२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा बाढी: सयौँ परिवार पुनः सडकमा



अ+ अ-

टीकापुर । कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।

यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरु पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन् । मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरुले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ । असोज १ गतेको बाढीले भजनीमा ७ हजार परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरु दसैँ आएसँगै घर फर्किएका थिए । घर फर्किएर दसैँको टीकासमेत राम्ररी लगाउन पाएनन् ।

“दसैँको टीकासमेत राम्ररी लगाउन पाएनौँ, घरमा केही छैन । बाढीले सबै तहसनहस पारिसकेको थियो”, भजनीका रमा धामीले भन्नुभयो, “छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौँ, फेरि बाढीले डुबायो । शुक्रबार फेरि सडकमा आएका छौँ ।” उहाँले बाढीका कारण आफूहरु बिचल्लीमा परेको गुनासो गर्नुभयो । “बाढीले केही राखेन, न घरका सामान, अन्न राख्यो, न खेतमा रहेको धानबाली रह्यो”, उहाँ भन्नुहुन्छ, “हामी के खाने? वस्तुभाउलाई के खुवाउने ? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ ।”

बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो । कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ । कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरीलगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको हो । यसअघि असोज १ गते शनिबारका दिन दिउँसो २ः५० बजे कर्णालीमा बाढीको तह १०।८० मिटर रेकर्ड भएको थियो । पछिल्ला वर्षहरुमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ ।

कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो । यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका–२, ७ र ८ का सयौँ घरमा बाढी पसेको हो । भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीबाट विस्थापितहरु कोही उच्च घर, कोही विद्यालय र कोही सडकमै फर्किएका बताउनुभयो । उहाँले भजनीमा बाढीले तहसनहस गरेको बताउनुभयो । असोजको पहिलो साताको बाढीले खेतीपाती सखाप भइसकेका यहाँ नागरिक पुनः बाढी आएपछि थप पीडामा छन् । फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित हुनु परेपछि निकै दुःखी भएका छन् ।

निरन्तरको वर्षाका कारण अधिकांश किसानको पाकेको धान खेती हावा लागेर ढलेको छ । पाकेको धान खेतमा सड्ने र उम्रने जोखिम बढेको किसान मणिराम रावलले बताउनुभयो । “खुल्ला खेतमा धान ढलिसकेको छ । पाकेको धान हावाले समेत ढल्न थालेको छ”, उहाँले भन्नुभयो, “वर्षा नरोकिए धान खेती रहन्न । मौसम यस्तै रहे यहाँ त भोकमरी हुने चिन्ता बढेको छ ।” किसानहरु वर्षा रोकिएको भए बाला काटेर भए पनि धान खेती जोगाउन हुन्थ्यो भन्न थालेका छन् । “खुल्ला खेतमा पानी रोकिएको एक सातासम्म धान काट्न सकिँदैन”, किसान परमभक्त देवकोटाले भन्नुभयो, “पानी रोकिएको भए धानका बाला मात्र काटेर भए पनि अन्न जोगाउन हुन्थ्यो । अझै दुई÷तीन दिन वर्षा भएमा धान नोक्सान हुन्छ ।”

मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारको तुलनामा शनिबार आइतबार झन् बढी वर्षा हुनेछ । वर्षा निरन्तर रहेको र यहाँका नदीहरुमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा थप जोखिम रहेको बताइएको छ । यहाँका पालिकाहरुले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरिसकेका छन् । यसका साथै खोज तथा उद्धारमा सबै सरोकारवालाई परिचालन हुन आग्रह गरेका छन् ।




भर्खरै