प्रेम अदालत

  

"दुलहीका बाबुआमा आउनुपर्‍यो जग्गेमा ।" पुरोहितको आवाजले सम्झनाको तरङ्ग टुट्यो नर्मदाको ।

"बाबुलाई बोलाउनुपर्‍यो।" पुरोहितले फेरि भने । ऊ दुलही नजिक पुगिसकेकी थिई ।

दुलहीले पारदर्शी घुम्टोबाट आमालाई पुलुक्क हेरी- न आशा थियो न त निराशा । भनी- 'गुरु, काम अगि बढाउनुहोस्, बाबा आइसिन्न । जरुरी काम पर्‍यो रे ।'

पुरोहितले नर्मदालाई हेरे अनि दुलहीको भनाइलाई निर्देशन मानी विधि र प्रक्रिया सुरु गरे ।

अदालती कागजले उसका सबै सम्बन्ध टुटिसकेका थिए तर छोराछोरीको चाहनाका अगाडि ऊ कमजोर भई । टेलिफोनबाटै निम्ता गरी । जिम्मेवारी निर्वाह गर्न अनुरोध गरी । आश्वासन पाई तर साक्षात्कार हुन सकेन ।

ऊसँग भिन्न भएको पन्ध्र वर्षपछिको यो अवसर । एउटै खाल्डोमा भएर पनि भेट भएको थिएन । न उसले भेट्ने प्रयास गरी, न त त्यस्तो संयोग नै मिल्यो । छोराछोरी ठूला भएपछि आफै बाबालाई फोन गर्थे, भेट्थे तर उसले न भेटघाटलाई बन्देज लगाउन खोजी न त सम्बन्ध विस्तार गर्न । लामो समयसम्म फ्रिज भएको उसको मन आज भने पग्लिँदै थियो ।

अत्यासलाग्दो विस्मातपछि मन फुरुङ्ग पारी- "हो, लामो प्रयास र धैर्यतापछिको यो उपलब्धिले साँच्चै जीवनमा ठूलो अर्थ राख्छ । यो खुसी म तिमीसँग बाँड्न चाहन्छु..." उसको कल्पना कल्पनामै सीमित रह्यो ।

"उसले दिएको पीडामा आहत बनेको मन किन उसैको साथ खोजिरहेछरु के म फेरि सहकार्य खोज्दै छु । ऊसँग नबाँडिएको खुसीले मेरा लागि अर्थ राख्छ र ? बाबुआमा दुवैको भूमिकामा खरो उत्रिएकी छु आज म । सीमान्त आनन्द तर प्राप्तिमा सन्तुष्टि होइन, सन्देह छ तिम्रो साथको...

साँच्चै आज छोरीले तिम्रो उपस्थिति खोजेकी छ । आएको भए पनि हुन्थ्यो नि ।" मनमनै रिसाई अनि सम्झी त्यो रात- त्यति बेला पनि उसले छोराछोरीको ख्याल राखेका थियो र ?

‘सङ्घर्ष त रोजेकै हो । शून्यतामा शब्दहरू खोजिरहेछु । भुइँचालोले गर्ल्याम्म लडाए जस्तो गरी सौदाबाजी तगारो बनेको छ । अबको एउटै विकल्प- परिस्थितिजन्य चुनौतीको सामना ।’

जीवनविज्ञानका हरेक सिद्धान्त खोजी र परिभाषा केलाई उसले, सही वा सत्यको नजिक पुग्न कठिन भयो । जीवनमा दुई चिज महत्त्वपूर्ण थिए- सुविधा र खुसी । भौतिक सुखसुविधाका लागि कर्म गरी । सम्पत्तिले सुविधा दियो तर खुसी दिएन । सूक्ष्म शरीरले मनको सुख खोज्यो । सायद त्यो मिलेन, चित्त दुखायो कता हो कता ।

भित्तामा झुन्ड्याएको फ्रेममा ध्यानदृष्टिले हेरी । दशकपछि पनि त्यो फ्रेम जस्ताको तस्तै छ ।

लामो समयसम्म हेरी- अनुहार हेरेर फलादेश गर्नेजसरी । स्वर्गेवास भएका आफन्तको आत्माको चिर शान्तिको कामना गर्ने ढङ्गले । अनि कही चिनेचिने देखेदेखे जस्तो गरी ।

परिणाम र पहिचानको संयोजन विन्दु कतै फेला परेन । आज निर्णयमा पुग्नै पर्छ तर न परिणामको तौल भारी छ, न त पहिचानको ।

"मेरो चाहना, मेरो पहिचान र मेरो आस्थाको धरोहर कसरी भत्किन सक्छ ?"

"तस्बिरमा खोट छैन । निश्चछल छ अधर । उफ्... कहाँ लाग्यो धमिरा फ्रेममा ?"

"सबैभन्दा स्तरीय, महँगो अनि बेस्सरी मन परेको फ्रेममा धमिरा ?" रोजाइको कमजोरी र भोगाइको पीडा एकसाथ मस्तिष्कमा उत्रियो ।

साँच्चै आज खिन्न थिई ऊ- "कम्तीमा आजको दिन मात्रै केही समय दिएको भए हुन्थ्यो ।"

ब्यागमा थियो ल्यापटप तर खोलेर झिक्न मन लागेन । टी–टेबलकै ल्यापटप खोली । इन्टरनेटबाट केही कलेक्सन हेरेर लेटेस्ट बुटिक डिजाइन गर्नु थियो अधबैँसे युवतीका लागि । आफ्नै ल्यापटप किन चाहियो ? काम भए पुग्यो ।

फेस बुक खुलै रहेछ । कुराकानीकै क्रम थियो । हेर्दै गई, पढ्दै गई, बुझ्दै गई । फेयरिस्ताको खात...

"काली कता गायब ?"

"छैन ।"

"अब त तेरो बानी लागिसक्यो । अफिसबाहिरको गेटमा निस्की, म आइरन्छु ।"

"आज त सपिङ जानुपर्छ है । मलाई सिजनल डे«स किन्नु छ ।"

"ओके, जेजे मन लाग्छ किन्नु ।"

...अनगन्ती माग अनि पूरा गर्ने प्रतिबद्धता ।

"पारु कता छौ ? भोलि त तिम्रो बर्थ डे हगि ? भन म के दिउँ ?"

"मैले मागेको दिन सक्नु हुन्छ ?"

"भनिहेर न, बाइक किन्दिउँ ?"

"हजुरको मर्जी ।"

"डियर, आज त अति भयो । प्लिज नाइट स्टेका लागि जाऊँ न कतै ।"

"मैले सबै मिलाइसकेँ "विदेशीलाई दुई दिन बाहिर लैजानु छु भनेको छु । तिमी सबै रेडी गर । अनि छ नि, त्यस दिनको पिक्चर हेर त कति सेक्सी तिमी..."

(आपत्तिजनक तस्बिर र भिडियो ।)

एकपछि अर्को- च्याट टक निकै तिखा थिएु दृश्य भयानक । मुटु नराम्ररी बाउँडियो । मष्तिस्क खलबल्यायो । हृदय छियाछिया भयो । ल्यापटप झ्याप्प बन्द गरी । अरू सबुत आवश्यकै रहेन । आवश्यकता थियो त केवल हिम्मत, सासह र धैर्यको । अहिले पनि ऊप्रतिको आस्था र विश्वास धरमराएको थिएन । लामो श्वास लिएर आँखा चिम्म गरी अनि पल्टी नजिकैको टु–पिस सोफामा ।

नरेशले आफू अनि परिवारलाई कम समय दिएको झन्डै दुई वर्ष भइसकेको थियो । अगिल्लो दिन विदेशी क्लाइन्टसँग ठूलो डिल थियो । यो उसका लागि निकै ठूलो अफर हो । सँगै जाने प्रस्ताव गरी तर नरेशले समय दिएन । नरेश अर्थात् उसको श्रीमान् । नर्मदालाई शङ्का थियो कताकता तर शङ्काकै आधारस्तम्भ कमजोर । त्यसैले अहिलेसम्म चुप थिई । सोच्थी- कामको व्यवस्तताले होला । स्वनिर्भर बनोस् भन्ने पनि होला । धनसम्पत्ति, सुखसयल १ भौतिक दुःख उसले कहिल्यै भोगिनँ अनि मनको सुख प्राप्ति पनि भएन ।

"पेसा र समयको व्यवस्थापनमा मैले गरेको समझदारीलाई कमजोरी ठान्यौ । पेसागत विद्वता र सचेत बन्ने मेरो कोसिसमा टेकेर सिकार खेल्यौ । आत्मनिर्भर बनेँ, स्वाभिमान जोगाएँ । पत्नी भएकै नाताले तिमीलाई कुनै अङ्कुश र जोरजुलुम गरिनँ । यी सबले मेरो जिन्दगीको व्यापारमा नोक्सान पुर्‍याए । आफ्नै उत्पादन कमसल, ग्राहक आएनन् । बिच्चिए । छिमेकीकहाँ गए । व्यर्थको टाउको दुखाइ । अब मेरो सम्पत्ति मात्र मेरो रहेन । धेरैले त्यसमा हिस्सा जमाइसकेछन् । लगभग सार्वजनिक बनेको सामानले मेरो जिन्दगीको व्यापारको स्तरोन्नति गर्छ र ?"

आधी रातसम्मको मन्थनपछि ऊ निष्कर्षमा पुगी । साथीहरूबाट उसले यस्तै घटनापछिका नतिजा सुनेकी थिई । भनेकी पनि थिई- फेसबुकको कुराकानी हेरेर पनि झगडा गर्छन् त रु अझ सम्बन्ध विच्छेदसम्म १ "ओ माई गडु त्यस्तो पनि हुन्छ १ माया खोसिने र साझेदारीमा परिणत हुने भयमिश्रित आशङ्काको बिजारोपण सायद त्यति बेला नै भएको हुनुपर्छ उसमा । आज त सप्रमाण फेला पारी ।

खोट मैमा थियो, रोजाइ गलत । जति नै दक्ष र सम्पन्न भए पनि के भयो ? कामवासनाको कमजोरीमा तिम्रो विद्वता र सम्पन्नतामा मखिया लागेछ । बिग्रिएको बिउ कसरी अङ्कुरण हुन्छ र भण्डारण गर्न सक्छु ? 'राजनीति सम्भावनाको खेल' भन्ने गर्थे नेताहरू तर यहाँ त हरसम्बन्ध घाटानाफाको सम्भावनै सम्भावनाको खेल रहेछ, जहाँ स्नेह र भावना निमोठिएको पत्तै हुँदैन । सत्ताको चलखेल जस्तै समय समयमा सम्बन्धको निकटताले पनि बाजी मार्ने र पल्टा खाने गर्दो रहेछ । आमनागरिकले नबुझेको सत्ताको पल्टाबाजी जस्तै यो निरीह जिन्दगीले पनि सम्बन्धका परिवर्तित रङहरूलाई नादान बनी हेरिरहँदो रहेछ । धनी बाबुका बिग्रेका छोरी । उद्योगी, व्यवसायी नवकिशोरी...

सबै वर्गसँग स्तरअनुसारका कुराकानी । नवयुवती र नवयुवकले गर्ने र सोच्ने सबै शब्द र चाहना व्यक्त थिए फेसबुक च्याट टकमा । सम्बन्धको उत्तरदायित्व र इमानदारीका हरबुझाइ स्खलित हुँदै गए । नरेशप्रतिको उसको बुझाइ अब कमजोरीको रूपमा ऊमाथि नै भारी पर्‍यो ।

ल्याप टप बन्द गरी ।

कठोर निर्णयसँगै सङ्घर्षशील समयको कल्पना गरी- महिला भान्सामा..., सन्तानको भविश्य..., पुरुष...

मस्त निद्रामा रहेका छोराछोरीप्रति एक दृष्टि फ्याँकी । सायद सोची- तिमीहरू मेरा कमजोरी होइन, सम्पत्ति हौ । दुई भिन्न पलङमा निदाएका छोराछोरीलाई एउटैमा सारी अनि गम्लङ्ग अँगालो हाली ।

त्यति नै बेला मोबाइलमा म्यासेज आयो । मध्यरातको १२ बज्न चार मिनेट बाँकी थियो- 'सरी डियर, आज म घर आउन सकिनँ । विदेशीलाई छोड्न मिलेन ।'

उदाउँदो सूर्यसँगै ऊ नरेशसँग पनि भिन्न भई । कठोर निर्णयपछिको सङ्घर्षशील समय आजको यथार्थ हो उसको ।

"साह्रै सुखसयलमा राखी छोराछोरीलाई । बाबु भएर पनि के गर्‍यो र त्यसले रु कन्यादानमा त आएन । उसकी पनि छोरी नै हो ।"

"हैन यो कात्तिक मास किन बिहे गरेको रु एक्ली आमाले पालेको, बढेकी छोरी । त्यसै हतार गरेका पक्कै छैनन् ।"

"कलकलाउँदो समयमा लोग्ने छोडेर बसेकी आमा, खै ? मलाई त शङ्कै लाग्छ- कस्ती आमा कि कस्ती छोरी ?" निम्तालुका खासखुस नचाहेरै सुनी ।

खपिसक्नु भएन, सास थामेर भित्र पसी । आँखाबाट बरबरी झर्न थाले आँसुका ढिका । ढोका थुनेर खुब रोई । "कात्तिकमा बिहे गर्नु हुन्नु भन्दा उसले आफ्नो प्रेम गुमाएकी थिई । "प्रेमिल साथ र काखको अभाव छोरीमा देख्नु नपरोस्" भन्ने कामना छ उसको । ऊ सधैँ सम्झिरहन्छे जीवनको पूर्वघटना ।

"परिवारले कात्तिकमा बिहे गर्न दिएन । भागेर बिहे गर्न आँट भएन । सौरभ उच्च शिक्षाका लागि विदेश गयो । पारिवारिक दवावकै कारण वर्षदिनपछि उसको बिहे नरेशसँग भयो..."

बाहिर छोरीको बिहेको रौनक । ऊ कोठाभित्र आन्तरिक तरङ्गमा हेलिएकी ।

"सब कुरा छ मसँग तर प्रेम छैन ।" छातीमा मुड्की बजारी । घरै उचाल्ने गरी रुन मन लाग्यो तर रुने समय थिएन । कस्तो विडम्बना ! हाम्रो समाज न उन्मत्त हाँसो हेर्न सक्छ न त सीमान्त रुवाइ । चेन्जिङ रुममा छिरी, ढोका थुनी र सबै गहना फुकाली । जरीजडित महँगो सारी फुकाएर तुरुन्तै अर्को सारी लगाई । शृङ्गार गरी, सेल्फी स्टिकमा क्यामेराको पोज मिलाई- क्लिक । सारी उही थियो । उसका निधारमा धर्सा देखिन थालेको निकै भइसक्यो । कपुर राखी पत्रिकामा बेरेर टिनको बाकसमा राखेको सारीले पनि २८ वसन्त पार गरिसकेको थियो तर उस्तै । न कतै चाहुरिएको थियो न त कतै खुम्चिएको ।

"तिमीले उबेला रिल घुमाएर खिचेको फोटो जस्तै छ जीवन, जस्ताको तस्तै । अब त तिमीले पनि आवश्यकता चिन्नेछौ ।" भित्रभित्रै खुसीले पुकलित भई ऊ ।

"हजुरलाई पनि हाजिर हुन आउने म्याद तामेली पठाउँ ?" फोटोसहितको स्टाटस अपलोड गरी ।

कुनै बेला फेसबुकले पारिवारिक सम्बन्ध बिग्रियो । आज ऊ फेरि त्यही फेसबुकबाट पहिलो प्रेम खोज्दै छे । पुरानो प्रेमी ।

"समय, परिस्थिति र बाध्यताबीच मन किन यति साह्रै बेचैन भएको ? सायद त्यसैले यो मन हो ।" आफैले आफैलाई उत्तर दिई । धैर्य गर्ने क्षमता पटक्कै छैन । उडिरहन्छ मन कताकता । बादलभित्र पसेर कुतकुती लाउँछ ।

"भन, कुन अदालत हाजिर हुँ ।" तुरुन्तै इनबक्समा कमेन्ट आयो ।

"प्रेम अदालत !"

"आरोप ?" संक्षिप्त प्रश्नमा काउकुती लाउने जिज्ञासा !

"धोका ।"

"ओ, केको मुद्दा, अनि केको सजायँ ?"

"भोको राख्न पाइन्छ ?"

"कारबाही नि ?"

"बिहे ।"

"यो उमेरमा ?" उसले दर्जन स्माइलीसाथ जबाफ दियो ।

"मायाको मुद्दा, प्रेम अदालतमा ! उमेरको हदबन्दी लाग्दैन यहाँ ।" उसले पनि तुरुन्तै जबाफ फर्काई ।

"हाजिरी ?"

"आजै ।"

"सजायँ कार्यान्वयनको म्याद ?"

"अहिले नै ।"

ऊ तुरुन्तै दुलही बनी । मण्डपमा सात फेरा लिएर बिहे गरे उनीहरूले । कल्पनाको संसार निकै विशाल थियो- "हनीमुन गोवामा !"

"दुलही अन्माउने बेला भयो । सगुन ठीक पार्नु !" कसैले ढोका ढकढकायो, उसको कल्पनाको संसार ढल्यो गर्ल्यामगुर्लुम ! जसका लागि स्टाटस राखिएको थियो, उसको पत्तो थिएन ।

तुरुन्तै लुगा फेरेर निर्देशन अनुसार बाहिर निस्की । उसको पूरै ध्यान हातको मोबाइलमा थियो ।

सँघारबाट छोरीलाई सगुन दिएर बिदा मात्र गरेकी थिई । ट्वाङ्ङ म्यासेज आयो इनबक्समा ।

"सरी डियर ! हाजिर हुन असमर्थ छु । प्रेम अदालतको अस्तित्व निमिट्यान्न पार्ने निर्णय तिम्रै थियो ।"