पोहोर बुवालाई दागबत्ती, यसपालि आमालाई

  

राजविराज । गत वर्ष कात्तिक २१ गते अन्नपूर्ण पोस्ट्ले प्रथम पृष्ठमा एउटा मार्मिक दुखान्त समाचार छापेको थियो, ‘दागबत्तीले मनै पोल्यो।’ सप्तरी राजविराज–२ का २ वर्षीय दिव्यंश साफीले काकाको काखमा बसेर बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका थिए। 

गएको सोमबार घरमा बुवा राजन साफीको वार्षिक श्राद्ध चलिरहेको थियो। आमा रुबी साफीको अचानक शंकास्पद मृत्यु भयो। ३ वर्षीय दिव्यंशले उही घाटमा पुगेर हजुरबुवाको काखमा बसी आमालाई पनि बिदा गरे। 

यस्तो कारुणिक दुखान्त अरू कसैलाई नहोस्
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदी किनारमा सोमबार मध्यरात चकमन्न अन्धकार छ। हजुरबुवाको काखमा लुपुक्क परेर बसेका दिव्यंश मलामीहरूको गतिविधि नियालिरहेका छन्। 

शास्त्रअनुसार १६ संस्कारमध्ये अन्तिम संस्कारको तयारी भइरहेको छ। श्मशान घाटमा दाउराको चाङ लगाएर मलामीहरूले चिता बनाए। परिवारका सदस्यबाट चिता बनाउने जमिन किन्ने काम भयो। परिवारका सदस्यहरूले अर्थीबाट डोरी फुकाएर शवलाई चितामा सुताए। खरले छोपेर शवका कपडाहरू हटाइयो। मृतकका एक आफन्तले पाँचवटा कौडी र दाम राखे। मृतकलाई स्वर्गमा समेत शीतलता प्राप्त होस् भनेर मुखमा चन्दनको टुक्रा राखियो।

दिव्यंशलाई यो सबै के भइरहेको छ भन्ने थाहा छैन। एक वर्षकै अवधिमा बुवा र आमाको निधनपछि टुहुरो भएका उनी घुरेर हेरिरहेका छन्। परिवारका सदस्य र मावली घरका आफन्तहरूले उनलाई सहारा दिने प्रयास गरिरहेका छन्। दिव्यंश भने आमाको साथ खोजिरहेका छन्। ‘ममी उठनुस् न।।’ भनेर उठाउने असफल प्रयास गरिरहेका छन्।

राजविराज–२ स्थित घरमा ७ वर्षीया छोरी दीक्षा आमालाई कहाँ लगेको भनेर खोजिरहेकी छिन्। यता श्मशान घाटमा ३ वर्षीय दिव्यंश आमालाई उठाउन खोज्दैछन्। चिता जलाउनु अघि नै अबोध बालकको निर्दोषपन हेरेर मलामी जानेहरूको मन भतभती पोलेको हनुमाननगर कंकालिनी नगरपालिका–७ का सदानन्द रजकले बताए। 

चिताको तयारीपछि सेतो कपडा बेरेका साजनले भतिजा दिव्यंशलाई बोके। दुलो पारिएको माटोको घडामा जल लिएर चितामा राखिएको पार्थिव शरीरको परिक्रमा गरे। कोसी नदी किनारमा चलिरहेको चिसो हावामा काम्दै तीन वर्ष टेकेका दिव्यंशले आमाको मुखमा दागबत्ती दिए। घिउ, खर, धुपीको साथ पाएर आगो हुरहुरी सल्कन थाल्यो। दिव्यंश भने ‘ममी, ममी’ भनेर रुन थाले। 

कोभिड–१९ को कहरबीच नियमित फार्मेसी सञ्चालनमा खटिएका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक २८ वर्षीय राजन साफीको गत वर्ष कात्तिक १९ गते कोभिडका कारण मृत्यु भएको थियो। सोमबार उनको वार्षिक तिथिका दिन श्राद्धको कर्मका लागि घरमा तयारी भइरहेका बेला झुण्डिएको अवस्थामा राजनकी श्रीमती २४ वर्षीया रुबीसमेत मृत फेला परिन्। 

राजनको वार्षिक श्राद्धका लागि आफन्त, पाहुनाहरू काठमाडौं, विराटनगर, धरानबाट आइपुगेका थिए। पाहुनाहरू रुँदै रुबीको मलामी बने। 

‘उतिबेला बुवालाई मुखाग्नि दिएर आएको रातैभरि दिव्यंश र दीक्षाले बुवा खोजे। निद्राबाट ब्युँझिँदा पनि बुवा बोलाए’ हजुरबुवा राजकुमार साफीले भने, ‘बुवाको अभाव खटकिँदा आमाले अंगालोमा छोप्थिन र सम्झाउँथिन, अब सम्झाउने आमाले पनि सधैंका लागि छाडेर गइन्।’ 

कालगतिले नभई रुबीले ‘आत्महत्या’ गरेकाले थप पीडामा परेको राजकुमारले बताए। उनका अनुसार सानैमा बुवाआमा गुमाएपछि लालाबाला समस्यामा परेका छन्।

मृतकका माइती पक्ष भने घरपरिवारकै दुरुत्साहनका कारण रुबीले ‘आत्महत्या’ गर्न बाध्य भएको दाबी गर्छन्। घरेलु हिंसा, शारीरिक र मानसिक यातनाकै कारण पटक–पटक प्रताडित छोरीको मृत्युले विक्षिप्त बनेका रुबीका बुवा सप्तकोसी नगरपालिका–८ का ५७ वर्षीय रामकृष्ण साफी नातिनी दीक्षा र नाति दिव्यंशको जीवनसमेत जोखिममा रहेको बताउँछन्। 

साथीहरूका अनुसार राजन जीवित छँदै परिवारमा घरायसी विवाद थियो। घरायसी विवादका कारण राजन र रुबी दुई छोराछोरीसहित राजविराजमै डेरा गरी अलग्गै बस्दै आएका थिए। कान्छा छोरा साजन भने काठमाडौंमा निजी कम्पनीमा कार्यरत छन्। बुवा राजकुमार धोबीको काम गर्छन्।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको नियमित फार्मेसी सञ्चालनमा दिनरात खटेकै कारण गत वर्ष २८ वर्षीय राजन कोभिड–१९ बाट संक्रमित भए। नियमित फार्मेसी सञ्चालनमा खटिएका फार्मेसी सहायक राजनको उपचारका क्रममा मृत्युपछि अस्पतालले उनकी श्रीमती रुबीलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गर्‍यो। सरकारबाट क्षतिपूर्तिबापत प्राप्त २५ लाख रुपैयाँसमेत रुबीले पाउने भइन्। तर, सासू मोहिनी साफीले विवाद गरेपछि उक्त रकम नाबालक छोराछोरीका नाममा राखिएको र संरक्षकमा आमा रुबीको नाम राखिएको अस्पतालले जनाएको छ। 

रुबीकी सासू मोहिनीले संरक्षकमा आफ्नो नाम हुनुपर्ने भन्दै अस्पतालमा दबाब दिन थालेपछि विवाद चर्कंदै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रणजितकुमार झाले बताए। मोहिनीले वडा कार्यालयमा समेत संरक्षकका लागि सिफारिस गर्न निवेदन दिइन्। अन्ततः सरकारबाट प्राप्त रकमको संरक्षकमा रुबीकै नाम कायम रह्यो। 

बिमाबाट प्राप्त रकममा भने मोहिनीले झगडा गरेर आफ्नो नामसमेत राख्न लगाएको रुबीका भिनाजु अशोक रजकले बताए। बिहे गर्ने उमेरमा एकल भएकी रुबीले अर्को बिहे गर्लिन भन्ने आंशका र अविश्वासले गर्दा सासूले दिनरात यातना दिएको रुबीकी दिदी मनीषाको भनाइ छ। 

पैसा र छोराछोरी लिएर बुहारी रुबी फरार भएको भन्दै मोहिनीले एक पटक प्रहरीमा समेत उजुरी गरेकी थिइन्। जेठ १७ गते उनीहरूबीच सहमति भई रुबी घर बस्न थालेकी थिइन्। रुबीमाथि भएको हिंसाका सम्बन्धमा २ पटक आफूले छलफल गरेर मिलापत्र गराएको इन्स्पेक्टर रामसागर सिंहले बताए। 

घरेलु हिंसाबाट असार ३१ गते पुनः कुटपिट भई रुबी अस्पतालमा भर्ना भएको रेकर्डबाट देखिन्छ। घरमा असुरक्षित महसुस गरेकी रुबीले साउन २ गतेदेखि हनुमाननगरस्थित मामाघरमा आश्रय लिएको हनुमाननगरका रामदेव रजकले बताए। उनी १२ किलोमिटर दूरीमा रहेको हनुमाननगरबाटै राजविराजस्थित अस्पताल आउने गर्थिन्। चाडपर्व नजिकिए पछि अबदेखि कुटपिट नगर्ने प्रतिबद्धता गर्दै सासू–ससुराले भदौ १ गते रुबीलाई हनुमाननगरबाट घर लगेको रुबीका मामा सदानन्दले बताए।

रुबी आइतबार पनि अस्पतालस्थित फार्मेसीमा आएर काम गरेर घर गएको उनका सहकर्मीहरू बताउँछन्। सोमबार श्रीमान्को वार्षिक तिथि रहेकाले ३ दिन फामेर्सीमा आउन नपाउने भन्दै रुबीले बिदा मागेको फार्मेसीमा कार्यरत दिनेश यादवले बताए। 

बुवाको मृत्युको १ वर्ष नबित्दै आमाको मृत्युले बच्चाहरूमाथि अर्को बज्रपात परेको राजविराज नगरपालिका–२ का वडा अध्यक्ष अरुण यादव बताउँछन्। उनी भन्छन्, ‘घटनाले बच्चाहरूको भविष्यलाई पूरै अनिश्चित बनाइदिएको छ।’

दिव्यंशले पढ्नसमेत सुरु गरेका छैनन्। कक्षा २ मा अध्ययनरत दीक्षाको पढाइ पनि अलपत्र परेको छ। ‘यिनीहरूलाई कसले पढाउँछ र हुर्काउँछ भन्दै छिमेकीहरू चिन्ता गर्छन्। दैनिक दुःख गरेर छोराछोरी हुर्काइरहेकी आमाको मृत्युपश्चात् छोराछोरीको भविष्य अन्धकार भएको छिमेकी मुकेश पाण्डेले भने।

कुन तत्वले रुबीको मनलाई यस्तो अप्रिय निर्णय लिन उक्सायो वा अरू केही रहस्य छ ? यी प्रश्नहरूले मलामीहरूलाई झस्काइरहेको छ। बुवाको मृत्युपछि दीक्षा र दिव्यंशलाई आमाको एकमात्र सहारा थियो। त्यो सहारा पनि चुडियो। कोसी नदी किनारमा रूबीको चिता जलिरहेको थियो। चितालाई एकटक हेरिरहेका छोरा दिव्यंशको हृदयविदारक अनुहारले मलामीहरूको मन पोलिरहेको थियो। समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।