मृगतृष्णा

  

परार कार्त्तिकमा ठूलो एकादशीको दिन हामीहरू रामदीमा नुहाउन जाँदा बिहानको प्राय: सात बजिसकेको हुन्छ । त्यहाँ जात्राको अघिल्लो दिनदेखि नै रामदीमा नुहाउन र सिद्द बाबाको पूजा गर्न टाढा – टाढा गाउँघरबाट भेला भएका भक्त्तजन र स – साना व्यापारीका जमघट हुन्छ रे भनेको सुनेकी थिएँ । त्यस दिन भने आफ्नै आँखाले प्रत्यक्ष देख्ने सुअवसर पनि पईहालेकी थिएँ । हुन पनि साँच्चै नै रहेछ । हामीहरू त्यहाँ पुग्दा रामदीको फराकिलो ढुंगे बगरमा, गण्डकीको किनारमा, पुलवारी –

पुलपारी जम्मै ठाउँमा मानिसहरू डफ्फा डफ्फा भएर कोही नुहाउँदै गरेका, कोहि व्यापार गर्न बसेका र कोहि पूजा गर्न भनि सिद्द बाबाको मन्दिरमा जाने भर्याङ उक्लींदै गरेका देखिएका हुन्छन् । जताततै मिठाई पसल र घारीका घारी केरा अनि डोकाभरी – भरि शुन्तला बेच्न भनि राखिएका हुन्छन् ।

चुरा पसलहरूमा गाउँबाट आएको तरुनीहरूको जमात रंगी – विरंगी फरिया , चोलो लाएर गालामा लालीगुँरास फुलाउँदै गांजलु आँखामा ईन्द्रधनु उमार्दै झुम्मिएका हुन्छन् । साँच्चै नै त्यसबेला रामदीको छातीमा एउटा कुनै अदृश्य तुलिकाले आफ्नो पवित्र गाथा अंकित गरिरहेको झैं भान हुन्थ्यो । त्यहाँ त्यस घडी मानिसको उन्मुक्त आचरण र ईश्वरप्रति विस्वास देख्दा मलाई आफ्नो शहरिया जीवन अनायास खोक्रो लाग्न थालेको हुन्छ ।

हामीहरू पुलदेखि अलिपरको एउटा भर्याङ ओर्लेपछि नुहाउनको निम्ति कुनै सुरक्षित ठाउँ खोजेर निक्कै पर बगरमा पुगेका हुन्छौं । जहाँ मानिसको घुईंचो अलि कम भएको हुन्छ । एउटा ठूलो ढुंगाको आडमा नदीको किनारमा हामी नुहाउन लागेका थियौं । त्यसबेला पनि अरु भक्तजनहरू कोहि नुहाउंदै गरेका , कोहि जप गर्दै गरेका , कोहि सूर्यलाई जल अर्पण गर्दै गरेका र कोहि नुहाईवरि त्यहि किनारमा ढुंगालाई ईश्वरको प्रतिमूर्ति बनाई धुप फूलले पूजा गरिरहेका हुन्छन् ।

नुहाउँदा नुहाउँदै अनायासै मेरा आँखा अलिपर माथि ढिस्कोमा जहाँ एउटी सन्यासिनि जसको शरीरमा गेरुवा वस्त्र र एउटा हातमा त्रिशुल र अर्को हातमा भिक्षापात्र हुन्छ । अनि जसको कैलो केश जटाको रुपमा सोहोरेर तालुमाथि थुपारेर जुरो बनाईएको र त्यसलाई रुद्राक्षमालाले बेरेको , निधारभरी खरानीका धर्साहरू भएको हुन्छ , त्यहाँ पुग्न गएको हुन्छ । उनीले निर्निमेष रुपले मतिर एकोहोरिएर हेरिरहेकी हुन्छिन् ।

केहीबेरको निम्ति उनको र मेरो आँखा जुधेका पनि हुन्छन् । त्यस आँखाको निलोपनलाई मैले पहिल्यै पनि कता कता देखें झैं लाग्नथालेको हुन्छ । म मेरो मस्तिष्कमा उठेको प्रश्नको उत्तर स्वयंसगं खोज्न थालेकी हुन्छु ।” कहाँ देखेकी हुन् मैले यी आँखालाई ! कहाँ ……. ! ” मेरो अन्तरात्मामा त्यो प्रश्नले ढकढकाऊन थालेको हुन्छ अनि अनायास म चिच्याएकी हुन्छु ” सानी मुमा … ! ”

मेरो स्वर सुन्नासाथ क्षणभारको निम्ति उनी स्तब्ध भएकी झैं भएकी हुन्छिन् । त्यसपछि झस्किएर आफ्नो चारैतिर आँखा घुमाएपछी फनक्क फर्केर मेरो आव्हानको कुनै प्रत्युतर नदिएर लमक – लमक गरेर उंभोतिर लागेकी हुन्छिन् । ” सानी मुमा ,सानी मुमा ! ” भन्दै म अत्तालिदै रुझेको शरीर लिएर पानीदेखि बाहिरिएर बगरमा दौडन खोजेकी हुन्छु । ” के भयो हँ ? कसलाई डाक्नु भएको यस्तरी ..? ” संगमा गएका साथीहरूले प्रश्न गर्दा मात्र मलाई आफ्नो स्थितिको बोध भएको हुन्छ । ” होईन .. होईन चिनेजस्तो लाग्यो र .. ! ” मैले खिन्न भएर उत्तर

दिएकी हुन्छु ।

त्यसपछि त्यस दिन रामदीबाट घर नफर्कुन्जेलसम्म मेरो मन छटपटीरहेको हुन्छ । साथै गएका साथीहरू स्यागन्जाको शुन्तला र केरा किन्नमा व्यस्त देखिन्थे ।तर मेरा नजर भने काली गण्डकीको तिरमा , त्यहाँको फराकिलो बगरमा , भक्तजनहरूको भिडमा , नदीमाथि तोरण बाँध्न आउनेहरूको हुलमा , जताततै उनी सन्यासी रुपिणी सानी मुमाको खोजीमा , लागिरहेको थियो , जसलाई आज प्राय: बिस वर्षदेखि हामीले मृत सम्झिरहेका थियौं ।

हो , देखेको सत्य हो भने मैले त्यसदिन रामदीमा सानी मुमालाई नै देखेकी हुँ । आज वर्षौं बितेर गए पनि मैले उनको कैलो केश र निलो आँखालाई कसै गरे पनि बिर्सन सकेको छैन ।

हुन त आज म स्वयं पनि यौवनलाई टाढा छोडेर प्रौढतातिर लम्किरहेकी छु तर पनि मेरो बाल्यकालको कलिलो स्मृतिपटमा अंकित त्यस गाथालाई आजसम्म पनि बिर्सन सकेकी छैन , जसमा कुनै न कुनै रुपमा म पनि सहभागी रहेकी थिएँ । सानी मुमाको वैभवपूर्ण विलासी जीवन र कठोर अन्त्यको साक्षीमा म पनि एक थिएँ ।

जसको अस्तित्वसम्मलाई आज उनकै सन्तानलेधरि बिर्सिसकेका छन् । तिनलाई त्यसदिन अचानक सन्यासिनिको रुपमा देख्दा म अवाक् भएकी हुन्छु । उनले मेरो स्वर सुनिदिएको भए ! उनले केहिबेर मात्र अडिएर मेरा कुराहरू सुनिदिएको भए ! रितु र बिशुको सफल वैवाहिक जीवनको कुरा , अजयको सफल जीवनको कुरा , सानो बुवाको असहनीय रोगको कुरा … म सबै सबै कुरा खोलेर राखी दिने थिएँ उनको अघि अनि भनिदिने थिएँ सानी मुमा जसबाट प्रत्याडित भएर , जसको व्यंग्यबाण र अत्याचारले आजित भएर आफ्ना कोखको सन्तान सम्मलाई त्यागेर आज तपाईं सन्यासिनि भएर देशदेशान्तर हिंडीरहनु भएको छ । उता तपाईंबाट टाढिएदेखि नै तपाईंकै स्मृतिलाई छातीमा टाँसेर पलप्रतिपल आत्मदाहमा जलिरहेको छ , गलेर टुक्रीरहेकोछ । परिवारको माझमा बसेर पनि उनी एक्लो निरिह जीवन बिताई रहेका छन् ।

अतितलाई संझदा संझदा थाकेर हतास भई अब त उनले वर्तमानलाई समेत बिर्सिसकेकाछन् ।हो , सानो बुवा विक्षिप्त भईसक्नु भएकोछ ।

तर के सानी मुमाले मेरो कुरामा विस्वास गर्ने थिइन् होला र ! कारण जुन पुरुषको प्रेमपासोमा परेर उनले वैभवपूर्ण जीवनको ऐश्वर्य गुमाईन् , जुन पुरुषको चाहनामा उनले हजारौं धनवान , शुदर्शन पुरुषहरूको विवाहको प्रस्तावलाई अस्विकार गरिन् । जुन पुरुषको सहचार्यको निम्ति उनले हजारौं तृषित हृदयलाई लत्याएर उनलाई अपनाईन् , अन्त्यमा तिनै पुरुषको उपेक्षा , घृणा र व्यंग्यवाणबाट छुटकारा पाउनको निम्ति उनले आफ्नो कोखको सन्तानसम्मलाई पनि परित्याग गर्नु पर्यो तर तिनै पुरुष आज उनैको स्मृतिमा पल – प्रतिपल पश्चातापको आगोमा जलेर विक्षिप्त भई एकान्त कोठाको शुन्यताभित्र छटपटाईरहेका छन् भन्दा के उनले विस्वास गर्थिन होला र ?

त्यसताका तुषारमल्लिकाको नाम घरघरै चर्चित भएको थियो । हुन पनि किन नहोस् , गोरो छरितो शरीर र सागर जस्तै निला दुई स्वप्निल आँखाकि स्वामिनी जसको केश सुनौला र देह नौनी जस्तै कोमल थियो । त्यस्ती नर्ताकिलाई झिलिमिली सीतारा जडेको पोशाक लाएर सोह्र शृंगार गरि मनमोहक कटाक्ष र भावपूर्ण गतिमा रंगीविरंगी प्रकाशको ज्योतिमा मन्चमा नृत्य गरेको देख्दा कसको मनको पक्षीले फटफटाएर उडन तम्सेन होला र ..?

साँच्चै नै उनी अत्यन्तै सुन्दरी थिईन । तर ” प्रत्येक सुन्दर वस्तुमा कुनै न कुनै खोट हुन्छ ” भने झैं उनमा पनि एउटा खोट थियो जुन

खोटले गर्दा उनले जीवनमा कसैको चोखो प्रेम पाएर पनि अन्त्यमा त्यसैबाट अपमानित भएर गृहत्याग गर्न बाध्य भईन ।

उनको विषयमा हाम्रो टोलमा अनेकौं प्रकारको कुरा सुनिन्थ्यो । जस्तै उनी सानै बालिका छँदा कसैले कलकत्ता लगेर बेचेको र त्यहाँ त्यस्तै नराम्रो गल्लीमा हुर्किएर पछी युवती भएपछी वेश्यावृति गरेर बस्थिन रे इत्यादि इत्यादि । सत्य के थियो कसैलाई पनि थाहा थिएन यहाँसम्म कि उनैका दिदिभिनाजु जो हाम्रो टोलमा किराना पसल गरेर बसेका थिए र जसकी छोरी कविता मेरी सहपाठिनी थिई । उनीहरूले समेत भन्दथे ” यो सानै एघार बाह्र वर्षकी छँदा शिवरात्रीको जात्रामा हराएकी थिई । हामीले त माया मारीसकेका थियौं । यसको पिरले बाआमा दुवै असमयमै स्वर्गे भएका हुन् । आज यत्तिका वर्षपछी यसले हामीलाई सम्झेर आएकी छ । घरमा बास नदिउं भने मन मान्दैन , दुईदिनको निम्ति भेट्न आएकी छ । मानिसहरू चाहिं भए नभएका कुराहरू जथाभावी बोल्छन् । ” हुन पनि मान्छेको मुख कसले थुन्न सक्छ र ?

कतिले उनको नृत्य हेरेपछि हृदयको आक्रोश यसरी पोख्थे ” बढ नर्तकी भई टोपल्छे । कलकत्ताको कुन चाहिं गल्लीमा ग्राहक पर्खेर बस्थी होलि ” त्यस्तै थियो मानिसहरूको विचार उनीप्रति ।

तर पनि हाम्रो टोलका सामाजसेवकहरूले उनको नृत्यको विषयमा सुनेर विधालय कोषको निम्ति उनलाई दुई चार वटा नृत्य देखाएर सहयोग गर्ने अनुरोध गरेकाले उनले सहर्ष त्यस प्रस्तावलाई स्वीकारेकी हुन्छिन् ।

प्रथम दिनको उनको नृत्य कार्यक्रम हुनासाथ अनेकौं संघ – संस्थाबाट अनुरोधका पत्रहरू पाएकी हुन्छिन् उनले र तिनै अनुरोधको सिलसिलामा घन्टौं रियाज र विभिन्न सहयोगको निम्ति अनेकौं ठाउँमा नृत्य प्रदर्शित गरिसकेकी हुन्छिन् । जेहोस् म चै कविताकी निकटकी साथी हुनाले उनको पनि धेरै नगिच पुग्ने मौका पाएकी थिएं । उनले कतै जानुभन्दाअघि शृंगार गरिरहेको बेला , उनले घुन्गुरुको ताल मिलाएर नृत्य रियाज गरिरहेको बेला , उनले मिठा मिठा गफहरू सुनाएको बेला म र कविता मन्त्रमुग्ध भएर उनलाई हेरिरहन्थे । मलाई सबैभन्दा उनको सुनौलो लामो केश र सागर झैं गहिरा निला आँखा अति मन पर्थ्यो । कहिलेकाहीं त मैले उनलाई त्यसरी एकटक लाएर हेरेको देख्दा पातला गुलाबी ओंठभरि स्नेहको मुस्कान लिई भन्दथिन् उनी ” बिन्दुलाई त मोहनी लाएछु क्यारे मैले होईन ?” म लाजले आरक्त भएर कुनै उत्तर दिन सक्दिनथें ।

त्यसरी नै उनको अपरिमित सौन्दर्य र चित्तार्षक नृत्य अनि व्यक्तिगत जीवनका रहस्यात्मक घटनाहरूबारे चर्चा चल्दा – चल्दै कुन मुर्हुतमा उनको र हाम्रो सानो बुवामाझ प्रणयको गाँठो पर्न गयो , त्यो हामीलाई पत्तै भएन । एकाएक घरमा मलाई कविताकहाँ जानबाट रोक्नु उनको विषय लिएर सानो बुवालाई घरमा चेतावनी दिंदा मात्र सबैकुरा छर्लंग भएको थियो । हाम्रो घरको श्रीसम्पति र शिक्षित युवक देखेर काका बाबुलाई आफ्नो जालमा पार्न खोजेकी हो सर्पिणीले .. दांत गाडीसकेजस्तो छ .. ! ठूली मुमाले मेरी मुमासंग भन्नुभएको थियो ।

त्यसपछि सानो बुवा प्रायजसो आधीरातमा मातेर ढलमलिंदै घरको संघार टेक्न आउन थाल्नुभएको हुन्छ । मानिसहरूले हाम्रो घरमा सानो बुवाको विषय लिएर अनेक कुरा लिएर आउन लागेका थिए । तुषारमल्लिकासंग रातभरी रक्सि पिएर बिताए रे , उसलाई हजारौं रुपैंयाका गहनाहरू किनेर दिए रे ,दिनभरि ट्याक्सीमा तुषारमल्लिकालाई डुलीरहे रे … , उसको निम्ति मानिसहरूसंग कुटपिट गरे रे …!

अनि एकदिन सानो बुवा सदाको निम्ति हाम्रो घर छोडेर जानुभएको थियो – ठिक भयो जुनदिन मति सुध्रेला त्यसैदिन घर सम्झेर फर्केला ।

-ठूलो बुवाले मानौं केही नभए झैं गरेर भन्नुभएको थियो सानोबुवा हामी घरपरिवार भरिको प्यारो हुनाले उहाँले पनि हामी सबैलाई सानैदेखि अति माया गर्नुभएकोले सानो बुवाले घर छोडेर धेरैदिनसम्म मलाई नियास्रो लागेको हुन्छ । म लुकेर भए पनि सानो बुवालाई भेट्न चाहन्थे , त्यसैले एकदिन कविता र म सल्लाह गरेर सुटुक्कै सानो बुवाहरू बसेको डेरामा पुगेका थियौं ।

उनीहरू बसेको डेरा निक्कै ठूलो कम्पाउण्ड भित्र थियो । बाहिर धुपीका बोट र फूलबारी थियो । हामी दैलोमा पुग्दा नपुग्दै एउटा नारी कण्ठको उन्मुक्त्त हाँसोले हामीलाई चन्चल तुल्याएको हुन्छ । ” आन्टी ! ” कविताले बाहिरबाटै ठूलो स्वरले डाकेकी हुन्छे । ” को हो हँ ? ” सुनौलो केशको माझमा सिउँदोभरि रातो सिन्दुर र निधारमा लतपतिएको सिन्दुर लिएर हाँस्दै बाहिरिएकी हुन्छिन् उनी । उनको पछिपछि सानो बुवा पनि सेतो मलमलको कुर्ता र सेतै पईजामा लाएर ठूलो निधारभरी मोति जस्तै पसिनाका कण चम्काउँदै निस्कनुभएको हुन्छ ।

अनि हामीलाई देखेपछी खुशी हुँदै दुवैले हामीलाई अंगाल्न आईपुगेका हुन्छन् । मैले सानो बुवालाई धोगीदिएपछी सानो बुवाले भन्नु भएको थियो ” बिन्दु छोरी ! तिम्री सानी मुमालाई पनि ढोग ! ” त्यस दिन मैले प्रथम पटक सानी मुमालाई ढोगेकी हुन्छु ।सायद हाम्रो परिवारमा सर्वप्रथम उनलाई स्वीकार गर्नेमा म नै भएकीले होला उनले भावावेशमा आएर मलाई अँगालो हालेपछि आँशुले मेरा काँध चिसा भएका थिए ।

त्यसपछि परिवारको आँखा छलेर सानी मुमाकहाँ गईरहन्थे । त्यसताका सानो बुवा र सानी मुमाको सुखमय जीवन देख्दा चलचित्र हेरे झैँ लाग्दथ्यो मलाई । साँच्चै नै उनीहरू एकअर्कामा यति डुबेका थिए कि मानौं संसारसंग उनीहरूलाई कुनै वास्ता नभएको झैं लाग्दथ्यो । विवाह गरेपछि सानी मुमाको नृत्य केवल सानो बुवाको निम्ति सिमित रहेको थियो , कारण सानो बुवाले उनलाई कुनै पनि बाहिरि कार्यक्रममा भाग लिन दिदैनथे । सानी मुमा प्रायजसो कोठामा रेकर्डको धूनमा नृत्य गर्ने गर्थिन् र सानो बुवाचाहीं उनको नृत्यमा मुग्ध भएर अलपक उनलाई

हेरिरहने गर्दथे ।

त्यसरी नै दिन – प्रतिदिन समयरुपी छारोका प्वाँखहरू उम्रीरहेका थिए र सानी मुमा र सानो बुवाको उन्मुक्त जीवन पनि खुशीको सागरमा पौडदै बितिरहेको हुन्छ ।

उनीहरूले मप्रति गरेको माया र स्नेहले प्रेरित भएर हो अथवा एउटी किशोरीको जिज्ञासापूर्ण हृदयबाट विवश भएर हो मचाहिँ प्रायजसो मौका पाउनासाथ सानी मुमाकहाँ पुगीहाल्थें र उनले पनि मलाई अति माया गर्थिन् । तर एकाएक घराकाहरूले म त्यहाँ गएको कुरो चाल पाएपछि मलाई अन्तै पठाउने निश्चय गरेका हुन्छन् ।

मुमा , बुवा ,भाइबहिनिहरूदेखी टाढीएर टाढा मावलमा गएर पढ्ने ईच्छा मलाई कदापी थिएन् तर मेरो कमलो प्रतिवाद ठूलाहरूको निर्णयअघि दृढ भएर रहनसकेको थिएन् ।

त्यसपछि केहि समय त कविताद्वारा मैले सानी मुमा र सानो बुवाको खबरहरू पईरहेकी थिएँ र एक दुई पटक सानी मुमाले पनि मलाई चिठी पठाएकी थिईन् । तर क्रमशः दिन बित्दै गएपछि हामीमाझ चिठीको आदान – प्रदान रोकिएको हुन्छ ।

प्राय: सात वर्षजति मावलमा बसेर पढेपछि म घर गएकी हुन्छु । त्यति लामो अवधिसम्म छोरीलाई आफुदेखी टाढा राखेर मुमा – बुवा निश्चिन्त भईसक्नुभएको जस्तो देखिन्थ्यो । तर साँच्चै भन्ने हो भने मलाई त्यहाँ त्यस ठाउँमा पुग्नासाथ सर्वप्रथम सानो बुवा र सानी मुमाको खबर सुन्ने तीव्र उत्सुकता जागेको हुन्छ ।

दुईवर्ष अघि कविता विवाह भएर गएको कुरा मलाई थाहा थियो तर पनि म एकदिन उसकी आमालाई भेट्न गएकी थिएँ । केहीबेर सम्म यताउतिका कुराकानी भएपछी कविताकी आमाले भनेकी थिईन् ” के गर्ने मानिसले कर्मै उस्तो लिएर आएको छ भने जति नै राम्रो होस भने पनि नहुँदो रहेछ । तिम्रो सानो बुवा र सानी मुमाको कुरा त सुनेकी नै होलि ? ”

” किन के भो र ..? ” मैले सशंकित हुँदै सोधेकी हुन्छु । ” के हुन्थ्यो र … ” उनले दिर्घ नि:स्वास लिएर भनेकी हुन्छिन् । ” साथमा गरगहना र मालसामान हुँदासम्म दुवैले मोजा गरेर उडाए । भएको श्री सम्पति पनिं सकियो । खाने मुख पनि थपियो । अहिले चाहिं तिम्री सानी मुमाको विगति छ । रातदिन मातेर आएर चुटछन् रे । भएन कुरै पिच्छे रन्डी , वेश्या , मेरो जिन्दगि बरबाद गरिस् , मलाई मेरो घरपरिवारबाट छुट्टयाईस् , दुनियाको कुरा सुन्नु पर्ने बनाईस भनेर भन्नु नभन्नु भन्छन् रे ! एकछाक खान घरमा धौ धौ छ , भएन सुत्केरी भएर कुनामा बसेको बेलाधरी लात्ती लात्ताले कुटेर । धन्नकी रहिछे त्यतिविधि सहेर बस्न सक्ने … हामीले पनि कति सगाउने एकदिन

होईन , दुईदिन होईन , सदा सर्वदा , अभागिनी कस्तो कर्म लिएर आएकी रहिछे । बिर्सिसकेका थियौं , बरु फर्कदैं नफर्केकी भए हुने थियो ..” कुरा गर्दा गर्दै उनको स्वर अवरुद्द भएको हुन्छ ।

त्यसको भोलिपल्ट नै म उनीहरू बस्ने डेरा पहिल्याएर त्यहाँ पुगेकी थिएँ । छिंडीको अँध्यारो सानो कोठाभित्र उनी बर्बराएको मैले बाहिरबाटै सुनेकी थिएँ । मर साहुहरू हो मर, मारिदिए त मुक्ति पाउने थिएँ ‘ ” सानी मुमा … ” मैले आफ्नो रोदनलाई रोक्न सकेकी थिईनं । उनले पनि मलाई चिन्नासाथ मेरो सारा शरीरलाई अंगालेर रोएकी थीईन् बेसरी । हामी दुईको त्यस मिलनको दृश्यलाई उनका खिनौरे शरीर भएका दुई बच्चाहरूले छक्क परेर गलाभरी आँशुका डाम लिएर टुलुटुलु हेरिरहेका थिए ।

” बिनासित्तिमा मैले आफ्नो भाग्यलाई छल्न खोजेकी रहिछु । ” आफ्ना सबै पीरहरू मेरोअघि पोखेपछि उनले भनेकी थिईन् ।

त्यसदिन त्यहाँबाट फर्केपछि रातभरी मलाई निन्द्रा परेको थिएन । मेरा आँखामा बारम्बार सानी मुमाको रुप , शरीर , उनको शरीरमा भएको झुत्रो , मैलो लुगा , उनका छोराछोरीको प्राय: नाङ्गो जिउ र कोठाभित्र भएको टिन र आल्मुनियमका थोत्रा सरसामान नाचिरहेको हुन्छन् । ”

तिम्रो सानो बुवा आधिरातभन्दा अघि कहिले पनि डेरामा फर्कनुहुन्न । ” सानी मुमाले भनेकी हुन्छिन् ।

त्यसपछि म त्यहि स्थानीय विधालयमा पढाउन लागेकिले बेला बेलामा मैले कुनैनकुनै रुपमा सानी मुमालाई सहयोग गर्न थालेकी हुन्छु । एक – दुईपटक मैले सानो बुवालाई भेट्दा सानी मुमा र बच्चाहरूको दुर्दशा बारे इंगित गर्न नखोजेकी पनि होईन तर मेरा प्रयासहरू उनको मौनताभित्र त्यसै बिलाएर गएका थिए ।

एकदिन अघि अघि झैं म सानी मुमाकहाँ पुग्दा उनी सानो छोरालाई काखमा राखेर अनि दुवै छोरीहरूलाई छेउमा राखेर मुसार्दै बरबरती आँशु झारीरहेकी हुन्छिन् । उनको केश जिन्ग्रिंग र निधारमा रगतको टाटा जमेको हुन्छ । दुवै बच्चाहरू पनि डराएका झैं देखिएका हुन्छन् ।

घरभित्र थोत्रा सामानहरू जताततै छरिएका हुन्छन् । के भयो सानी मुमा ? के आज फेरी सानो बुवासँग झगडा भयो ? ” मैले ठूली छोरी तानेर आफ्नो काखमा राख्दै सोधेकी हुन्छु । ” बुवाले मुमालाई आज फेरी कुट्नु भयो । मुमा मर्छु भन्नु हुन्छ ।” ठुली छोरीले आमाको मुखमा एकोहोरो ह्र्रेर भनेकी हुन्छे । बाह्र वर्षीय छोरीको मुखबाट वाक्य निस्कनासाथ उनी डाँको छोडेर रोएकी हुन्छिन् ।

” बिन्दु ! म केहि भएं भने यी भाइबहिनीहरूलाई तिम्रो घरमा लगेर राखे है । बरु नोकर बनाएर राख्नु तर तिमिहरूसंगै राख्नु ” रुँदा रुँदै उनको काखको बच्चालाई छातीमा बेसरी टाँस्दै भनेकी हुन्छिन् । ” छि: सानी मुमा पनि कस्तो कुरा गर्नुभएको ? कसको घरमा झगडा हुँदैन र .. ! ” मैले मिथ्यामा आश्वाशन दिन खोजेकी हुन्छु ।

त्यस घडी सानी मुमाले आफ्नो अनुरोधमा दिएको पूर्वसंकेतलाई मैले बुझ्न सकेकी थिईन तर त्यसको तीन दिनपछि नै उनले काखको बच्चासमेतलाई त्यागेर सदाको निम्ति गृहत्याग गरेकी थिइन् ।

केहि दिन त उनी फर्किन्छिन होला भने झैं लागेको थियो तर त्यो हाम्रो भ्रम मात्र थियो ।

उनी फेरी फर्केर अईनन र अन्त्यमा सानो बुवाको दुर्दशा र बच्चाहरूको बिजोगको कुरा सुनेर हाम्रो बुवा र ठुलो बुवाले सानो बुवालाई फेरी घरमा स्थान दिन बाध्य हुनुभएको हुन्छ ।

जीवनमा यति ठूलो घटना घटेर पनि सानो बुवाको मौनता र शान्त व्यवहार देखेर लाग्दथ्यो मानौ केहि नभए झैं । उनी नियमित रूपले कार्यालय जान थालेका थिए । रक्सि पिउनु , जुवा खेल्नु ,बाहिर घुम्नु सबै कुराबाट आफुलाई अलग्याएर शुन्य कोठाको सिमित घेराभित्र सदाकाल पुस्तकका पानाहरूमा घोरिएर बस्ने गर्न लागेका थिए सानो बुवा । ” बल्ल चेते जस्तो छ ” देख्नेहरू भन्थे ।

 

तर मलाई भने किन किन सानो बुवालाई देख्नासाथ टिठ लागेर आउंथ्यो । हुन पनि उनको अघिको र त्यसबेलाको व्यवहारमा ठूलो पार्थक्य देखिन्थ्यो । सधैं चुपचाप कार्यालयबाट आएपछि कोठाभित्र एक्लै बसिरहनु , कसैसंग वास्ता नराख्नु , पाएको पैसा जम्मै ठूलो बुवाको हातमा सुम्पिएर आफ्ना छोराछोरीको दायित्वबाट पनि पन्छिनु , ती सबै कुरा कताकति उनको व्यक्तित्वसंग मेल नखाए झैं लाग्थ्यो मलाई ।

समय त्यसरी नै पलपल गरेर बितिरहेको थियो । घरमा ठूलो बुवाकी छोरी सुवर्ण र मेरो विवाहको कुरो निक्कै चलिरहेको थियो । त्यसै ताका एकदिन घरमा दुलाहापट्टिकाहरू हामीलाई हेर्न भनि आएका हुन्छन । सानो बुवालाई ठूलो बुवाले बैठक कोठामा डाकेका हुनाले बोलाउन भनि म सानो बुवाको कोठाको दैलोमा पुगेकी हुन्छु । दैलोमा पुग्नासाथ मेरा आँखा त्यहीं संघारमा जड भईदिएका थिए , कारण भित्र सानो बुवा कसैको तस्बिरलाई हेरेर सुँक्क सुँक्क गरेर रोदनलाई भित्रभित्र दबाउने कोसिश गरिरहेका थिए । ” सानो बुवा .. ” मेरो मुखबाट अस्फुष्ट स्वर

निस्केको हुन्छ अनि म बिस्तारै उनको छेउमा पुगेकी हुन्छु । ” बिन्दु ! उसले आत्महत्या गरिहोली .. ” आँशुलाई लुकाउने प्रयत्न नगरेरै उनले हातको तस्बिर मतिर दिएर भनेका हुन्छन् । त्यो तस्बिर सानी मुमाको थियो ।

मेरो विवाह भएपछी म जति पटक माईत गएकी हुन्छु त्यति पटक नै सानो बुवाको शारीरिक अवस्था पहिलेकोभन्दा अझ बढी बिग्रंदै गएको देखेकी थिएँ । ” सानो बुवा अब त अतीतलाई विर्सनुहोस् । छोराछोरीको सफल जीवन सम्झेर मन बुझाउनु होस् । ” मैले कयौंपटक एकान्तमा उनलाई भनेकी हुन्छु । ” बिन्दु ! उसले निश्चय पनि आत्महत्या गरिहोली ” सानो बुवाले आँखाभरी आआफ्नो अन्तरमनको पिडा छचल्काएर भन्ने गर्नुहुन्थ्यो ।

हो , धेरै वर्षसम्म पनि सानी मुमाको अत्तोपत्तो नहुँदा हामी सबैले उनलाई मृत ठानीसकेका थियौं ।

तर त्यसदिन , रामदीमा मलाई एकटक लाएर हेरिरहेकी सन्यासिनिले मेरो स्वर सुन्दासुन्दै पनि किन फर्केर हेरिनन ? किन ?

आँखाले देखेको सत्य हो भने मैले त्यस दिन सानी मुमालाई देखेकी पनि सत्य हो । म उनको सुनौलो केश र निला आँखालाई राम्ररी ठम्याउन सक्छु अनि त्यस आंखाभित्र सलाबलाईरहेका वेदनालाई चिन्दछु , बुझ्दछु जो मेरो किशोर अवस्थाको मानसपटमा शिलालेख झैं अमिट भएर अंकित भईरहेको छ ।

मसंग उनलाई सुनाउन पर्ने धेरै कुराहरू छन् । जुन कुराहरू सुनेर हुनसक्छ उनको दग्ध हृदयमा शितलता भरियोस् , हुनसक्छ उनको दु:ख र पिडामय जीवनयात्राको गाथामा एउटा सुखद् अन्त्यले भरिएको पाना थपियोस् । अथवा हुनसक्छ उनको अन्तिम घडी शान्तिमय होस् ।

त्यसदिन देखि आजसम्म कयौं जात्रा , कयौं मेला , र चांडहरूको भिडमा मेरा उत्सुक आँखाले त्यस सन्यासिनिलाई खोजिरहेका छन् जसलाई सानी मुमाको रुपमा चिन्दछु तर मेरो खोजको अन्त्य सदा निराशाले भरिएको हुन्छ – मेरा आँखा रित्तै फर्किएका हुन्छन् ।