एजेन्सी । युद्धको तेस्रो दिन रुसले युक्रेनको राजधानी किभमा ठूलो हमला गरेको छ । विस्फोटबाट धेरै आवासीय भवनमा ठूलो क्षति पुगेको छ ।
यसअघि रुसले मेलिटोपोल सहर कब्जा गरेको थियो । यसैबीच, युक्रेनले ३,५०० रुसी सैनिक, ०२ ट्याङ्क, १४ विमान र ८ वटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।
यसैक्रममा अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६० करोड डलर सुरक्षा सहयोग दिने घोषणा गरेको छ ।
यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसविरुद्ध निन्दा प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावको पक्षमा ११ र विपक्षमा १ मत परेको थियो । भारत, चीन र युएईले मतदानमा भाग लिएनन् । तर, रुसले भिटो शक्ति प्रयोग गरेर यो निन्दा प्रस्ताव अस्वीकार गर्यो ।
रुसी आक्रमणसँग लड्न युक्रेनको आन्तरिक मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पेट्रोल बम बनाउने जानकारी दिएको छ । यस्तै, समाचार स्रोतका अनुसार किभमा स्वयम्सेवकलाई १८ हजार मेसिन गन दिइएको बताइएको छ ।












