२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङको आवाजले अझै झस्काइरहन्छ



अ+ अ-

देउखुरी । तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो । यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए ।

मङ्गलबार बेलुकी करिब साढे ५ बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो । नौ जना घाइते भए । सोही घटनामा घाइते भएकाको मन अझैसम्म झस्किरहन्छ । तीजको दिन रातो साडी लगाएर नाच्ने रहरसँगै दिदीबहिनी टिकटक बनाउँदै रमाइलो गरेको बेलाको दृश्य मोबाइलमा हरेर टोलाउँदै आँशु पुछ्दै गर्नुभएकी घोराही–१२ गुरैकी जयन्ती घर्तीले भन्नुभयो, “सँगै नाचेको भिडियो टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई आँखा अगाडि गुमाउनुपर्यो, मनै थाम्नै सकिएको छैन ।” सोह्र वर्षीया बहिनी दीपा घर्तीले चट्याङमा परेर अकालमा ज्यान गुमाउनुपर्यो । आँखामा राखे पनि नबिझाउने बहिनी गुमाउँदा एक्लै भएको उहाँले बताउनुभयो । यतिबेला गुरौँगाउँ नै शोकमा परेको छ ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा यमकुमारी साह उपचाररत भेटिनुभयो । उहाँलाई चट्याङ लागेको करिब २४ घण्टा बितिसकेको छ । मङ्गलबार बेलुका ५ बजे घटना भएको थियो उपचारका लागि घोराही ल्याउँदा बुधबार ५ बजेको थियो । गुरौँगाउँबाट उहाँसहित नौ बिरामीलाई घोराहीबजार ल्याउन २४ घण्टा लाग्यो । यमकुमारीलाई चट्याङ लाग्दा आफूसँगै रमाइलो गर्न गएकी १९ वर्षीया छोरी मनिषा साहको घटनास्थलमै मृत्यु भयोे ।

आँखा अगाडि छोरी गुमाउनुपर्दा उहाँँलाई सम्हालिन गाह्रो भएको छ । यमकुमारीका चार छोरी चट्याङमा परेकामा दुई महिनाकी छोरी जेनिसालाई पनि चट्याङले घाइते बनाएको छ । “नाचेर रमाइलो गर्ने भनेर सालडाँडाको नयाँ बस्तीमा दिउँसो दुई वजेदखि नाच्न गएका थियौँ, ठूलो पानी पर्न थालेपछि साँझ पाँच वजे घर फर्किने बेलामा अचानक चट्याङले हान्यो, हामी सबै ढल्यौँ, होश आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिइन्”, उहाँले भन्नुभयो । चट्याङको चपेटामा परेका सबै बेहोस भएका थियौँ । अहिले शरीर थलिएको छ, खुट्टा सुन्निएका छन् । त्यो घटनाले मन स्थिर हुनसकेको छैन ।

घाइतेलाई उपचारका लागि समयमै अस्पताल पु¥याउन सकिएन । त्यो ठाउँ भौगोलिकरूपमा विकट छ । सडक र सञ्चारको सुविधा छैन । घटना भएपछि गाउँलेका घरघरमा खबर गर्न हिँड्दाहिँड्दै थकाइ लागेको थियो । साँघुरो कच्ची बाटोका कारण डोको र कपडाको झोलुङ्गा बनाएर घाइतेलाई अस्पताल ल्याउनुपरेको सोही घटनामा परेकी घोराही–१२ की बेलकुमारी घर्तीले बताउनुभयो । घटना भएपछि आकुलब्याकुल भएका गुरौँवासी रातभर सुत्न सकेनौँ । घाइतेलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन पनि नसकेको उहाँले बताउनुभयो । गाउँका युवा, बलिया सबै रोजीरोटी र कामको सिलसिलामा विदेशी भूमिमा गएका छन् । गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमात्रै रहेको बेलकुमारीको भनाइ थियो ।

सोही वडाका वडाध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुःखी भएको बताउनुभयो । यसका लागि नगर कार्यपालिकाबाट दुर्गमका नागरिकको आधारभूत सेवाका लागि विशेष पहल गर्न लगाउने बचन दिनुभयो । “कहिले पनि त्यो ठाउँमा फोन लाग्दैन, बिजुली बत्तीको पनि व्यवस्था छैन, खानेपानीको समस्या पनि उस्तै छ, उहाँले भन्नुभयो, “अब कसरी हुन्छ गुरौँका नागरिकका लागि केही गरेरै छाड्नेछु”, उहाँले भन्नुभयो ।

घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बिरामीको उपचार गर्दा अस्पतालमा लाग्ने सबै खर्च घोराही उपमहानगरले व्यहोर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । ज्यान गुमाएकाहरूको परिवारलाई विपद् व्यवस्थापन समितिबाट रकमसहित राहतको व्यवस्था गर्ने उहाँले बताउनुभयो । घाइतेलाई मानसिक पीडा धेरै छ । उपचारसँगै परामर्शको काम भइरहेको सम्बद्ध चिकित्सकको भनाइ थियो ।

चट्याङ लागेर घाइते हुनेमा १५ वर्षीया निरुता साह, १५ वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यामुसरी थापा, ३८ वर्षीया यमकुमारी साह रहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । यसैगरी सामान्य घाइते हुनेमा चार वर्षकी जेनिशा साह, १४ वर्षीया अन्जना घर्ती, १५ वर्षीया सावित्रा वली, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली रहेको प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । रासस