काठमाडौँ महानगरको कार्यालय भवन बन्ने

  

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो । 

करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवन भित्र नेवारी शैलीको चोकहरु रहने बताइएको छ । 

भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन÷ कर्मचारी÷ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भ-याङ रहने बताइएको छ ।  भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रिय भवनको शिलान्यास गरेको बताउनुभयो । 

महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन बिभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् । हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गर्नुभयो । उहाँले राम्रो कामको सुरुवात गर्न समयसिमा नुहने भन्दै आफ्नै कार्यकालमा सिलान्यास हुँदा खुशी लागेको बताउनुभयो ।  ‘रुख रोप्नु ठूलो कुरा हो,यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कस्ले खान्छ भन्ने ठूलो कुरा होइन ।”

महानगरका सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिनुभयो । महानगरको केन्द्रिय भवन सँगै वडा भवन निर्माण गर्दा परंपरागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताउनुभयो ।

महानगरपालिकाको केन्द्रिय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ काठमाडौँ महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।