काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज सकिँदैछ । संवैधानिक इजलासले मुद्दाका विपक्षीलाई बहसका लागि दिएको १५ घण्टामध्ये सभामुख बाहेकको सरकारी पक्षलाई १४ घण्टा समय दिइएको थियो ।
सरकारी पक्षको बहस गत सोमबार महान्यायाधिवक्ता रमेश बडालको बहसबाट सुरु भएको थियो । सरकारी पक्षको सो अवधिमा महान्यायाधिवक्ता बडालबाहेक नायब महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला, टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बहस गरेका छन् । त्यस्तै सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी लगायतले बहस गरेका छन् ।
आज सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटा पक्षबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपानेले बहस गर्नेछन् ।
अधिवक्ताद्वय मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले पनि सभामुखको तर्फबाट बहस गर्नेछन् । सभामुख पक्षको बहसपछि रिट निवेदन पक्षले ३ घण्टा जवाफी बहस गर्नेछ भने एमिकस क्यूरीका ४ जना सदस्यले ३० मिनेटका दरले २ घण्टामा आफ्नो राय दिनेछन् ।












