१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रेडर मेसिन हाँक्दै अनिता



अ+ अ-

घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउँदै आउनुभएको छ ।

उहाँ डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आउनुभएको छ । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थाल्नुभएको हो । “मैले यतै आएर चलाउन सकेकी हुँ”, चालक अनिता बताउनुहुन्छ ।

“कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए”, उहाँले भन्नुभयो, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।” घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउनुहुन्थ्यो । उहाँसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउनुहुन्छ ।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उहाँको भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने हुनुभयो । तर उहाँसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिनुभयो । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला हुनुहुन्थ्यो ।

“पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफ भए”, अनिता भन्नुहुन्छ । उहाँले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गर्नुभयो ।

“ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो”, उहाँले भन्नुभयो, “विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।” अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

“अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ”, चालक अनिता भन्नुहुन्छ, “तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।” बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरु महिलालाई सल्लाह छ ।

निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । “निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ”, अनिताले भन्नुभयो, “धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।”

अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुनुहुन्छ । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गर्नुभएकी उहाँले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गर्नुभएको हो । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थाल्नुभयो । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उहाँ सम्झिनुहुन्छ । “अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ”, अनिताले भन्नुभयो । रासस