पृथ्वीनारायणः जनताको मनमा छन्, सरकारको आँखामा छैनन्

  

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नै हुन् भन्नेमा कसैमा कुनै विमती छैन । आमनेपाली सबैले यस वस्तुतथ्यलाई स्वीकार गरेका छन् । विश्वका कुनै पनि मुलुकमा राष्ट्रनिर्मातालाई गरिने सम्मान, आदर र  प्रतिष्ठाको कुनै सीमा हुँदैन । उनीहरु देशको जग बसाउने, देश र जनताको पहिचान स्थापित गराउने तथा प्रगति र समृद्धिको मार्गमा देशलाई अघि लैजाने अटल दृढता र इच्छाशक्ति भएका स्तुत्य व्यक्तिहरु हुन् । समकालीन विश्वमा हामीले नियाल्ने हो भने जुनसुकै परिस्थितिबाट होस् राष्ट्रनिर्माणको अगुवाई गर्ने व्यक्तिहरुलाई त्यो राष्ट्रले सदैब उच्च सम्मान प्रकट गरेको देखिन्छ ।

छिमेकी मित्रराष्ट्र भारत र चीनकै उदाहरण लिउँ । भारतले अहिंसात्मक आन्दोलनका विशिष्ट महापुरुष महात्मा गान्धीलाई राष्ट्रपिताका रुपमा भारतले विशिष्ट सम्मान दिइरहेको छ । चीनले पनि आधुनिक चीन स्थापनामा विशिष्ट योगदान गर्नु भएका माओत्से तुङलाई उच्चकोटीको सम्मान दिइरहेको छ । अझ पर हेर्ने हो भने संयुक्तराज्य अमेरिकाले स्वतन्त्र अमेरिका बनाउने र संविधान मार्फत देशलाई जोड्ने महान कार्य गरेका जर्ज वासिङटन, थोमस जेफरसन जस्ता व्यक्तिलाई अमेरिकी स्वतन्त्रताका पिताका रुपमा लिइरहेको छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलालाई राष्ट्रपिताका रुपमा स्मरण गरिन्छ । विश्वका कैयौं देशमा राष्ट्रनिर्माण र स्वतन्त्रताका प्रतिमूर्तिहरुलाई अनेक विधिबाट स्मरण र आदर गर्ने गरिएको पाइन्छ ।

नेपालमा भने राष्ट्रनिर्माता पृथ्वीनारायाण शाहको योगदान बारेमा विरोधाभाषपूर्ण भाष्य निर्माण गरिएको छ । गोरखाको सानो राज्यलाई बिस्तार गरेर एउटा विशाल नेपाल बनाउने सपना बोकेका पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणको जग बसाउनु भएको सत्य हो, र त्यो घामझैं छर्लङ्ग छ । यससँगै भारतलाई उपनिवेश बनाइसकेको बेलायती सेनाको आक्रमणलाई पनि रोक्नु त्यसबखत चानचुने कुरा थिएन । भन्नै पर्छ, वीरता र पराक्रम बेगरको, कुनै अठोट बिनाको र जनताको समर्थन बेगरको राज्य विस्तार अभियानले आशातित परिणाम दिन सक्दैन । यो महान अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन पृथ्वीनारायण शाहको चातुर्य, कौशल र पराक्रम सधैं स्मरणीय छ । राष्ट्र निर्माणको महान कार्यमा भएका कतिपय घटनाक्रमलाई अहिले झण्डै ३०० वर्षपछि भ्रम छर्ने किसिमले व्याख्या, विश्लेषण गर्न खोज्नु किमार्थ सुहाउने कुरा होइन । राज्य विस्तारजस्तो ठूलो कार्यमा हुन सक्ने एकाध घटनालाई उदाहरणका रुपमा प्रस्तुत गरेर पृथ्वीनारायण शाहलाई दोषी देख्नु मुर्खताबाहेक केही होइन ।

पृथ्वीनारायण शाहलाई हामी नेपालीले पृथ्वीजयन्तीका रुपमा मात्र होइन, राष्ट्रिय एकता दिवसका रुपमा पनि स्मरण गर्ने र मनाउने गरिआएका हौं । राष्ट्रनिर्मातालाई दलीय दृष्टिकोण र चस्माबाट हेर्ने प्रवृत्ति नै गलत छ । नेपाल राज्यको निर्माणका अग्रणी महापुरुषलाई सम्मान त स्वतः राज्यले गर्नुपर्ने हो जसमा राज्य नराम्रोसँग चुकेको छ । हामीले केही वर्षदेखिका सरकारहरुका कृयाकलापहरु हेर्ने हो भने ती दलहरु कुनै स्वार्थ समूहको लहैलहैमा लागेर यस्ता विशिष्ट व्यक्तिको योगदानलाई धुलिसात पार्न उद्यत देखिन्छन्, जुन आफैंमा दुर्भाग्यपूर्ण हो । राज्यका हर्ताकर्ता दलहरु मात्र होइन, स्वार्थप्रेरित एवं तथाकथित केही नागरिक समूह, लेखक र बुद्धिजीवीहरुले पनि पृथ्वीनारायण शाह विरोधी अतिरंजनापूर्ण अभिव्यक्ति दिइरहेको पाइन्छ ।

अहिले नेपाली जनमनले पृथ्वीनारायणको योगदानलाई स्मरण गरिरहेको छ, र हरेक वर्ष जनस्तरमा हुने कार्यक्रमहरु बढ्न थालेका छन् जुन आफैंमा एउटा सकारात्मक चेतको झल्को हो । कतिपय दलका केही नेताहरु र स्वतन्त्र व्यक्तिहरुले पृथ्वीनारायण शाहलाई राज्य र सरकारले पर्याप्त सम्मान नदिएकामा असन्तुष्टी प्रकट गरिरहेका छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग दह्रो रुपमा उठिरहेको छ । अहिले राजनीतिक संक्रमणकालको अन्त्य भएर संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको अवस्थामा जनस्तरबाट उठेको यो आवाजलाई सरकारले बेलैमा सम्बोधन गर्नु बुद्धिमानी हुन्छ । भारतका राष्ट्रपिताका रुपमा रहेका महात्मा गान्धीमाथि पनि अनेक आरोप लगाउने गरिन्छ, र गान्धीका विचारबाट क्रुद्ध नाथुराम गोड्सेले गान्धीको हत्या समेत गरेका थिए । तर भारत सरकारले गान्धीलाई कहिल्यै अपमान गरेन, अझ बढी सम्मान दिएको छ । त्यही कारण, नेपालले पनि यस्ता सन्दर्भहरुलाई अध्ययन, चिन्तन र विचार गरी पृथ्वीनारायण शाहलाई यथोचित सम्मान दिन ढिला गर्नु हुँदैन ।

न्यूजपोलार संपादकीय