुसार्ने काम पनि एउटा औषधी हो भन्ने कुरा प्रायः हामीले वास्ता नै गर्दैनथ्यौं । तर, कोरोनाको बेला “स्पर्श” नहुँदा हामीलाई न्यास्रो लागेको छ ।

धेरै वर्षअघि बाँदरका बच्चाहरुमा एउटा अनुसन्धान गरियो । जुन अहिलेको दृष्टिकोणले ‘अमानवीय’ मानिन्छ । बाँदरका शिशुहरुलाई उनीहरुका आमाबाट टाढा राखियो, छुन दिइएन । बाँदरका शिशुहरुले आफ्नो आमालाई देख्न सक्थ्यो, सुन्न सक्थ्यो । तर, छुन सक्दैनथ्यो। ती बाँदर शिशुलाई सम्पूर्ण स्वास्थ्य सुविधा, शिशुलाई चाहिने सम्पूर्ण भोजन दिइयो । तर, आमाको छुवाइ र अंगालोबाट वञ्चित गरियो ।

बाँदरले आफ्ना शिशुलाई अँगालोमा बाँधिराख्छन् । जुम्रा हेरिरहन्छन् । कहिले ढाड सुमसुम्याउँछन् । कहिले जिउ कन्याइदिन्छन् । तर, अनुसन्धानमा राखिएका शिशुलाई यो सबै कसैले गरेन । अनि त सम्पूर्ण स्वास्थ्य सुविधा, पोषण हुँदाहुँदै पनि ती शिशु बाँदर ‘सुकेनाश रोग’ लागेर दुब्लाउँदै गए । चिकित्सा शास्त्रको दृष्टिकोणमा उनीहरुलाई “मारासमस” भयो । अर्थात् खिइँंदै गए ।

न्यूयोर्कको बेल्लेभ्यु अस्पतालमा मानिसका बच्चाहरुमा एउटा अर्को अनुसन्धान गरियो । त्यहाँ विरामी भएर राखिएका बच्चाहरुलाई छुने, कुरा गर्ने, हाँस्ने म्वाइँ खाने अँगालो मार्ने गरियो । यो एउटा साधारण कामले त्यहाँका मानव बच्चाहरुको मृत्युदर ५० प्रतिसतमा र्झन पुग्यो । बाँदर शिशुलाई नछोइँदा र मानव शिशुलाई छोएर, हाँसेर, भावनात्मक रुपमा सहज बनाएर कसरी उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिँदो रहेछ भन्ने एउटा अनुसन्धानात्मक उदाहरण हुन् यी । तर, अझै पनि माया, अँगालो, स्नेह एउटा “औषधी” हो भन्ने कुरा हामीहरुले बुझ्न नै बाँकी छ ।

किन होला त शिशुहरुलाई छुँदा, उनीहरुसँग हाँस्दा कुरा गर्दा यति ठूलो सकारात्मक प्रभाव पार्ने ? वैज्ञानिकहरुले यसमा धेरै अनुसन्धान गरेका छन् । स्पर्शले कसरी मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यमा प्रभाव पार्छ भन्ने कुरामा अमेरिकन बालबालिकाका मानसिक रोग विशेषज्ञ डा. ब्रुसले एउटा किताब लेखेका छन् । “एउटा बालक, जसलाई कुकुर झै हुर्काइयो’ शीर्षकको किताबमा उनले आफूकहाँ उपचार गर्न ल्याइएका साना बालकहरुको मानसिक उपचार गर्ने तरिकाको बारेमा लेखेका छन् ।

टम’ नामको एक बालककी आमाको मृत्यु भएपछि, उनका सौतेनी बाबुले काममा जाँदा त टमलाई खाना दिएर कुकुरसँगै खोरमा बाँध्ने गर्दो रहेछ । ‘टम’ ले कुकुरको जस्तै बानी सिकेर मान्छेको भाषा पनि सिकेन । किनभने, बाबुले उससँग कुरा नै गर्दैनथ्यो । दुई वर्षपछि एकदिन जब टम बिरामी भएर अस्पताल लगिए, अनि पो त्यहाँका डाक्टरले थाहा पाए कि टमलाई कसरी हुकाईएको रहेछ । उसलाई सौतेनी बाबुबाट छुटाएर राज्यले आफ्नो संरक्षणमा लिएर अस्पतालमा उपचार गर्न थाल्यो । तर, टमसँग कुकुरको जस्तै बानी भएकाले नर्सहरुलाई टोक्ने, चिथोर्ने र खाना पनि कुकुरले जस्तै गरेर मुख तल गरेर खाने गर्दा रहेछन् ।

उनलाई उपचार गर्न डाक्टरलाई समस्या परेपछि उनीहरुले बाल मानसिक रोग विशेषज्ञ डा. ब्रुसलाई बोलाए । डा. बु्रसले बालकलाई औषधि दिएर होइन कि हातको स्पर्श, माया, मुस्कान दिएर उपचार गरे । झण्डै ६ महिनापछि ‘टम’ को बानी व्यवहारमा विस्तारै परिवर्तन आयो । अनुहारमा मुस्कान पनि आउन थाल्यो । र, डा. ब्रुससँग ऊ अँगालो मारेर हाँस्न पनि थाल्यो ।

झण्डै एक वर्षको उपचारपछि ‘टम’ लाई एउटा जोडीले कानूनीरुपमा धर्मपुत्र पाल्न लगे । डा. ब्रुसले यो कथाको अन्तिम लाइनमा लेखेका छन्, ‘मैले केही अघि धन्यवादसहितको टमको हाँसेको फोटो राखेर पठाएको चिठी पाएँ, चिठीमा लेखिएको थियो ‘धन्यवाद डा. ब्रुस, तपाईंको अँगालो र स्पर्शका लागि ।’