प्रा. लोकराज बराल भन्छ्न् : कांग्रेसलाई सान्दर्भिकताको चुनौती

  

प्रा. लोकराज बराल

नेपाली कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व, दलको भावी कार्यक्रम, प्रतिबद्धता र राजनीतिक स्थिरताको अपेक्षा गरिनु स्वाभाविकै हो । चुनावी राजनीतिमा यस दलको उतारचढाव जेजस्तो रहे पनि लोकतन्त्रको केन्द्रबिन्दुमा रहने यसको औचित्यमा अविश्वास गर्न सकिँदैन । यसका एजेन्डा र पछि ती एजेन्डालाई सुदृढ गर्ने कामका लागि पनि लोकतन्त्रमा विश्वास गर्ने जनताले नेपाली कांग्रेसतिरै हेरिरहेका हुन्छन् ।

चाहे २००७ सालको राणाविरोधी क्रान्ति होस् या २०१७ सालपछिको एकतन्त्रीय व्यवस्थाको प्रतिकार र आन्दोलन, चाहे २०४६ सालको निर्दलीय पञ्चायत व्यवस्थाविरोधी आन्दोलन होस् या २०६२–६३ सालको सम्पूर्ण लोकतन्त्र ९गणतन्त्र० का लागि खेलेको भूमिका, नेपाली कांग्रेस एक किसिमले नेपालको लोकतन्त्रको पर्यायवाची हो भन्दा अनर्थ हुँदैन । किनभने उदार लोकतन्त्रको एजेन्डा तय गर्ने दल योबाहेक अर्को थिएन । आज मुख्य धारका भनिएका कम्युनिस्टहरू अनेक बाटो पहिल्याउँदै नेपाली कांग्रेसले जन्मदेखि अपनाएको सिद्धान्तमै विलीन भएका छन्, आफ्नो पहिचान र रणनीतिका लागि मात्र यी माओवादी या लेनिनवादी या समाजवादी छाता ओढ्न पुगेका छन् । कहिले कट्टर लेनिनवादी त कहिले उग्र माओवादी एजेन्डा बोक्नेको विश्वासिलो सैद्धान्तिक धरातल देखिंँदैन । नेकपा ९माओवादी० ले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रका लागि १० वर्षे जनयुद्ध गरेको यथार्थ हो र यस दृष्टिले माओवादीको योगदान वाम भनिने अरू दलको भन्दा विशिष्ट छ । यी सिद्धान्तलाई स्विकारी लोकतन्त्रलाई अझ उचाइमा पुर्‍याउनुमा नेपाली कांग्रेस र नेकपा (एमाले) को योगदान छ । माओवादीलाई राजनीतिको मूलधारमा आउने वातावरण बनाई उत्साहित पार्न नेपाली कांग्रेस र माधव नेपालले नेतृत्व गरेको नेकपा ९एमाले० ले आन्दोलनअघि लिएको निर्णय लोकतन्त्रप्रतिको उत्कट निर्णय हो ।

नेपाली कांग्रेसले राजालाई संंवैधानिक बाटामा हिँडाउन धेरै लचिलो बाटो लिएको हो । २०१५ सालमा राजाले दिएको संविधानलाई मानी चुनावमा भाग लिनु यस दलको पृष्ठभूमि बुझ्नेका लागि अचम्म पार्ने खालको थियो । किनभने संविधान घोषणा गर्नुभन्दा केही समयअघिसम्म नेपाली कांग्रेसले संविधानसभाको वकालत गर्दै आएको थियो, राजाको आकांक्षा पनि बिस्तारै परिवर्तन होला भन्ने ठानी राजा सार्वभौम भएको संविधान ग्रहण गरेको थियो । तर राजा महेन्द्रले २०१७ सालमा सैनिक प्रयोग गरी सत्ता हत्याएकाले यो दल बाध्यतावश राजाको शासनको प्रतिकारमा उत्रिएको हो । त्यस समय नेपाली कांग्रेसको भूमिका प्रस्ट भने थिएन । दबाबी राजनीतिले गर्दा कहिले सशस्त्र विद्रोह त कहिले संविधानको विकास गर्न राजालाई सहयोग गर्ने नीति लिई यो दल अलमलियो । आफ्नो कमजोर अवस्था र बाह्य राजनीति पक्षमा नभएकाले नेपाली कांग्रेस उग्र बोली र समर्पणबीच अलमलियो । तर राजाहरूकै हठका कारण यसले आफ्नो पहिचान गुमाउन पाएन ।

नेपाली कांग्रेस गणतन्त्रका पक्षमा थिएन भन्नेहरू समय र परिस्थितिको विश्लेषण नगरी आफ्ना तात्कालिक राजनीतिक स्वार्थका लागि यस दललाई राजावादी बनाउने प्रयत्न गर्छन् । जनमत संंग्रहपछि सुधारिएको भनिएको पञ्चायती वर्गीय संगठनको चारआने सदस्यता लिन बाध्य नपार्ने आग्रहलाई राजाले अस्वीकार गर्दा बीपी कोइरालाको मेलमिलापको राजनीतिको अन्त्य भई प्रतिरोधको राजनीति पुनस् सक्रिय भएको हो । यस विषयलाई लिएर गणेशमान सिंहले नेपाली कांग्रेसलाई टाङमुनि छिराउन खोजेको भन्ने आरोप लगाएका थिए । पछि सात दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतामा, ‘पूर्ण प्रजातन्त्र’ मा राजालाई प्रतीकका रूपमा मात्र मान्ने भावना समेट्न खोजिएको थियो तर महत्त्वाकांक्षी राजा ज्ञानेन्द्रले २०१७ सालको जस्तै नीति अवलम्बन गर्न थाल्दा त्यो सम्भावना पनि टरेकाले गणतन्त्रको प्रस्ताव स्वीकार गरिएको हो । आज राजतन्त्रको पुनर्बहालीको वकालत गर्ने पूर्वपञ्च र अस्पष्ट विचार बोक्ने केहीले त्यति बेला गणतन्त्रको घोषणा गरिँदा विरोध गरेका थिएनन् । आज दलका नेताहरूको कार्यशैली र सैद्धान्तिक प्रतिबद्धताको कमजोरीलाई लिएर व्यवस्था अफाप भएको तर्क गरी मरिसकेको राजतन्त्रलाई ब्युँताउन खोजिएको कुरा सञ्चारमाध्यममा आउँदा तिनीहरू हौसिएर अब गणतन्त्र सकिन लाग्यो भन्ने दुष्प्रचार गर्छन् । राजतन्त्र फर्किए नेपालमा स्थिरता र प्रगतिको ग्यारेन्टी हुन्छ रु पूर्वराजासित जादूको छडी छ जसले एकाएक अमन–चयन कायम गर्छन् र जनता सुखी हुन्छन् रु २०१७ पुस १ गते राजा महेन्द्रले प्रथम निर्वाचित सरकार अपदस्थ गर्दा दिएको भाषणमा लोकतन्त्रको विकास गर्न त्यसो गरेको भनिएको थियो या सर्वसत्तावादलाई अझ सुदृढीकरण गर्न चालिएको पाइलो थियो त्यो रु त्यसपछिका ३० वर्षमा राजाको सहयोगमा लोकतन्त्रलाई सुदृढ पार्ने प्रयास भएको भए आज अवस्था यस्तो हुने थिएन र जनताले पनि राजाको आवश्यकता महसुस गर्न सक्थे । तर यस विपरीत राजतन्त्रले मौका पाउँदा अधिनायकवादी चरित्र अँगाल्यो र जनदबाब बढ्न थालेपछि सम्झौताको राजनीति गर्‍यो । नेपाली कांंग्रेसले पनि आफ्नो अवस्था कमजोर हुँदा राजासित सम्झौता गर्न खोजी रणनीतिक रूपमा नरम भाषा प्रयोग गर्दा बीपी कोइरालाजस्ता क्रान्तिकारी नेतालाई राजापरस्त भएको ठानी राजतन्त्रले आफ्नो प्रयोजनका लागि स्विकार्‍यो । वास्तवमा बीपी कोइरालाको सम्पूर्ण इतिहास, सोच र लचिलोपनालाई समयसापेक्ष विश्लेषण नगरी क्षणिक लाभका निम्ति कुरा बटार्ने प्रयास थियो त्यो । आज बीपीकै परिवारभित्रबाट पनि उनलाई होच्याउने काम भएकाले राजावादीहरूलाई मसला मिलेको छ । तर समय र समुद्री लहरले कसैलाई पर्खंदैन भन्ने यथार्थलाई इन्कार गर्न सकिँदैन । समयसापेक्ष सोच नहुँदा र आडम्बर देखाउँदा राजतन्त्रको पतन भएको साधारण ज्ञानको नभएको जमात या व्यक्तिका लागि सहानुभूति देखाउनबाहेक के गर्न सकिन्छ र रु

नेपाली कांग्रेसले आज आफ्नो पहिचान र कार्ययोजना परिभाषित गर्न र जनमुखी बनाउन नसके यो दल असान्दर्भिक हुनेछ, जसरी अन्य देशका ऐतिहासिक भूमिका खेल्ने दलहरू भएका छन् । नेतृत्व गतिशील, जनप्रिय, निर्णय क्षमता भएको र जनतासित जोडिन सक्ने, सैद्धान्तिक धरातल प्रस्ट भएको र निर्भीक हुन सक्दा दलले पनि नवजीवन पाउन सक्छ । यस्तो नेतृत्वले दलको मूल सिद्धान्तमा आधारित सामाजिक, आर्थिक र राजनीतिक नीतिनिर्माण र तिनलाई व्यापक जनसमुदायको समर्थन पाउन सक्ने पार्दा दल कहिल्यै बूढो भई असान्दर्भिक हुनु पर्दैन, जसरी नवीन सोच, गतिशीलता, अनुशासित आचरण, सद्विचार र ठीक आहारले मानिसको जीवन रसिलो पार्न मद्दत गर्छन् ।

नेपाली कांग्रेसको महाधिवेशनको सेरोफेरोमा बढी चर्चा दलको भावी नेतृत्वमाथि केन्द्रित छ । नेतृत्व अति आवश्यक पक्ष भए पनि दललाई जनतासित जोड्न सक्ने आधारको चर्चा भइरहनुपर्ने हो । अब आउने नेतृत्वले के नवीनता ल्याउन सक्छ भन्ने चासो धेरैमा रहनु स्वाभाविकै हो । पुराना पात झरी नयाँ पात पलाउनुपर्छ तर नयाँ पात चिल्लो र राम्रो हुनैपर्छ, नत्र सम्पूर्ण अभ्यास कर्मकाण्डी मात्र हुन जान्छ । यसमा उमेरको हदबन्दीभन्दा पनि, अघि भनिएजस्तो, नेतृत्वको अग्रगामी सोच, जनमुखी हुन सक्ने क्षमता र आचरण आवश्यक पक्ष हुन् । कांग्रेस सबै धर्म, वर्ग, जाति र क्षेत्रको साझा दल बन्न सके कसैले लोकतन्त्रको जग हल्लाउन सक्तैन । कांग्रेसका केही नेता तथा कार्यकर्ताको बेमौसमी भनाइले लोकतन्त्रको भविष्यमाथि अनर्थ प्रचार गर्ने ठाउँ दिए पनि स्थापित गणतन्त्रलाई अब राजतन्त्रले विस्थापित गर्ला भन्नु २००७ सालमा राणा शासन फर्किन्छ भने जस्तै हो ।

संसारमा लोकतन्त्रको क्षयीकरण बढिरहेका सन्दर्भमा कांग्रेसको अस्तित्व, यसको वर्तमान र भावी कार्यक्रमले धेरै महत्त्व राख्छ । यसले तय गर्ने परराष्ट्र नीति, छिमेकीसितको नयाँ सन्दर्भको रणनीतिका लागि त्यहीअनुसारको चिन्तन, अध्ययन र संयम चाहिन्छ । चीन अब आक्रामक रणनीति र कार्यशैलीबाट अघि बढ्ने संकेत देखिइरहेको छ । उसले भारतलाई आफ्नो प्रतिस्पर्धी स्वीकार गर्दैन, किनभने ऊ अमेरिकालाई उछिन्ने होडबाजीमा छ । केही वर्षयताका गतिविधिबाट चीन कस्तो बाटामा हिँड्ला भन्ने संकेत पाउन थालिएको छ । त्यस्तै, भारतले अब नेहरूकालीन परराष्ट्र नीतिबाट कोल्टे फेर्दै छ र बढी व्यावहारिक रणनीति अवलम्बन गर्न लागेको छ । अब प्रधानमन्त्री मोदीको सक्रियता घटेको छ र चीनसितको केही वर्षको सहवास चिसिएको छ । चीन भारतलाई आफूबराबरको शक्ति मान्न तयार छैन र शक्तिराष्ट्रको वर्चस्व (डोमिनेन्स) का आधारमा अरू राष्ट्रसित सम्बन्ध कायम गर्न चाहन्छ । बहुदलीय लोकतान्त्रिक अभ्यासप्रति सहानुभूति नभएकाले चीन आफ्नै नेताका विचारमा अरू देशका दलहरूलाई हिँडाउन चाहन्छ, जसरी नेपालका ओली–प्रचण्ड सी चिनफिङ विचारधारा प्रचार गर्न अग्रसर भए ।

अब नेपाली कांग्रेस अरूको लौरो समाएर शासन गर्ने दलका रूपमा रहिरह्यो भने यसको पहिचान रहला–नरहला, यसै भन्न सकिने अवस्था छैन । लोकतान्त्रिक भनिने दलको चरित्र पनि लोकतान्त्रिक नै हुनुपर्छ । बोली र व्यवहारमा फरक भए नेपाली कांग्रेसलाई किन लोकतन्त्रको जामा लगाइदिइरहने रु लोकतान्त्रिक पहिचान कायम राख्न र आकर्षणको केन्द्र बनिरहन त्यहीअनुसारको आचरण र कार्यशैली चाहिन्छ । नेपाली कांग्रेसको सबैभन्दा ठूलो हाँक नै यसको लोकतान्त्रिक छवि बचाइराख्नु हो । (कान्तिपुर दैनिकमा लेख छापिएकाे छ)