अमेरिका र चीनको ध्यान दक्षिण एसियामा केन्द्रित

  

काठमाडौँ — दुई ठूला शक्ति मुलुकहरू अमेरिका र चीनले दक्षिण एसियामा आफ्नो प्रभाव बढाउन लागिपरेका छन् । केहि समय अघिसम्म अमेरिका र चीनको रणनीति दक्षिण एसिया भन्ने बित्तिकै भारतमा केन्द्रित हुन्थ्यो ।

विश्वको बदलिँदो भूराजनीतिक फेरबदलसँगै अमेरिका र चीनबीच प्रतिस्पर्धा छ । जसले नेपालसहित दक्षिण एसियाका भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरि ५ साना मुलुकहरूमा पनि अमेरिका र चीनको सक्रियता बढ्न थालेको हो ।

परराष्ट्रविद् दिनेश भट्टराई दक्षिण एसियाको रणनीतिक हिसाबले दिनानुदिन महत्व बढ्दै गइरहेको मान्छन् । ‘त्यसैलाई मध्यनजर गरेर अमेरिका र चीनले यो क्षेत्रका भारतलाई बाहेकका अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्न चाहेका हुन्,’ उनले भने ।

दोस्रो विश्वयुद्ध ९सन् १९४५० पछि नयाँ शक्तिको रूपमा उदाएको अमेरिका तत्कालीन सोभियत संघ (सन् १९९१) ढलेपछि एकलौटी रुपमा विश्व शक्ति रहँदै आएको छ । केहि वर्षयता अमेरिका दक्षिण एसियाली मुलुकमा आफ्नो सक्रियता बढाउन केन्द्रीत छ । अर्कोतर्फ सन् १९७० को दशकको अन्त्यमा देङ सियाओपिङले लिएको आर्थिक उदार नीतिले बलियो बनेको चीन सी चिनफिङ सन् २०१३ मा सत्तामा आएपछि दक्षिण एसियामा पनि आफ्नो ध्यान बढी केन्द्रित गर्न थालेको हो ।

‘चीन चाहि विभिन्न उपायहरू अपनाएर दक्षिण एसियामा प्रभाव बढाउदै छ । चीनको पेरिफेरल डिप्लोमेसी हो । छिमेकीसँग राम्रो सम्बन्ध कायम गर र छिमेकीलाई राम्रो गर भन्ने नीति हो,’ परराष्ट्रविज्ञ भट्टराईले भने । उनका अनुसार चीनले दक्षिण एसियामा सक्रियता बढाउन थालेपछि अमेरिकाले पनि यहाँका साना मुलुकहरूसँग सहकार्य गर्न थालेको अनुमान गर्न सकिन्छ ।

भारतसँग आफ्नो नराम्रो सम्बन्ध भएको चीनले पछिल्लो समय दक्षिण एसियाको पाकिस्तानसँग सुमधुर सम्बन्ध बनाएको छ । चीन–पाकिस्तान आर्थिक करिडोरलाई र दुई मुलुक भएका अन्य सहयोग आदान–प्रदानले सम्बन्धलाई मजबुत बनाएको छ । द्वन्द्वमा रहेको अफगानिस्तानको नयाँ तालिवान सरकारसँग पनि आफ्नो सम्बन्ध विस्तार गर्न लागेको चीन दक्षिण एसियाका नेपालसहित अन्य साना मुलुकहरूसँग सहकार्य बढाइरहेको छ ।

चीनले असारमा भारत, भुटान र माल्दिभ्स बाहेक दक्षिण एसियाली मुलुकहरूमा हुन सक्ने प्रतिकूल स्थितिमा सहयोग गर्न ‘चीन–दक्षिण एसियाली मुलुक आपत्कालीन भण्डारण केन्द्र’ खोल्ने निर्णय गरेको थियो । त्यसै बेला चीनले ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी उन्मूलन र सहकारी विकास केन्द्र’ को स्थापना गरिने घोषणा गरेको थियो ।

उक्त केन्द्रको सदस्यको रुपमा चीनसहित नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई राखिएको छ । त्यस अघि नै चीनले कोरोना भाइरस संक्रमणकै दौरानमा भर्चुअल कन्फरेन्समार्फत चीनले भारतलाई छाडेर नेपाल, पाकिस्तान, अफगानिस्तान र आफू मिलेर कोभिड–१९ क्षेत्रीय सहकार्य गर्ने टोली सन् २०२० को जुलाईमा बनाएको थियो । जसलाई ‘हिमालयन क्वाड’ को संज्ञा समेत दिइएको थियो ।

चीनले सन् २००५ मा बंगलादेशको राजधानी ढाकामा भएको १३ औं सार्क शिखर सम्मेलनमा सार्कको सदस्य बन्न चाहेको थियो । भारतको विरोध भएपछि चीन पर्यवेक्षकमै सिमित हुन पुग्यो । सन् १९५० को दशकमा हिन्दी–चिनी भाई–भाई सम्बन्ध थियो तर १९६२ को भारत–चीन युद्धपछि दुई मुलुक बीचको दुरी बढ्यो । जुन दुरीलाई चिनियाँ राष्ट्रपति सी चिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरको भ्रमण गर्दै घटाउने कोशिस गरेका थिए ।

तर भारतको पछिल्लो समय अमेरिकासँग सम्बन्ध सुधार हुँदै जानु र अर्कोतर्फ सन् २०१७ को डोक्लम आम्नेसामने तथा सन् २०२० को गाल्बन भ्यालीमा भएको द्वन्द्वले चीन दक्षिण एसियामा अन्य मुलुकहरूलाई साथ लिएर अघि बढ्न चाहन्छ ।

नेपाल र एसियाली अनुसन्धान केन्द्र ९सिनास० कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीका अनुसार भारत र चीन सम्बन्धको हिसाबले भारतलाई दबाबमा ल्याउने वा एक्लाउने रणनीति चीनको रहेको देखिन्छ । उनले भने,‘त्यसैले पनि बदलिदो परिस्थितीमा अब भारतमात्र आँखाबाट अन्य दक्षिण एसियाली मुलुकलाई अमेरिकाले हेर्‍यो भने फरक हुन सक्छ ।’ कार्कीले नेपालसहित दक्षिण एसियाका अन्य साना मुलुकहरूले अमेरिकाले भारतीय आँखाबाट हेरेको भन्ने गुनासो गरेका छन् । ‘अर्कोतर्फ नेपालको भारतसँग आफ्नै किसिमको गुनासो छ । यस्तोमा अमेरिकाले पनि नयाँ रणनीति ल्याएको हुन सक्छ,’ उनले भने ।

कार्कीले भने जस्तै अमेरिकाले पछिल्लो समय चीनले जस्तै दक्षिण एसियालाई हेर्नको लागि नयाँ रणनीति ल्याएको छ । भारत र दक्षिण एसियाका मुलुकलाई एउटै डालोमा राखेर एउटै चश्माले हेर्ने गरेको अमेरिकाले अब साना मुलुकहरूसँग छुट्टै सम्बन्ध विस्तार गर्न थालेको हो ।

गत साता भएको अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र उपहासयक विदेश मन्त्री केल्ली किडरलिङको भ्रमणका दौरान अमेरिकाले अब भारतबाहेक अन्य साना दक्षिण एसियाली मुलुकहरूसँग पनि द्धीपक्षीय सम्बन्धलाई जोड दिएर अघि बढाउने संकेत गरेको थियो ।

अर्कोतर्फ अमेरिकी विदेश मन्त्रालयले उपहासयक विदेश मन्त्री किडरलिङलाई नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सलाई मात्र हेर्नको लागि जिम्मेवारी दिएको छ । ‘यसरी नेपालसहितका भारत वरिपरिका मुलुकहरूलाई मात्रै छुट्टै हेर्ने गरि पदाधिकारीनै छुट्टाईएको संभवत यो पहिलो पटक हो,’ एक कुटनीतिक अधिकारीले भने ।

भ्रमणका दौरान संचारकर्मीहरूसँग कुरा गर्दै भारतसँग यस क्षेत्रका अन्य मुलुकलाई जोडेर हेर्न नमिल्ने सहायक विदेश मन्त्री लुले बताएका थिए । ‘हाम्रो भारतसँग राजनीतिक तहमा अत्याधिक कुरा भइरहेको हुन्छ । दुई मुलुकका उच्चअधिकारी छलफलमा जुटिरहेका हुन्छन्,’ उनले भने,‘अमेरिका र भारतबीच उच्चस्तरको समझदारी छ । हामी यही स्तरको समझदारी भारतका छिमेकी मुलुकसँग पनि निर्माण गर्न चाहन्छौं ।’ उपसहायक विदेशमन्त्री किडरलिङ पनि अमेरिकाले नेपाललाई सिधा हेरेको बताइन् ।

भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात अमेरिकाले दक्षिण एसियाका अन्य मुलुकहरूलाई छुट्टै हेर्छ भन्नु भारतीय आँखाबाट हेर्दै आइरहेको छ भन्नेलाई काउन्टर गर्नु रहेको मान्छन् । ‘अर्को चाहि भारत र उसको छिमेकी मुलुकसँगको सम्बन्धलाई अघि बढाएर जानु पर्ने भन्ने हुन्छ । किनकी अमेरिका र भारतको रणनीति र सुमधुर सम्बन्ध रहेको छ ।

जसलाई अमेरिका कुनै पनि हालतमा कमजोर गर्न चाहदैन,’ उनले भने । बस्न्यातले दक्षिण एसिया अमेरिकाको प्राथमिकतामा अझै परेको बताए । ‘र, दक्षिण एसियाका सबै मुलुकमा एउटै धारणा छैन भन्ने पनि बुझिन्छ । यो चिज हुनु भएको चीनको दक्षिण एसियामा चासो बढेरै भएको त हो नी,’ उनले थपे ।

दक्षिण एसियामा चीनले सक्रियता बढाएसँगै अमेरिकाले पनि आफ्नो प्रभावलाई बढाउन चाहेको प्रष्ट हुन थालेको छ । यसले दक्षिण एसिया भूराजनीतिक रुपमा रणनीतिक स्थल बन्न गएको देखिन्छ । कोरोना भाइरसको संक्रमण र त्यसपछिको दौरान पनि चीनले दक्षिण एसियाली साना मुलुकहरूसँगको सम्बन्ध बढाएर ‘भारतलाई एक्लाउने नीति’ र छिमेकमा सम्बन्ध सुमधुर बनाउने नीतिले अमेरिकालाई यस क्षेत्रमा बढी सक्रिय हुनको लागि बाध्य बनाएको छ ।

भूराजनीतिक मामिला जानकार रुपक सापकोटा वर्तमान अवस्थामा भूराजनीति रुपमा हिन्दप्रशान्त क्षेत्र र दक्षिण एसिया केन्द्रित भएको मान्छन् । ‘चीनको पछिल्लो समय दक्षिण एसियाका मुलुकहरूसँग आर्थिक र विकास साझेदारी बढ्दै गएको देखिन्छ । त्यसलाई पनि ध्यानमा राखेर भारत बाहेक अन्य मुलुकलाई पनि छुट्टै गर्नु पर्छ भन्ने हिसाबमा अमेरिका अघि आएको देखिन्छ,’ उनले भने ।

सापकोटाका अनुसार पहिले अमेरिकी नीति अनुसार दक्षिण एसियाली क्षेत्रमा भारतले बढी महत्व पाउदै आएको थियो । ‘र, दक्षिण एसियाका अन्य मुलुकहरूले भारतको आखाबाट हेर्ने गरेको भन्ने धारणा थियो । त्यो सोचलाई चिर्नको लागि नेपाल आएका उच्च अमेरिकी अधिकारीहरूको भ्रमण र उनीहरूको भनाईले प्रष्ट पारेको छ ।’

(कान्तिपुर दैनिकमा समाचार छ)