के हो ब्रेन हेमोरेज र कसरी जोगिने ?

  

सामान्यता मानिसको मष्तिस्कमा हरेक पल पर्याप्तमात्रामा रगत र अक्सिजन सञ्चार भइरहेको हुन्छ । कुनै कारणबस मष्तिस्कमा पर्याप्तमात्रामा अक्सिजन नपुगेर वा दिमागको नशा बन्द भएर अथवा फुटेर रक्त सञ्चार नहुँदा मानिसलाई मष्तिस्क घात हुने गर्दछ । यसरी दिमागको नशा फुटेर वा बन्द भएर दिमागको रगत जम्नुलाई ब्रेन हेमोरेज अथवा मष्तिस्क रक्तस्राव भन्ने गरिन्छ । मष्तिस्क रक्तस्राव दुई प्रकारका हुन्छन । 

१. बाहिरी चोटपटक लागेर हुने रक्तस्राव (ट्रमाटिक हेमोरेज) 

यो कुनै पनि समयमा मानिसलाई टाउकोमा चोटपटक लागि हुने रक्तस्राव हो । सामान्यत यस्तो रक्तस्राव दुर्घटना, चोटपटक, शारीरिक हिंसा र लडेको अवस्थामा दिमागभित्र दखल पुगी हुने देखिने गर्दछ । 

२. बाहिरी चोट नलागेर अचानक दिमागमा हुने रक्तस्राव 

यस्तो अवस्थामा मष्तिस्कभित्रको सानो वा ठूलो रक्तनली फुटी मष्तिस्कभित्र रगत जम्ने गदर्छ ।  मस्तिष्क रक्तस्रावलाई विभिन्न प्रकारका हुन्छ । 

    इन्ट्रासोब्रिल हेमेरोज—मष्तिस्क भित्र रक्तस्राव हुने प्रकार । 

    सबआरेकनाइड हेमेरोज—मष्तिस्कलाई सुरक्षित गर्ने झिल्लीको बिचमा रक्तस्राव हुनु । 

    इपियुप्ल हेमोरेज—टाउको हडडी र मष्तिस्कबीचको भागमा रक्तस्राव हुनु । 

    सबड्युरल हेमेरोज—मष्तिस्क र झिल्लीको बीचमा हुने रक्तस्राव । 

इन्ट्रासरेब्रन हेमोरेज (मस्तिष्क रक्तस्राव) 

मष्तिस्कभित्र हुने यो प्रकारको रक्तस्राव एकदमै जटिल प्रकारको रक्तस्रावमध्ये पर्दछ । विश्वव्यापी रूपमा हेर्ने हो भने मानिसको मृत्यु र विभिन्न जटिल समस्या उत्पन्न गराउने प्रकारको रक्तस्रावमा यो पर्दछ । यसको मुख्य कारक तत्व भनेको उच्च रक्तचाप हो भने अरू कारक तत्व धुम्रपान, मध्यपान, रगत पातलो बनाउने औषधिको सेवन, दुर्घटना, टाउकोमा चोटपटक लागि रक्तनली फुट्ने समस्या (एनयुरिजम), लागूपदार्थ सेवन जस्तै कोकेन, आदि पर्दछ । 

सबै मष्तिस्क घातमध्ये १०– २० प्रतिशत इन्ट्रासेरेब्रल हेमोरेज पर्दर्छ भने रक्तस्राव भएको

दिमागको भाग अनुसार मृत्युदर ५० देखि ६० प्रतिशत सम्म भएको पाइन्छ । करिब ५० प्रतिशत मानिसको मृत्यु रक्तस्राव भएको दोस्रो दिन नै भएको पाइन्छ । विभिन्न अनुसन्धान अनुसार बढ्दो उमेर र महिलाभन्दा पुरुषमा यस प्रकारको रक्तस्राव बढीमात्रामा देखिएको छ । अझै हाम्रो जस्तो गरिब तथा विकासोन्मुख साथै कम साक्षरता भएको देशमा उच्च रक्तचापका कारणले समयमै उपचारको अभाव वा सही परामर्शको कमिले यो रोगको जटिलता बढ्दै गरेको पाइन्छ । 

मस्तिष्क रक्तस्रावको लक्षणहरू :

मस्तिष्क रक्तस्रावको लक्ष्यण मष्तिस्कको दखल परेको भाग र रक्तस्रावको परिमाणमा भर पर्ने गर्दछ । सामान्यत मस्तिष्क रक्तस्रावको बिरामीमा यी लक्षणहरू देखिने गर्दछः 

    बेहोस हुने 

    टाउको दुख्ने 

    बान्ता लाग्ने 

    छारे देखिने 

    शरीरको भाग नचल्ने 

    निल्न समस्या हुने 

    आँखा देखाइमा समस्या पर्ने 

मष्तिस्कघात र उच्चरक्तचाप 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको एक तिहाइ मृत्युदर उच्च रक्तचापका कारणले हुने गरेको छ । उच्च रक्तचाप नसर्ने रोगका कारण मृत्युको कारक तत्व पनि रहेको पाइन्छ । कतिपय अवस्थामा कुनै पनि लक्षण नै नदेखाई भित्रभित्रै मष्तिस्क, मृगौला र शरीरका विभिन्न रक्तनलीहरूमा असर गरेर अचानक मृत्युको मुखमा पुर्‍याउने भएकाले उच्च रक्तचापलाई अदृश्य हत्यारा (साइलेन्ट किलर) पनि भन्ने गरिन्छ । सामान्यत सुरुको  चरणमा बिरामीहरूमा यसको लक्षण देखिँदैन र त्यसैले प्रायःजसो उपचारमा ढिलाइ हुन्छ वा उपचार नै गरिँदैन । अन्ततः यसले गम्भीर जटिलता निमत्याउँछ । 

विभिन्न अनुसन्धानका आधारमा मष्तिस्कघातको ७४ प्रतिशत, हृदयघातको ५० प्रतिशत र मृगौला खराबीको ९० प्रतिशतको कारण उच्चरक्तचाप पाएको छ । मष्तिस्क घातको मुख्यकारण रहेको उच्च रक्तचापले बिरामीलाई विभिन्न समस्या देखिएर अचानक हात खुट्टा चलाउन नसक्ने अवस्था, पक्षघात (प्यारालाइसिस) हुने वा अकास्मात मृत्यु हुन सक्दछ । 

यतिमात्र होइन प्यारालाइसिस भई बिरामी जीवनभर अशक्त हुने, शारीरिक अपांगग हुने, अशक्तताका कारण काम गर्न नसक्ने हुनाले अप्रत्यक्ष रूपमा आर्थिक नोक्सानी हुने, बौद्घिक क्षमतामा ह्रास आउने, मानासिक तनाव र समस्या उत्पन्न हुनेलगायत जोखिम बढेको पाइन्छ । उच्च रक्तचाप नियन्त्रण तथा जीवनशैली परिवर्तनले पनि मष्तिस्क घात हुने सम्भावना ५० प्रतिशतले कम हुने पाएको छ । 

मस्तिष्क रक्तस्राव कसरी पत्ता लाग्दछ 

मस्तिष्क रक्तस्राव भएका बिरामीहरूको लक्षण देखिएपछि र सिटी–स्क्यानद्वारा यसको विस्तृत पहिचान गर्न सकिन्छ । सिटी–स्क्यानबाट रगत जमेको मात्रा र भाग पत्ता लगाई त्यसअनुरूप उपचार गरिन्छ । सामान्यता ३०मि.लि. भन्दा माथि रगत जमेको खण्डमा शल्यक्रिया पद्धतिबाट रगत निकालिने छ भने ३० मि.लि.भन्दा कम रगत जमेको अवस्थामा शल्यक्रियाको जरुरी नपर्ने हुनसक्छ । यसका साथै रक्तस्रावको कारण पत्ता लगाउन एम.आर.आई तथा एन्जियो ग्राफी गरिन्छ । साथै यसको कारण पत्ता लगाउन रगतको जाच गरिन्छ । 

उच्च रक्तचाप साथै यसको असरवाट बाच्ने उपायहरू 

३० वर्ष वा सो भन्दा माथिको उमेर समूहको मानिसले कम्तीमा ६ महिनामा एकपटक आफ्नो  रक्तचापको जाँच अनिवार्य गर्दा भविष्यमा आउने भवितव्यबाट जोगिन सकिन्छ वा रक्तचाप भइसकेकाले समय–समयमा आफ्नो रक्तचाप जाच्ने र चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ । 

उच्च रक्तचाप भएका व्यक्तिले स्वास्थ्यकर्मीले भने बमोजिम नछुटाइकन औषधि सेवन गर्नुपर्छ । औषधि नखाएमा, स्वास्थ्यकर्मीको सल्लाहविरुद्ध बीचैमा छोडेमा वा उच्च रक्तचापको बिरामीले रक्तचाप नियन्त्रणमा आएको जस्तो लागेर आफैंले औषधि थपघट गरेमा रक्तचापको सन्तुलन विग्रिएर (रिबाउण्ड हाइपर्टेन्सन) मष्तिस्कघात, अन्य प्राण घातक रोग साथै आकस्मात मृत्यु हुनसमेत सक्दछ । जीवन शैली परिवर्तनपछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ । 

- डा. वसन्त पन्त वरिष्ठ न्यूरोलोजिष्ट हुनुहुन्छ।