कोभिड-१९ : १३७ प्रकारका खोप परिक्षणमा

  

काठमाडौं ।  विश्वभरि अहिले १३७ कोभिड–१९ खोप क्लिनिकल परीक्षणहरूबाट गुज्रिरहेका छन् र १९४ प्रि–क्लिनिकल विकासमा छन्। जब खोपहरू मानव क्लिनिकल परीक्षणमा पुग्छन्, मुख्यरूपमा खोपको सुरक्षा परीक्षण गर्न, खुराकहरू निर्धारण गर्न र थोरै सङ्ख्यामा मानिसहरूमा कुनै पनि सम्भावित साइड इफेक्टहरू पहिचान गर्न तिनीहरू पहिलो चरण १ परीक्षणमार्फत जान्छन ।

यसैगरी चरण २ परीक्षणले थप सुरक्षा अन्वेषण र ठूला समूहहरूमा प्रभावकारिता अनुसन्धान गर्न थाल्छन्। चरण ३ को परीक्षणमा हजारौँ वा दशौँ हजार व्यक्तिहरू संलग्न हुन्छन् । यो चरणमा भ्याक्सिनको प्रभावकारिता पुष्टि गर्न र मूल्याङ्कन गर्न र त्यहाँ कुनै दुर्लभ साइड इफेक्टहरू छन् वा छैनन् भन्ने परीक्षण गरिन्छ । 

अन्तिम चरण अर्थात चरण ४ मा परीक्षणलाई राष्ट्रिय नियामकबाट अनुमोदन भएपछि लागु गरिन्छ । राष्ट्रिय नियामक अधिकारीहरूले २९ वटा कोभिड–१९ खोपका लागि आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरेका छन् ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा मान्यता प्राप्त कम्तिमा एउटा कडा नियामक प्राधिकरणद्वारा आठ खोपहरूलाई आपतकालीन वा पूर्ण प्रयोगको लागि अनुमोदन गरिएको छ ।

ती हुन् :फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, सिनोफार्म बीआईबीपी, मोडर्ना जेनसेन, कोरोनाभ्याक, कोभ्याक्सिन र नोभाभ्याक्स।

स्पुतनिक भी, सिनोफार्म डब्ल्यूआइबीपी, कोन्भिडिसिया, सानोफी–जीएसके र एससीबी–२०१९ डब्ल्युएचओ मूल्याङ्कनभित्र परेका छन् । 

केही देशमा खोपलाई यात्रा उद्देश्यका लागि मात्र मान्यता दिइएको छ । ती खोप सामान्य जनसङ्ख्याका लागि स्वीकृत नहुन सक्छन् ।

हाल बढी प्रचलनमा रहेका केही खोपहरु निम्न छन् I

१) अक्सफोर्ड–एस्ट्राजेनेका: अक्सफोर्ड–एस्ट्राजेनेका कोभिड–१९ खोप भ्याक्सजेभरिया र कोभिशिल्ड ब्रान्ड नाममा बेचिएको भाइरल भेक्टर खोप हो । यो खोप ब्रिटिश युनिभर्सिटी अफ अक्सफोर्ड, ब्रिटिस–स्वीडिश कम्पनी एस्ट्राजेनेका र कोलिसन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसनले उत्पादन गरेका हुन् । 

फिनल्याण्ड, डेनमार्क र नर्वेले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको  प्रयोगलाई बन्द गरे किनभने थोरै सङ्ख्यामा रगत जम्ने दुर्लभ विकारको रिपोर्ट आएको थियो। स्लोभाकियाले खोप प्राप्तकर्ताको निधन भएपछि यसको प्रयोगलाई निलम्बन गर्यो । 

अष्ट्रेलिया, ब्राजिल र क्यानाडाले यो खोपलाई पूर्णमात्रामा लागु गरेका छन् भने नेपालसहित १७१ मुलुकले आपत्कालीन अवस्थामा यसको प्रयोग गरेका छन् । 

२) फाइजर–बायोएनटेक : फाइजर–बायोएनटेक कोभिड–१९ खोप कोमिर्नाटी नामको ब्रान्ड अन्तर्गत विक्री गरिन्छ । जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले यो खोपको विकास गरेका हुन् ।

दश मुलुकले यसको पूर्ण प्रयोग गरेका छन् भने नेपालसहित १३७ मुलुकमा आपत्कालीन अवस्थामा यसको प्रयोग गरिन्छ । 

३) जानसेन: जानसेन कोभिड–१९ खोप एक भाइरल भेक्टर खोप हो । जानसेन फर्मास्युटिका (जोनसन एन्ड जोनसनको सहायक कम्पनी) र बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरद्वारा यो खोपको विकास गरिएको हो । यसलाई जोन्सन एन्ड जोन्सन कोभिड–१९ भ्याक्सिन र कोभिड–१९ भ्याक्सिन जानसेन पनि भनिन्छ। खोप र दुर्लभ रगत जम्ने विकारबीचको सम्भावित सम्बन्धका कारण अन्य खोप उपलब्ध भएपछि डेनमार्क, फिनल्याण्ड र नर्वेले जान्सेन भ्याक्सिनको प्रयोग बन्द गरे । जानसेन एडेनोभाइरस भेक्टर खोपको प्रयोग फिनल्याण्डमा अक्टोबर २०२१ मा सुरु भएको थियो। यो ६५ वर्ष वा माथिका मानिसहरूलाई मात्र प्रस्ताव गरिएको छ किनभने कम उमेर समूहहरूमा थ्रोम्बोसिस नामक धेरै दुर्लभ जोखिम हुन्छ।

यो खोपलाई अस्ट्रेलिया, क्यानाडा र स्विट्जरल्याण्डले पूर्णमात्रामा लागु गरेका छन् भने नेपालसहित ११९ मुलुकले यसको आपत्कालीन प्रयोग गरेका छन् ।

४) मोडर्ना: मोडर्ना कोभिड–१९ खोपलाई स्पाइकभ्याक्स पनि भनिन्छ । अमेरिकी कम्पनी मोडर्ना, द युएस नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज, द युएस बायोमेडिकल एडभान्स्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी र कोलिसन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसनले यो खोपको उत्पादन गरेका हुन् । 

अस्ट्रेलिया, क्यानाडा, स्विट्जरल्याण्ड र बेलायतले यो खोपलाई पूर्णमात्रामा लागु गरेका छन् । नेपालसहित १०३ मुलुकले यसको आपत्कालीन प्रयोग गरेका छन् । 

५) सिनोफार्म बीआइबीपी : सिनोफार्म कोभिड–१९ खोप चाइना नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) र यसको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको एक निष्क्रिय भाइरस खोप हो। 

बहराइन, सिसेल्स, चीन र संयुक्त अरब इमिरेट्सले यो खोपलाई पूर्णमात्रामा लागु गरेका छन् । नेपालसहित १०६ मुलुकले यसलाई आपत्कालीन अवस्थामा प्रयोग गरेका छन् । एजेन्सीको सहयोगमा