२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते



अ+ अ-

काठमाडौं, १३ असार । स्वतन्त्र उम्मेदवारहरुले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरुको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो । भेलाको स्थान तय हुन भने बाँकी रहेको जानकारी दिइएको छ ।

स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरुलाई उपस्थितिको लागि आह्वान गरेका छन् । राष्ट्रिय भेलालाई ‘संयुक्त बिशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र अभियानकर्ता हरिशरण लामिछानेले नेपालको राजनीतिमा देखिएका कमी कमजोरी, चुनौति र विकृतीलाई चिरेर स्पष्ट सोच र दृष्टिकोण भएका गैरराजनीतिक व्यक्तिहरु राजनीतिमा प्रवेश गर्नु सुखद पक्ष भएको बताए । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका सुमन सायमीजस्तै व्यक्तिबाट आफु प्रभावित भएको सुनाए ।

जब–जब राष्ट्रको राजनीतिले सहि दिशा लिन सक्दैन् तब–तब त्यसको विकल्पमा वैकल्पिक शक्तिको उदय हुने उनको भनाई थियो । लामिछानेले माओावादीले गरेको सशस्त्र संघर्षले पनि मानिसको आकांक्षा पुरा गर्न सक्दैन भन्ने मान्यता स्थापित भइसकेको जिकिर गरे । तर, उनले शसस्त्र संघर्षबाट केही उपलब्धी हासिल भएको भने स्वीकारे ।

उनले जो कोहीलाई पार्टी खोलेर राजनीतिमा जाने व्यवस्था भएपनि त्यसमा अझै केही कमी देखेर नै स्वतन्त्र भावनाबाट एकित्रित हुन खोजेको बताए । उनले स्वतन्त्रमा युवाहरुको बढी चासो र सहभागीता धेरै भएको समेत दाबी गरे ।

उनले भने,‘समाजमा पिछडिएका वर्ग, वृद्धावृद्धाको आवाज उठाउने, बलात्कारको घटना, समाज रुपान्तरणमा अहम भुमिका खेल्ने तर पर्दा पछि रहेका व्यक्तिहरुको लागि आकर्षित गर्नका लागि पनि आज स्वतन्त्रको आवश्यकता छ ।’

त्यस्तै, अर्का स्वतन्त्र अभियानकर्ता दिनेश सुवेदीले निष्पक्ष,निडर जहिले पनि निर्भिक, सत्य र न्यायको पक्षमा लड्ने सहिलाई सही र गलतलाई गलत भन्ने देशभरीको जमातलाई स्वतन्त्रको रुपमा हेरिने बताए । उनले गत स्थानीय चुनावमा स्वतन्त्रको उम्मेदवारहरुको लहर नै चलेको दाबी गरे ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङसहित ३८५ जना जनप्रतिनिधि निर्वाचित भएसँगै अबको स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारमात्र जान पर्ने नीति स्थापित गर्नुपर्नेमा जोड दिए । सुवेदीले स्वतन्त्रहरुको उदय हुनु देशकै महत्वपुर्ण उपलब्धी भएको बताए । स्वतन्त्रहरु परिवर्तन चाहने भन्दै उनले नेपालमा व्यवस्था परिवर्तत भएपनि आम जनताको अवस्था परिवर्तन नभएको बताए । सुवेदीले देशमा धेरै पटक विभिन्न नीति आएपनि कार्यान्वयन नभएको भन्दै दुखेसो पोखे । उनले भने,‘नेताहरुको चित्रमा परिर्वतन आएपनि उनीहरुको चरित्र परिवर्तन भएको छैन् ।’ प्रणालीगत समस्यालाई चिरेर मुलुक अब परिवर्तनको दिशामा जानुपर्नेमा उनले जोड दिए । हाल मुलुक राजनीतिक भागवण्डा र राजनीतिक सिण्डिकेटले अस्तव्यस्त भइसकेको भन्दै स्वतन्त्र उम्मेदवारहरुले परिवर्तन चाहेको उनले बताए ।

१८ गते राष्ट्रिय भेलाको आयोजना गरेको भन्दै देशभरका स्वतन्त्रहरुलाई उपस्थित हुनलाई आग्रह गरे । यसैगरी, अर्का स्वतन्त्र अभियानकर्ता सुमन सायमीले गत स्थानीय निकायमा अधिकारको लागि आवाज उठाउने क्रममा आफु स्वतन्त्रको उम्मेदवार भएको बताए । उनले आफुले १३ हजार बढी सम्मान जनक मत पाएको सुनाए ।

आगामी १८ गते राष्ट्रिय भेलामार्फत मंसिरमा हुने प्रदेश र संघको चुनावमा कसरी अघि बढ्ने भनेर देशव्यापी स्वतन्त्र उम्मेदवारहरुलाई बोलाएर छलफल गर्न लागेको जानकारी दिए ।

विचार र सिद्धान्त नभई अघि बढ्न नसकिने उनको भनाई थियो । स्वतन्त्रहरुको राष्ट्रिय भेलाको निर्णय अनुसार अघि बढ्ने स्पष्ट पारे । सायमीले गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्रले जितेपछि राजनीतिक दलहरु सचेत भइसकेको बताए ।
पर्वतरोही तथा स्वतन्त्र अभियानकर्मी माया गुरुङले आफु अब गाउँ बनाउन तिर लागेको बताइन् । स्वतन्त्र हिसाबले गत स्थानीय तहको चुनावमा उम्मेदवारी दिएको उनले जानकारी दिइन् ।

उनले भनिन्,‘राणा शासनबाट प्रजातन्त्र र प्रजातन्त्रबाट आज लोकतन्त्र आएपनि पार्टीहरुको दास भएको महसुस भएर स्वतन्त्र हुन खोजियो ।’ अन्यायको विरुद्ध आफुहरु लागेको उनले सुनाइन् । अहिले देशैभर स्वतन्त्रहरुले राम्रो सुरुवात गरेकोमा खुशी व्यक्त गरिन् । अब देश स्वतन्त्र व्यक्तिहरु नै मिलेर बनाउने उनले धारणा राखिन् ।

अर्का अभियानकर्ता दिनेश खनालले राजनीतिक दलको झुटो वचन र कर्मप्रति फरक भएकोले स्वतन्त्र ढंगले आफ्नो समुह अघि बढेको बताए । गत स्थानीय चुनावमा पनि काठमाडौं महानगरमा बालेन्द्र साहलाई भरपुर सहयोग गरेको जानकारी दिए ।

उनले भने,‘पार्टीगत रुपमा झुटा मुद्दालाई हेरेर नेपाली जनतालाई भोट हाल्न नलगाउने भनेर बालेन शाहलाई भरपुर सहयोग गरेर जितायौं । अब संसदमा सुमन सायमीलाई पुर्याउन सहयोग गछौैं, उहाँले जनताको आवाज संसदमा पु्रयाउनु हुनेछ ।’

त्यस्तै, अभियानकर्ता राजानन्द माण्डपले आफुहरु स्वतन्त्र भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी नभएको बताए । र, आफुहरुकै अभियानले उक्त नामविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको समेत बताए ।

स्वतन्त्र अभियानकर्मी डम्बर साहुले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए ।