जनकपुर परिक्रमा सडकबाट जनजीवनमा सहजता

  

महोत्तरी ।  “परिक्रमा पथ भेला सऽ अपन ठाममें पिच सडक पहिलबेर देख पैली” (परिक्रमापथ भएकै हुँदा आफ्नो ठाउँमा कालोपत्रे सडक देख्न पाइयो) । “हरदम गाडी चल्ते रहैछै, आब जनकपुर, जलेश्वर जायलेल बहुत सहज भेल” (जतिबेला पनि गाडी चलिरहेका हुन्छन्, जनकपुर, जलेश्वर जान एकदम सहज भएको छ) । 

परिक्रमापथसँगैको महोत्तरीकै भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी राजोवती अमात र उहाँका छरछिमेकमा  यसरी सडक र गाडी चलेकामा खुशी छाएको छ । धनुषा, महोत्तरीको बाहिरी चक्रपथका रुपमा रहेको जनकपुर परिक्रमा सडक निर्माण सकिँदै छ । यसबाट यस क्षेत्रमा धार्मिक पर्यटनको प्रवद्र्धन मात्रै नभई स्थानीयवासीको समेत जनजीवन सजिलो भएको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सजिलो भएको स्थानीयवासी बताउँछन् । 

एक दशकअघिसम्म परिक्रमा पथमा खेतका गर्‍हा, गोरेटो बाटो र अलि फराकिलो सडक भएका ठाउँमा पनि खाल्डाखुल्डी र कयौँ ठाउँमा धुलाम्य तथा हिलाम्य भएर हिँड्नुपर्ने अवस्था अब अन्त्य भएको छ । परिक्रमा पथको नेपालतर्फ पर्ने धेरैजसो सडक कालोपत्रे भइसकेको छ । यसबाट माध्यमिकी परिक्रमाका यात्रीलाई मात्र नभएर सदाबहार यातायात सञ्चालनले सर्वसाधारण जनताको जीवनस्तरमा सुधार ल्याएको  परिक्रमापथसँगै जोडिएको महोत्तरी, बलवा नगरपालिका–१० धमौरा बस्तीका पूर्वशिक्षक सुशीलकुमार यादवले बताउनुभयो । 

परिक्रमापथमा कालोपत्रपछि मिथिला क्षेत्र भ्रमण गर्ने श्रद्धालु बढेको स्थानीयवासी बताउँछन् । पहिले पैदलै हिँडिने सो यात्रामा पछिल्ला केही वर्षयता सवारी साधनमै परिक्रमापथको परिक्रमा गर्ने बढ्दै छन् । अब माध्यमिकी परिक्रमा धार्मिक यात्रा मात्र नभएर सोख पनि बन्दै गएको यादवको ठम्याइ छ । भङ्गाहामा परिक्रमापथबाहेक आफ्नो नगर क्षेत्रमा एक इञ्च पनि कालोपत्र नभएको उहाँले बताउनुभयो । पचपन्न वर्षीय यादवले भन्नुभयो, “सरकारले अरु सडक बनाउन पनि ध्यान दिनुपर्छ, पिच सडकले अब माध्यमिकी परिक्रमा यात्रालाई आधुनिकीकरण गर्दैछ ।” 
    

परिक्रमा पथ कालोपत्रे भएपछि  व्यापार प्रवद्र्धनमा सहयोगी भएको यस भेगका व्यापारी बताउँछन् । “अब हामी परिक्रमाका बेला पथभित्रका जुनसुकै ठाउँमा दुई घण्टाभित्र पुग्न सक्छौंँ, यसले परिक्रमा अवधिमा मात्र नभएर सधैंँलाई सजिलो बनाएको छ”, परिक्रमापथको छेउमै घर हुनुभएका धनुषा क्षीरेश्वर नगरपालिका, महेन्द्रनगरका मसला उद्यमी लक्ष्मण साहले भन्नुभयो, “तर सडक कालोपत्रे भने दुई वर्षभित्रै उप्किन थालेको छ, सम्बद्ध पक्षले यसको गुणस्तरमा चैंँ ध्यान दिनु पर्‍यो ।” 

अन्य धार्मिक चाडबाड र सांस्कृतिक उत्सवजस्तै माध्यमिकी परिक्रमा भारत –नेपाल सम्बन्धको बलियो सेतु भएको महोत्तरी, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । “सो सडकको निर्माणले पनि सो सम्बन्धलाई समेत मजबुत बनाएको छ । साउने मेलामा भारतको वैद्यनाथधाम जाने नेपालीको लामो लर्को हुन्छ, त्यसैगरी रामजानकी विवाह महोत्सवमा हजारौंँ भारतीय श्रद्धालु मटिहानीकै बाटो हुँदै जनकपुर पुग्छन्”, मण्डल भन्नुहुन्छ, “पछिल्लो कालमा परिक्रमापथ कालोपत्र भएपछि साधुसन्त मात्र नभएर सबै वर्गतप्काका भारतीयको यस पथमा घुमफिर बढेको छ ।” परिक्रमापथले नेपाल र भारत दुवैतर्फका भूभाग समेटेको हुँदा यो दुवैबीचको सांस्कृतिक सम्बन्धको अब्बल सेतु बनेको मण्डल बताउनुहुन्छ । 

धार्मिक महत्वको सो सडकमा त्रेता युगमा रामजानकीको विवाहदेखि परिक्रमा  शुरु भएको मानिन्छ । परिक्रमापथले धनुषा र महोत्तरी जिल्ला तथा भारतको केही भाग समेट्छ । नेपालको ९७ र भारतको १५ किमी  यसमा पर्छ । सो सडकको निर्माण पाँच ठेक्कामा भइरहेकामा दुई सम्पन्न भइसकेको छ । बाँकी तीन पनि चैतसम्म सम्पन्न हुने जनकपुर परिक्रमा सडक योजनाले जनाएको छ । 

धनुषा र महोत्तरीको बाहिरी चक्रपथका रुपमा रहेका सडक अधिकांश ठाउँमा बनिसकेको छ । निर्माण सम्पन्न भइसकेर हस्तान्तरण नभए पनि सडक सञ्चालनमा छ । यसबाट स्थानीयवासीले सुविधा पाइरहेको योजनाका प्रमुख रामटहल यादवले बताउनुभयो । सडक निर्माण हुँदा जिल्लाका विकट ठाउँका बासिन्दा बढी लाभान्वित छन् । 

पहिले यस क्षेत्रका बासिन्दा साँघुरो गोरेटोबाट यात्रा गर्थे ।  अहिले ओहोरदोहोर गर्न र आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन सहयोग भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले हिउँदमा तीनचार महिना मात्रै मुस्किलले यात्रा गर्न सम्भव भएकामा अहिले सडक बाह्रै महिना सञ्चालनमा  छ ।” 

सो सडक निर्माण गर्नु पहिले निर्माणस्थल खाली गर्न समस्या भएको प्रमुख यादवले बताउनुभयो । जग्गाको मुआब्जाबापत दिइनुपर्ने पैसा अभावले गर्दा निर्माणमा लामो समय लागेको थियो । जग्गा प्राप्तिको बढी समस्या रहेका ठाउँमा मटिहानी, जलेश्वर, सुगा, लोहारपटी, क्षीरेश्वर, धनुषाधाम, सहिदनगर, औरही र धनौजी थिए । 

अहिले घरको आंशिक क्षतिपूर्ति दिएर निर्माणस्थल खाली गराइएको प्रमुख यादवले बताउनुभयो । अझै पनि स्थानीयवासीले पूर्ण रुपमा क्षतिपूर्ति पाइसकेका छैनन् ।  धनुषामा रु १५ करोड र महोत्तरीमा रु १२ करोड स्थानीयवासीलाई दिन बाँकी रहेको जनाइएको छ । स्थानीयवासीले समयमा आफूले क्षतिपूर्तिबापत पाउनुपर्ने रकम भुक्तानीमा ढिलाइ हुँदा दिनहुँ ताकेता गरिरहेका छन् । यसले गर्दा बाँकी ठाउँका निर्माणमा ढिलाइ भएको प्रमुख यादवले बताउनुभयो । सडक ९७ किमी रहेकामा ३५ किमी बस्ती क्षेत्रमा पर्छ । उहाँले भन्नुभयो, “स्थानीयवासीलाई क्षतिपूर्ति दिनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको छ ।” 

भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माणाधीन सो सडकको कुल बजेट रु एक अर्ब ५० करोड छ । परिक्रमा पथमा पर्ने नै १५ किमी सडक भारतमा पर्छ । भारत सरकारले अझैसम्म निर्माण शुरु गरिनसकेको उहाँले बताउनुभयो ।  

सडक निर्माणका क्रममा निर्माण व्यवसायीको अवधि पटकपटक थपिएको योजनाले जनाएको छ । यसअघि तीन पटक अवधि थप भएको थियो । अहिले आगामी चैतसम्म अवधि बाँकी भएको र सो अवधिसम्म सडक निर्माण सम्पन्न भइसक्ने प्रमुख यादवको भनाइ छ । निर्माण व्यवसायीको कारणभन्दा पनि निर्माणस्थल खाली गर्न नसकिएकाले सडक निार्मणमा ढिलाइ भएको हो । 
    
सडक सुधार आयोजनाका रुपमा जम्मा १० मिटर चौडाइमा सडक कालोपत्र भइरहेको छ । सडकमा सात पुल रहेकामा हालसम्म तीन सम्पन्न भइसकेको र बाँकीको अन्तिम काम भइरहेको छ । गत वर्षमा मुआब्जा विवादकै कारणले बस्ती क्षेत्रमा काम हुन नसकेको प्रमुख यादवले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीयस्तरमा समेत समन्वय गरेकाले अहिले काम अघि बढेको छ । चालु आवको पहिलो केही महिनासम्म वर्षालगायत कारणले काम हुन सकेको थिएन । चालु आवमा नै अहिलेसम्म पाँच किमी सडक सम्पन्न भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री, सचिव र सडक विभागबाट पटकपटक पुगेर सडकको अवलोकन भइरहेको छ ।”

मिथिला माध्यमिकी परिक्रमा रामसीताले विवाहपछि वनविहार गर्ने क्रममा डुलेका ठाउँको सम्झनामा गरिने यात्रा मानिन्छ । यसलाई रामसीताका पदचिह्न पछ्याइएको रुपमा पनि विश्वास गरिन्छ । माध्यमिकी परिक्रमाको प्रारम्भदेखि १५ औँ दिन रङ्गभूमि नपुगुञ्जेल यो यात्रा प्रसङ्ग रामसीतासँग जोडिए पनि १५ औँ दिनको राति हुने ‘होलिकादहन’, १६ औंँ दिन अन्तर्गृह परिक्रमा सक्दै गर्दा उडाइने ‘धुरा’ र सोपछि खेलिने फागुको प्रसङ्ग भने सत्ययुगमा राक्षसराज हिरण्यकशिपुले विष्णुभक्त पुत्र प्रल्हादलाई मार्न गरेको षड्यन्त्र र नरसिंह अवतारका विष्णुले हिरण्यकशिपुको संहार गरेको खुशीसँग जोडिएको कथा छ । 

धनुषाको ठेराकचुरीबाट फागुन औँसीको दिन अवधविहारी (राम) को डोलासाथ यात्रा प्रारम्भ हुने गरेको छ । यात्री जनकपुर पुगेपछि अग्निकुण्डबाट किशोरीजी (जानकी) को डोला यात्रामा सामेल हुन्छन् । जनकपुरधामस्थित रङ्गशालाबाट जानकी र राम मन्दिरको प्रदक्षिणा गर्दै यात्रीको टोली धनुषाकै हनुमानगढी पुगेपछि पहिलो दिनको रात्रि विश्राम लिन्छ ।

दोस्रो दिन फागुन शुक्ल प्रतिपदाका दिन रामजानकीको डोलासहित साधुसन्त र श्रद्धालु भक्तजनको  दिनको यात्रा हनुमानगढीबाट अघिल्लो बासका लागि प्रस्थान गर्छ । सो दिन भारतको कल्याणेश्वर ९कलना० मा रात्रिबास गरी  यात्रीले सदाशिव कल्याणेश्वरको दर्शन र  पूजाराधना गरेर यात्रा अवधिको मङ्गल कामना गर्छन् ।

कलनाबाट तेस्रो दिनको रात्रिविश्रामका लागि यात्री टोली भारतकै मधुवनी जिल्लाको तीर्थस्थल गिरिजास्थान (फुलहर) पुगी बास बस्छ । सो ठाउँ गिरिजा (हिमालयपुत्री पार्वती) ले तपस्या गरेको ठाउँ मानिन्छ ।  चौथो दिन परिक्रमा टोली नेपाल भारत दशगजा कट्दै महोत्तरी प्रवेश गरेर मटिहानीमा रात्रिबास बस्छ ।मटिहानी ‘रामायण’ कालीन जनश्रुतिअनुसार रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ हो जहाँ मुलुकभरिकै मठहरूको नायक लक्ष्मीनारायण मठ छ । यात्रीले यहाँ वेदी बनाउन माटो खनिएको लक्ष्मीसागरमा सन्ध्या आरती गर्छन् र लक्ष्मीनारायणको दर्शन पूजााराधना गर्छन् । 

पाँचौँ दिन जलेश्वरमा रात्रिविश्राम बसिन्छ । सो  ठाउँलाई  जलेश्वर शिव विराजमान रहेको पवित्र तीर्थस्थल मानिन्छ । छैटौँ दिन महोत्तरीकै मडैमा रात्रिविश्राम हुन्छ । सातौँ दिन ध्रुवकुण्ड (महोत्तरी) मा रात्रिविश्राम हुन्छ जहाँ सत्ययुगमा राजा उत्तानापादका छोरा ध्रुवले तपस्या गरेर  विष्णुलाई प्रसन्न गराएको मानिन्छ । अहिले बलवा नगरपालिका–९ मा पर्ने सो स्थल वरिपरि इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेको र  यात्रीलाई तिनले न्यानो स्वागत र बिदाइ गर्छन् । 
    
यात्राको आठौँ दिन कञ्चनवन ९महोत्तरी० मा रात्रिविश्राम हुन्छ । अहिले भङ्गाहा–९ मा पर्ने कञ्चनवनमा  रामसीता वनविहार गर्दै  आपसमा रङ, अबिर खेलेको विश्वास गरिन्छ । यसै विश्वासानुसार यात्राको आठौँ दिन कञ्चनवन पुगेर यात्रीले रङ, अबिर खेलेपछि मिथिलामा होली विधिवत् सुरु हुन्छ । 

नवौँ दिन धनुषाको पर्वतामा रात्रिविश्राम हुन्छ । कञ्चनवनबाट पर्वता पुग्ने क्रममा यात्रीले बाटामा पर्ने क्षीरेश्वरनाथ महादेवको दर्शन गरेर मन्दिर परिसरमै दिवा भोजन गर्छन् । दशौँ दिन धनुषाधाममा रात्रिविश्राम हुन्छ । धनुषाधाम रामले शिव धनुमा ताँदो चढाउँदा भाँच्चिएर एक टुक्रा उछिट्टिएर झरेको ठाउँ मानिन्छ जहाँ धनुषको टुक्राको दर्शन र पूजाराधना हुन्छ ।  

एघारौँ दिन धनुषाकै सतोखरधाममा रात्रिबास बसिन्छ । बाह्रौँ  दिन धनुषाको औरहीमा रात्रिवश्राम बसिन्छ भने तेह्रौँ दिन यात्री फेरि भारत प्रवेश गर्छन् । उनीहरु रात्रिविश्राम मधुवनी जिल्लाको करुणामा गर्छन् ।

चौधौँ दिनमा मधुवनीकै बिसौलमा रात्रिबास हुन्छ । बिसौलबाट १५ औंँ दिन बिहान जनकपुरका लागि यात्रा प्रारम्भ हुन्छ । यसक्रममा दोस्रो विश्रामस्थल कल्याणेश्वरमा दर्शन गर्दै सीमा कटेर नेपाल प्रवेश हुन्छ । यसपछि दोस्रो दिन यात्रा गरिएको बाटो हुँदै पुनः जनकपुर आगमन हुने गरेको छ ।  पन्धौँ दिनको बास जनकपुरस्थित रङ्गभूमि मैदानमा हुन्छ । यसै रात मिथिलामा राक्षसी प्रवृत्तिकी होलिकाको आकृति बनाएर दहन गरिने चलन छ । 

सोह्रौँ दिन बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरी माध्यमिकी यात्रा सम्पन्न हुन्छ । अन्तर्गृह परिक्रमाका क्रममा होलिकादहन गरिएको ठाउँको खरानी उडाएर यात्रीहरू रमाइलो गर्छन् । यसलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ । धुरा उडाएपछि मिथिला रङ, अबिरको खेलमा मस्त हुन्छ ।