काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसी एमालेको बिरोधकाबीच संसदमा पेश भएपनि यस्तो बेला पेश भएको विधेयक वा सम्झौता पेश नभए सरह भएको दाबी गर्नुभयो ।
आईतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले एमालेले यसमा कुनै पनि अवस्थामा सहमति जनाउन नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय/अन्तर्राष्ट्रिय दबाबका कारण नभइ एमसीसी नेपालको आवश्यक छ छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले एमसीसी षड्यन्त्रपूर्वक संसदमा पेश गरिएको र यसको हिसावकिताव इतिहासले गर्ने बताउनु भयो । सांसद अधिकारीले एमसीसी संसदमा पेश गर्नेहरु अपराधी भएकोले उनीहरुलाई कठघरामा उभ्याउनु पर्ने बताउनु भयो ।
सांसद अधिकारीले भन्नुभयो, ‘एमसीसीका केही बुँदाहरु नेपाली जनतालाई स्पष्ट पार्नुपर्नेछ । राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबका कारणले होइन, आवश्यक हो वा होइन भन्ने आधारमा ल्याउनु पर्छ । यस्तो वातावरणमा जबजस्ती कसैलाई ल्याउनु हुँदैन । सत्ता गठबन्धन नीतिहीन, गतिहीन, गन्तव्यहीन, राष्ट्रिय, अन्तर्राष्ट्रिय गुरु वा मालिक रिजाउन मात्रै काम गर्छ । यसले यो गठबन्धन हुँदा नै यो सम्झौता गरेको हो । पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री समकक्षी होइनन् । दुई जनाले पत्र लेखेर जो पठाए षड्यन्त्रकारी प्रयोजनका साथ ल्याइएको छ । सडकमा आन्दोलन यता पेश गर्ने जस्ता नाटकले नेपालको सार्वभौमिकतालाई अपराधपूर्ण काम सत्ता गठबन्धनले गरेको छ । यो अपराधको हिसाव किताव इतिहासले लिनेछ ।
हामीलाई छलफल गर्न समेत नदिने गरी ल्याइएको छ । यसको हामी कुनै हालतमा सहमति गर्न सक्दैनौँ । यसको प्रक्रियामा सामेल हुँदैनाँै । यिनीहरुको नाटकले नेपालको सार्वभौमिकतामाथि आघात पारेका छन् र अरुलाई दोष दिइरहेका छन् । यी अपराधी हुन् । इतिहासको कठघरामा उभिनुपर्छ ।’












