१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ



अ+ अ-

घोराही । जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थाल्नुभएको छ ।

घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गर्नुभएका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गर्नुभएको छ । उहाँहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उहाँहरूको भनाइ छ ।

माला बनाएर कोल्डस्टोरमा राखिने उहाँहरूको भनाइ छ । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक लोकेन्द्रले बताउनुभयो । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उहाँ बताउनुहुन्छ् ।

“जिल्लालाई प्राथमिकता दिएको हुनाले माग भए पनि बाहिर पठाउने गरिएको छैन”, उहाँले भन्नुभयोे । उहाँले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताउनुभयो । उहाँले झिगौरासँगै सुनपुरमा पनि फूलखेती गर्नुभएको छ । उहाँले विगतका वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका लोकेन्द्रले जिल्लामा दसैंँ तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो ।

“दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँंतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ”, रोकाले भन्नुभयोे । रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्दै आउनुभएको छ । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको रोका बताउनुहुन्छ । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाटसमेत फूलको माग हुने गरेको छ । “काठमाडौँंबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, उहाँले भन्नुभयोे । अहिले उहाँले एउटा मालालाई रु एक सयमा बिक्री गर्दै आएको बताउनुभयो ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रैमहिना फूल उत्पादन सुरु गरेको बताउनुभयो । वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उहाँको भनाइ छ । अहिले उहाँले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आउनुभएको छ । आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उहाँको भनाइ छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उहाँको भनाइ छ ।

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उहाँको आग्रह छ । पछिल्लो समय सरकारी निकायबाट समेत सहयोग प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिकरूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत छ वर्ष पहिलेदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आउनुभएको हो । उहाँले पनि अहिले फूले टिपेर माला बनाउन थाल्नुभएको छ । तिहारको लागि मागसमेत हुन थालेको उहाँको भनाइ छ ।

“माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । माला बनाएर कोल्ड स्टोरमा राखिने उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ । माला रु एक सयदेखि तीन सयसम्म बिक्री गर्ने गरेको उहाँको भनाइ छ । मालाका डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ ।

अहिले आठ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिकरूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको उहाँले बताउनुभयो । चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममासमेत हजारीको फूलको मालाको माग बढ्दै गएको उहाँ बताउनुहुन्छ ।