२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा



म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल
अ+ अ-

म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो । एक सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि विसं २०७८ असोजमा थानी–हिमशिखर जेभीले रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि केदार रिजालले पुलको फाउण्डेशन, जिप, लठ्ठा तान्ने र स्टिल डेग राख्ने काम सकिएको बताउनुभयो । दायाँ र बायाँतर्फ जाली हालेर लठ्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम भने बाँकी छ ।

यसै महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताको म्याद १० महिना थियो । लक्ष्यभन्दा करिब तीन महिना ढिला गरी पुल निर्माण सकिन लागेको हो । पुल बनेपछ एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायत गतिविधि गर्ने भएकाले पुलले सुविधा पुग्ने उहाँको भनाइ थियो ।

यसबाट बागलुङको पञ्चकोट र कुँडुलेमा रहेको शालग्राम सङ्ग्र्रहालय अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नाका साथै रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।पुल निर्माणका लागि बानपा–४ कँुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटालगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । यो म्याग्दीमा निर्माण भएको तीन सय मिटरभन्दा लामो तेस्रो झोलुङ्गे पुल हो ।

यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने तीन सय ६५दशमलव८० मिटर लामो र एक सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । एक वर्षअघि मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।