२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा झिनियाँसहित तयारी रोटीकोे माग उच्च



अ+ अ-

गलकोट । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकारको माग बागलुङमा उच्च रहेको छ । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् ।

बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको भीड नै लाग्ने गरेको छ । बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायतका रोटीका परिकारको माग उच्च भएको विगत १० वर्षदेखि बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका परिकार बनाउँदै आउनुभएका मीरा श्रेष्ठले बताउनुभयो ।

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । श्रेष्ठले विगत १० वर्षदेखि झिनियाँ, चिनी रोटी, फिनी रोटी, सेल रोटी, भेली रोटी, खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

“पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ, लगातारको वर्षाले झिनियाँ सुकाउन समस्या भयो, झिनियाँको माग धान्नै समस्या छ”, श्रेष्ठले भन्नुभयो, “झिनियाँ मात्रै नभएर चिनी, फिनी र सेललगायतका तयारी रोटीको माग बढेको छ, यो सिजनमा दिनरात नभनी काम गरिरहेका छौँ ।”

मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रातदिन नभनेर झिनियाँ, चिनी, फिनी, भेली र नमकिनलगायतका तयारी परिकार बनाइराखेका छन् । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर बागलुङ बजारको अधिकांश झिनियाँ र तयारी रोटीको माग महिला उद्यमी श्रेष्ठले धान्दै आउनुभएको छ ।

श्रेष्ठले दसैँ तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बेचेर रु छ लाख कमाउने लक्ष्य राख्नुभएको छ । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा समेत झिनियाँसहित अन्य सात प्रकारका तयारी रोटीको माग भएको हो ।

माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दसैँतिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेष गरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँलगायतका रोटी बनाइराखेको श्रेष्ठले बताउनुभयो ।

बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रूपमा झिनियाँ बनाउँदै आएकी उहाँले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउनुभयो । अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । उहाँले तीन वर्षदेखि रु एक लाखको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गरेर बनाउन थाल्दा माग आपूर्तिमा सहजता भएको बताउनुभयो ।

थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रु दुई सय ५० र सानोमा रु एक सय ४० मा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी रु ८०, फिनी रोटी रु ७०, भेली रोटीलाई रु ५० र नमकिन रोटीलाई रु ५० मा बिक्री गर्दै आउनुभएको छ ।