एजेन्सी । युक्रेनमाथिको आक्रमणको तेस्रो दिन रुसले युक्रेनका ८०० सैन्य आधारहरू ध्वस्त पारेको दाबी गरेको छ । यसमा १४ सैन्य एयरफिल्ड, १९ कमाण्ड पोस्ट, २४ एस ३०० एन्टि-एयरक्राफ्ट मिसाइल प्रणाली र ४८ रडार स्टेशनहरू समावेश रहेको बताइएको छ । यसबाहेक युक्रेनी नौसेनाका ८ डुङ्गा पनि ध्वस्त भएका छन् ।
यसअघि युक्रेनको राजधानी किभमा ठूलो हमला भएको थियो । विस्फोटबाट धेरै आवासीय भवनहरूमा ठूलो क्षति पुगेको छ भने रसियाले मेलिटोपोल सहर पनि कब्जा गरेको समाचार छ ।
यता युक्रेनले भने ३,५०० रुसी सैनिक, ०२ ट्याङ्क, १४ विमान र ८ हेलिकप्टर मारेको दाबी गरेको छ ।
यससँगै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न बेलायत र अमेरिकासहित २८ देश अगाडि आएको र ती देशले रुससँग सामना गर्न हतियार दिने दाबी गरेका छन् ।
यसअघिको परिस्थितिलाई ध्यानमा राख्दै अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६० करोड डलर सुरक्षा सहायता दिने घोषणा गरेको थियो ।












