ओलीको सन्देश : सर्वसम्मत कठिन

  

धेरैजसो वडा र पालिकामा तथा महाधिवेशन प्रतिनिधि चयनमा सर्वसम्मतलाई प्राथमिकता राखेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय नेतृत्व चयनमा सर्वसम्मत कठिन रहेको प्रस्ट संकेत गरेका छन् । दशौँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यका आकांक्षीको संख्या उच्च देखिएपछि ओलीले चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनोटको विकल्पमा जाने सन्देश दिएका छन् ।

सर्वसम्मतका लागि गरिएको प्रारम्भिक गृहकार्यमा ठोस प्रगति नदेखिएपछि ओलीले मंगलबार पदाधिकारीसहित जुनसुकै पदमा पनि व्यक्तिगत प्रतिस्पर्धालाई स्वागत गरिने सन्देश दिएका हुन् । सर्वसहमति नै उत्तम विकल्प भए पनि प्यानलबाहेक व्यक्तिगत रूपमा हुने स्वच्छ प्रतिस्पर्धामा आफूले कसैको पक्ष नलिनेसमेत ओलीले प्रस्ट्याएका छन् । नेतृत्व चयन गर्ने गरी दुई दिनपछि चितवनको नारायणी किनारमा एमालेको दशौँ महाधिवेशन उद्घाटन हुँदै छ ।

छिटफुटबाहेक अधिकांश आकांक्षीले उम्मेदवारी घोषणा नगरे पनि आन्तरिक लबिङ तीव्र पारेका छन् । आकांक्षी सबैको व्यवस्थापन सम्भव हुने स्थिति नरहेपछि ओलीले आन्तरिक प्रतिस्पर्धालाई जोड दिएका छन् । तर, अधिकांश महाधिवेशन प्रतिनिधि पार्टीको संस्थापन पक्ष अर्थात् ओलीनिकट छन् । यसले आन्तरिक प्रतिस्पर्धा भने पनि विशिष्ट अवस्थामा बाहेक अधिकांश ओलीनिकट नै चयन हुने सम्भावना छ । 

महाधिवेशनमा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर ओलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिएका छन् । १५ सदस्यीय पदाधिकारीको आकांक्षी तीन दर्जनभन्दा बढी नेता देखिएका छन् । करिब २३ सय महाधिवेशन प्रतिनिधिमध्ये एकतिहाइ केन्द्रीय सदस्यका आकांक्षी छन् । 

‘पार्टीभित्र समझदारी, एकता बहुतै महत्वपूर्ण हो, यसलाई प्राथमिकतामा राख्नुपर्छ । तर, यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि नजरअन्दाज गर्न मिल्दैन । यदि प्रतिस्पर्धीबीच सहमति हुन्छ भने राम्रो हो, अध्यक्षका हिसाबले पनि स्वागत गर्छु, हुँदैन भने कसैलाई करकाप गरेर गर भन्दिनँ किनभने उसलाई पनि जित्छु भन्ने लागिरहेको होला, अनि मैले किन अवसरमा भाँजो हाल्ने ?’ मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ‘यदि म अध्यक्षको उम्मेदवार भएँ भने पनि त्यही हो । म निर्वाचित भएँ भने सबैको अध्यक्ष, सिंगै पार्टीको अध्यक्षका रूपमा व्यवहार मैले गर्नुपर्छ, गर्छु । त्यसकारण यो मन पराएको मेरो, यो अर्काको भन्ने छैन । पार्टीका सबै नेता–कार्यकर्ता मेरो नजरमा उस्तै हो, सबै निकट हुनुहुन्छ ।’

आकांक्षीहरू स्वच्छ प्रतिस्पर्धाका लागि तयार हुँदा ‘प्यानल’ नबनाई गरिने प्रतिस्पर्धाका लागि सहज रूपमा लिने सन्देश ओलीले दिएको उनीनिकट नेताहरू बताउँछन् । केन्द्रीय सदस्य कर्ण थापाले सर्वसम्मतभन्दा चुनावको सम्भावना बढी देखिएको बताए । ‘आकांक्षीको संख्या ठूलो छ । त्यसले सहमतिको गृहकार्य हुँदाहुँदै पनि चुनावी प्रतिस्पर्धाकै सम्भावना छ । तर, त्यो व्यक्तिगत प्रतिस्पर्धा हुनेछ,’ थापाले भने । 

‘अध्यक्षले सर्वसम्मतका लागि आग्रह गर्नुभएको छ, तर उहाँले म सर्वसम्मतका नाममा आकांक्षीको इच्छाबाहिर जाने पक्षमा छैन, त्यस्तो अवस्थामा प्रतिस्पर्धाबाटै टुंग्याउने हो भन्ने सन्देश दिनुभएको छ,’ तत्कालीन प्रधानमन्त्री ओलीका वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘हामीले प्रतिस्पर्धा गर्दै आएकाले त्यसलाई सहज रूपमा लिऊँ, प्यानल नबनाई हुने स्वच्छ प्रतिस्पर्धामा आपत्ति छैन भन्ने पक्षमा उहाँ हुनुहुन्छ ।’ 

महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीका उम्मेदवार र केन्द्रीय सदस्यका आकांक्षीले ओलीलाई भेटेर सर्वसम्मतका लागि योग्य रहेको भन्दै दबाब सिर्जना गरिरहेका छन् । तर, ओलीले अहिलेसम्म कुनै पनि नेतालाई वचन दिएका छैनन् । पदाधिकारीका आकांक्षीलाई सामूहिक रूपमा राखेर सर्वसम्मतको ठोस प्रस्ताव पनि राखेका छैनन् । 

मंगलबारसम्मको द्विपक्षीयमै सीमित अनौपचारिक प्रयासमा सर्वसम्मतको आधार तयार नभएकैले ओलीले प्रतिस्पर्धाका लागि तयार रहन नेताहरूलाई सन्देश दिएको धेरै नेताहरूको बुझाइ छ । ‘सर्वसम्मतका लागि अनौपचारिक रूपमा प्रयास भएका छन् । द्विपक्षीय भेटवार्ता र छलफल पनि थुप्रै भएका छन् । तर, त्यसले सर्वपक्षीय रूप लिन सकेको छैन, त्यसैले ठोस प्रगति नभएकै कारण अध्यक्षले जुनसुकै पदमा व्यक्तिगत प्रतिस्पर्धालाई खुला गर्ने सन्देश दिनुभएको हो,’ उनीनिकट एक स्थायी समिति सदस्यले भने । 

ओलीले व्यक्तिगत रूपमा आफूले कसैलाई पनि कुनै पदमा नउठ्न आग्रहसम्म पनि नगर्ने प्रस्ट पारेका थिए । अध्यक्षबाटै त्यस्तो आग्रह हुँदा दबाब महसुस हुने र लोकतान्त्रिक अभ्यास खुम्चिने भन्दै ओलीले यसमा आफू सचेत रहेको जनाएका छन् । ओलीले आफूसँग प्रतिस्पर्धा गर्न तयार भएको नेतालाई पनि स्वागत गर्ने बताएका छन् । ‘एमाले लोकतान्त्रिक पार्टी हो, यसमा कुनै जोरजुलुम, करकाप वा दबाब हुँदैन । मैले उठ्ने–नउठ्ने टुंगो त गरेको छैन । मैले उठ्ने टुंगो गरे पनि निर्विरोध छाड्न पनि पाइन्छ, मलाई चुनौती दिन पनि पाइन्छ । मलाई कसैले चुनौती दिएमा त्यसलाई स्वागत गर्छु,’ ओलीले भने, ‘निर्विरोध हुन पाएको भए वाह ! क्या एमालेमा निर्विरोध अध्यक्ष भन्ने हुन्छ, चुनौती भयो भने केही हुँदैन । लोकतन्त्रमा चुनौतीलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’

उनले आफूले अहिलेसम्म उम्मेदवारी घोषणा नगरेको र कसैलाई नउठ्न आग्रह पनि नगर्ने बताए । ‘म कसैलाई नउठे हुन्थ्यो पनि भन्दिनँ किनभने आफैँ अध्यक्ष पदमा भएको मान्छेले तपाईं नउठ्दिए हुन्थ्यो भन्ने कुरा सामान्य शब्दमा आग्रह गर्दा पनि दबाब पर्न सक्छ । दबाब दिने कुनै मनसाय छैन,’ ओलीले भने, ‘त्यसैले कसैलाई अलिकति पनि दबाब महसुस हुने खालको कुनै व्यवहार वा अभिव्यक्ति गर्दिनँ । मैले उठ्ने, नउठ्ने अहिलेसम्म निर्णय गरेको छैन । उठ्ने भएँ भने अरूलाई नउठ्न पनि भन्दिनँ ।’
 
भीम रावलले स्नेह देखाउनुभो, म प्रभावित भएँ 
ओलीले उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि सुझाव दिएर स्नेहभाव देखाएको भन्दै त्यसबाट प्रभावित भएकोसमेत बताए । ‘रावलजीले मलाई चुनौती दिनुभएको छैन, तपाईंहरूले उहाँको शब्दमा ध्यान दिनुस्, उहाँले मप्रति आदार, सम्मान, माया, स्नेह देखाउनुभएको छ । अलि बढी खट्नुहुन्छ, आराम गर्ने हो कि, त्यसो भए म उठ्छु भन्नुभएको छ,’ ओलीले भने, ‘उहाँले सुझाव दिनुभएको छ, उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो सुझाव एकखालका मान्छेहहरूले पनि निकै मन पराउने सुझाव हो । अध्यक्ष नभएर विश्राम लिए हुन्थ्यो भन्ने पार्टीबाहिरका साथीहरूको चाहना देखिन्छ । तर, रावलजीको त्यो होइन, उहाँले चाहिँ मप्रति अत्यन्तै स्नेहभाव देखाउनुभएको छ ।’

ओलीले महाधिवेशन नै सार्वभौम भएकाले निर्विरोध हुने या बढी मत ल्याएर जित्ने वरिष्ठ उपाध्यक्ष र महासचिवलाई नै आफूले मन पराउने भन्दै कसैलाई काखापाखा नगर्ने र मतदान भएको खण्डमा सूची नबाँड्ने पनि सन्देश दिए । ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो, जो या त ऊ निर्विरोध हुन्छ, सबैले मान्छन् या बढी भोट ल्याएर जित्छ । महासचिव पनि त्यस्तो हो, या त निर्विरोध हुन्छ या सबभन्दा बढी भोट ल्याउँछ, उसलाई मैले सबभन्दा बढी मन पराउँछु,’ ओलीले भने, ‘कार्यकर्ताको, प्रतिनिधिको इच्छाबाहिर गएर यो पदाधिकारी मन परेन भनेर उहाँहरूको मताधिकार, महाधिवेशनको गरिमा, निर्णय किञ्चित अनादार गर्न सक्दिनँ । त्यसकारण अगाडि मन पराएर बस्दिनँ, परिणाम आएपछि  ... मन पराउँछु, जो छानिन्छ ।’

शुद्धीकरण र सुदृढीकरण महाधिवेशनको सन्देश 
ओलीले दशौँ महाधिवेशनले पार्टी शुद्धीकरण र सुदृढीकरणको सन्देश प्रवाह गर्ने र त्यसपछि पार्टी एउटै तालसुर मिलाएर अघि बढ्ने दाबी पनि गरे । ‘एमाले फुट्यो, कमजोर भयो भन्ने छ । सरकारमा थियो, प्रतिपक्षमा गयो, यो सत्य नै हो । तर, महाधिवेशनमा हामीलाई शुद्धीकरण र सुदृढीकरणको ठूलो मौका मिलेको छ । पार्टी एउटै लय र तालमा अगाडि बढ्ने मौका मिलेको छ,’ ओलीले भने, ‘केही मानिस चोइटिएर जाँदा शुद्धीकरण र सुदृढीकरणको मौका पनि मिलेको छ । कति ल्याङल्याङ भन्ने प्रचलित शब्द छ, त्यो ल्याङल्याङ समाप्त भएको छ ।’ उनले माधवकुमार नेपालसमेतका नेताहरूलाई पार्टीले अनुशासनको कारबाही गरेको र उनीहरूको समूहलाई पार्टीका रूपमा स्वीकार नगरेकै कारण महाधिवेशनमा निम्तो नगरेको पनि प्रस्ट्याए ।

झापामा महाधिवेशन गर्न प्रचण्डलाई चुनौती 
एमालेले चितवनमा महाधिवेशन गरेकोमा माओवादी र आफूलाई कमजोर गर्न गरेको प्रचण्डको आशंका छ । तर, ओलीले आफ्नो गृहजिल्ला झापामा गएर महाधिवेशन गर्न प्रचण्डलाई चुनौती दिएका छन् । ‘म उहाँलाई आह्वान गर्न चाहन्छु, झापा आएर गर्नुस् न महाधिवेशन बाबा । जिल्ला खाली नै छन् त, ७७ नै त हामीले सिध्याएका छैनौँ । कोही चुनाव कहीँबाट लडेको छ भन्दैमा जिल्लै उसको हुने र त्यहाँ अरूले पाइलै टेक्न नहुने,’ ओलीले भने, ‘उहाँको निर्वाचन क्षेत्रमा एमालेले महाधिवेशन गर्‍यो भन्ने लाग्छ भने तपाईं मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस् न त, दमकमा गरे हुन्छ । 

प्रधानन्यायाधीश मात्रै होइन, न्यायाधीशको पनि राजीनामा 
ओलीले सर्वोच्च अदालतमा देखिएको समस्या प्रधानन्यायाधीशको मात्र नभएर २८ असारको फैसला सुनाउने पाँचै न्यायाधीशको राजीनामाबाट मात्र समाधान हुने तर्कसमेत गरेका छन् । ‘अहिले सर्वोच्च अदालतको प्रांगणमा जे भइरहेको छ । यो बहुत दुःखद छ । र, टाउको दुखेको औषधि नाइटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन,’ ओलीले भने, ‘न्यायिक क्षेत्रमा जे देखिएको छ, बारको भूमिका जे देखिएको छ र विद्वान् अधिवक्ताज्यूहरूको अभ्यास जे देखिएको छ, त्यो सिक्नलायक छैन । न्यायालय मर्यादित होस् भन्ने चाहन्छौँ, निष्पक्ष न्यायालय छ भन्ने सबैले विश्वास गरून्, न्यायालयको मर्यादा माथि उठोस् ।’

प्रतिनिधिको संख्या तीन सय बढ्यो 
एमाले महाधिवेशनमा दुई हजार २९७ प्रतिनिधि सहभागी हुने भएका छन् । यसअघि एक हजार ९९९ प्रतिनिधि सहभागी गराउने निर्णय भएको थियो । तर, संगठित सदस्यता डेढ लाख थपिएकाले प्रतिनिधि संख्या बढेको केन्द्रीय कार्यालयले जनाएको छ । जसअनुसार १९ सय ५६ निर्वाचित र २३८ पदेन प्रतिनिधि हुनेछन् । उनीहरूमध्ये ५७६ महिला प्रतिनिधि निर्वाचित भएर आएका छन् भने मनोनीत प्रतिनिधि संख्या १०३ जना हुनेछन् । 

ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल
महाधिवेशनको बन्दसत्र सञ्चालन गर्न अध्यक्ष केपी ओलीको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र ईश्वर पोखरेल सदस्य छन् । त्यस्तै, नेताहरू सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य छन् । सचिव पृथ्वीसुब्बा गुरुङसहितको माइन्युट कमिटीसमेत गठन भएको छ । कमिटीमा केन्द्रीय सदस्यहरू विष्णु रिजाल, सूर्य थापा, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह सदस्य छन् । (नयापत्रिका दैनिकमा समाचार छ ।)