काठमाडौं । कोभिड – १९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु भएको छ । कोभिड – १९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । बिहीबारदेखि आन्तरिक उडान सुचारु भएको हो ।
आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाडौं बाहिर जान सहज भएको छ । हवाई यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुहरुले फेसशिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तबरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिएका छन् ।
उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रुबीच भौतिक दुरीको पालना गराउन सकिएन भने कोरोनाभाइरस संक्रमणको जोखिम बढ्ने देखिन्छ । वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरुको रोजाई हवाई मार्ग हुने गरेको छ ।
आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरुको चाप अत्यधिक रहेको छ । काठमाडौंमा यातायातको साधन जोरविजोर प्रणालीमा खुलेर मानिसहरुलाई आवतजावतमा रोक नलगाइँदा विमानस्थलमा मानिसलाई लिन जाने र पुर्याउन जानेहरुलाई सहज भएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ ।














