सामुदायिक विद्यालय हुनु त यस्तो पो !

  

नरेन्द्रसिंह कार्की । पछिल्लो समय  खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ । 

जिल्लाका अन्य पालिकाबाट विद्यालयमा  पढ्न आउने विद्यार्थी घट्नाको साटो झन बढेको बढ्यै छ । सुदूपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत सो विद्यालयलाई छनोट गरेको छ । 

सदरमुकाम खलङ्गामै दर्जनांै संस्थागत तथा सामुदायिक विद्यालय भए पनि नमूना माविमा भर्ना गर्नसके अभिभावक पनि खुसी हुन्छन् । सामुदायिक विद्यालय भए पनि विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ । 

विद्यालयले २०७४ सालदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको हो । संस्थागत विद्यालयकै जस्तै विद्यार्थी आकर्षण गर्ने टाइ सहितको पोशाक र शैक्षिक विकास गर्ने अन्य गतिविधि यो विद्यालयले गर्नेगर्छ । अङ्ग्रेजी माध्यमबाटै पढाइ सुरु गरेपछि विद्यार्थीको भीड नै लागेको छ । 

चालु शैक्षिक सत्रमा विद्यालयमा आधारभूत तहमा २५८ , कक्षा ६ देखि कक्षा ८ सम्म ६१७ , कक्षा ९ देखि कक्षा १० सम्म ५९३  र कक्षा ११ र १२ मा ७८१  भर्ना भएका छन् । यसैगरी विद्यालयले २०७५ बाट सुरुआत गरेको डिप्लोमा इन सिभिल इञ्जिनीयरिङतर्फ १०४ गरी दुई हजार ४४७ विद्यार्थी भर्ना भइसकेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो ।

 अझै पोष्ट डिप्लोमा अन्तर्गत भर्ना प्रक्रिया चलिरहेको छ । विद्यार्थीको चाप बढ्दै गएको छ । उहाँले  भन्नुभयो, “सरकारी दरबन्दी विद्यालयमा न्यून छ । हामीसँग १८ शिक्षक र सात कर्मचारी मात्रै सरकारी दरबन्दीका छन् । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएपछि हरेक कक्षामा सेक्सन बनाएर चलाउनुपरेको छ । ६८ शिक्षक कार्यरत छन् । ” विद्यालयका  अनुसार कक्षा ११ र १२ मा सात ÷सात सेक्सनमा पढाइ सुरु गरिएको छ ।

कक्षा १० मा पाँच, कक्षा ९ मा ६, कक्षा ८ मा चार, कक्ष ७ मा ४ र कक्षा ६ मा ३ सेक्सन छन् । प्रअ जोशीले भन्नुभयो “हाम्रो शिक्षक अनुपातले धान्ने जनशक्तिले ५०० भन्दा बढी विद्यार्थी धान्न सकिने अवस्था छैन । ” 

विद्यालयमा विज्ञान, वाणिज्य र शिक्षा सङ्कायमा पढाइ भइरहेको छ । सरकारले २०६२ सालमा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो । जिल्लाकै उत्कृष्ट शिक्षण सिकाइ भएको तथा भौतिक पूर्वाधार व्यवस्थापन, शैक्षिक व्यवस्थापनमा विद्यालय अब्बल बन्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त महेन्द्र नमूना मावि जिल्लाकाभरीका अभिभावकको भरोसा बनेको जनाउँदै गुणस्तर निरन्तरता राख्नुपर्ने सुझाव दिनुहुन्छ । 

सो विद्यालयमा ९ वटै स्थानीय तहका विद्यार्थी पढ्छन्, उहाँले भन्नुभयो, “अहिले विद्यालयको उचाइ जुनगतिमा पुगेको छ, त्यो निरन्तरता राख्न सक्नुपर्छ । ”विद्यालयका प्रअ जोशीले विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर अभिभावकसँग सुझाव सल्लाहदेखि अध्यापनको शैलीमा विशेष ध्यान दिएको जानकारीदिनुभयो । 

उहाँले भन्नुभयो, “शिक्षकलाई पनि अपडेट राख्न सबै शिक्षकलाई ल्यापट दिने तयारी गरेका छौं । अभिभावकलगायत सबै क्षेत्रको सहयोग पाएकै कारण विद्यालयले क्षमता भन्दाबढी विद्यार्थीको व्यवस्थापन गर्न सकेका हांै” उहाँले भन्नुभयो,“विद्यालय राम्रंो बनाउनुपर्छ भनेर अभिभावक र जनप्रतिनिधिको पनि साथ छ ।” विद्यालयले चालू आर्थिक वर्षबाट भारतीय राजदूतावासका सहयोगमा विद्यालय बस सञ्चालनमा ल्याएको प्रअजोशीले जानकारी दिनुभयो । (रासस)