हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज (सोमबार) पनि स्थगित भएको छ ।
विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक चल्न नसकेको हो। बैठक सुरु भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षी दल माओवादीका नेता शालिकराम जम्कटेललाई बोल्न समय दिएका थिए ।
जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गरे । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरे पनि सांसदहरूले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।
बजेट विनियोजन असन्तुलित भएको भन्दै नेकपा माओवादी, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले शनिबार पनि बैठक चल्न दिएका थिएनन् । आइतबार पनि बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो ।












