५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोक्यो ‌ओलिम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पाँच खेलाडीहरू को-को हुन्र ?



अ+ अ-

काठमाडौं । टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ। ती खेलाडीले कोरोनाभाइरस सङ्क्रमणका कारण निकै फरक परिस्थितिका माझ अर्को महिना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा खेल्नेछन्।

जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत् टोक्यो ओलिम्पिकको सहभागिता निश्चित गरेसँगै टोकियो ओलिम्पिक खेल्ने नेपाली खेलाडीको सङ्ख्या पाँच पुगेको छ।

वाइल्ड कार्डको व्यग्र प्रतीक्षामा रहेका १२ जना खेलाडीहरूमा यसअघि शुटिङकी कल्पना परियारले पनि उक्त कोटामा आफ्नो नाम लेखाउन सफल भएकी थिइन्।
'सपना पूरा भएको छ। तर अझै पनि सपना जस्तै लागिरहेको छ,' जुडो खेलाडी भट्टले ओलिम्पियन खेलाडीको रूपमा आफ्नो परिचय बन्ने भनिन्।

एथलेटिक्सका गोपीचन्द्र पार्की तथा पौडीबाट गौरिका सिंह र एलेक्स शाहको नाम भने नियमित कोटाबाट छनोट भइसकेको छ। कोरोनाभाइरस महामारीका कारण एक वर्ष ढिलो गरी सुरु हुन लागेको टोक्यो ओलिम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म हुँदैछ।

सन् १९६४ को टोक्योओलिम्पिकदेखि नै सहभागिता जनाउन थालेको नेपाली खेलकुदको यो १४ औँ ओलम्पिक सहभागिता हो।

वाइल्ड कार्ड के हो ?

विश्वको सबैभन्दा ठूलो खेल मेला ओलिम्पिकमा सहभागिता जनाउने तीनवटा माध्यम छन्। पहिलो- छनोट प्रतिस्पर्धा जित्ने। विश्वका प्राय सबै खेलाडी यही बाटो हुँदै ओलिम्पिक पुग्ने गर्छन्।

नेपालबाट तेक्वान्दोका संगिना बैद्य र दीपक विष्टले मात्र यो बाटो पार गरेर ओलिम्पिक पुग्न सकेका छन्। दोस्रो माध्यम हो 'युनिभर्सालिटी प्लेसस' कोटा।

कमजोर राष्ट्रका खेलाडीहरूले ओलिम्पिकको कठिन मानिने छनोट चरण पार गर्न सक्दैनन्। जसका कारण थुप्रै राष्ट्रको ओलिम्पिकमा सहभागिता नहुने भएकाले त्यस्ता राष्ट्रलाई एथलेटिक्स र पौडीमा नियमित कोटा अर्थात् 'युनिभर्सालिटी प्लेसस' कोटा दिइन्छ।

अनि सबै ओलिम्पिक सदस्य राष्ट्रहरू सहभागिताविहीन हुँदैनन्। तेस्रो तरिका चाहिँ 'वाइल्ड कार्ड' हो।

छनोट चरण पार गर्न नसकेका तर त्यस क्रममा राम्रो प्रदर्शन गरेका खेलाडीले यो कोटा पाउने गर्छन्। 'वाइल्ड कार्ड' कोटाको निर्धारण अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी, आयोजक राष्ट्र र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासङ्घका प्रतिनिधि सम्मिलित 'ट्राइपार्टाइट कमिटी' ले गर्छ।

नेपाल ओलिम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ भन्छन्, 'यो समितिले खेलाडीको प्रदर्शन, वरीयता, खेल महासङ्घको प्राथमिकता र खाली रहेको सिटको आधारमा कोटा छुट्याउने गर्छ।'

कसरी पाए कल्पना र सोनियाले ?
शुटिङ खेलमा वाइल्ड कार्डका लागि योग्य हुनका निम्ति अन्तर्राष्ट्रिय शुटिङ महासङ्घले निर्धारण गरेको न्यूनतम छनोट स्कोर (एमक्युएस) ल्याउनै पर्छ। १० मिटर एयर राइफलको ५९० एमक्यूएस राखिएको थियो।

सन् २०१९ नोभेम्बरमा कतारको दोहामा भएको एसियाली शुटिङ च्याम्पियनसिपमा कल्पना परियारले ६१३ दशमलव ९ स्कोर गरिन् र वाइल्ड कार्डकी दाबेदार बनिन्।शुटिङमा १२ पुरुष र १२ महिला गरी २४ वटा वाइल्ड कार्डको कोटा पनि थियो।

सोनियाले सन् २०१९ मै मोरक्कोमा सम्पन्न विश्व जुडो च्याम्पियनसिपको ४८ केजी मुनिको तौल समूहमा मोजाम्विककी खेलाडीलाई पराजित गरेर २०० अङ्क बटुलेकी थिइन्।

नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य भन्छन्, 'त्यहाँ उनले प्रभाव छोडेकी थिइन्। जुडोमा वाइल्ड कार्डको लागि २० वटा कोटा थियो। त्यसैले धेरै आशा थियो। प्राप्त भयो।' १३ औँ दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेकी भट्टले ओलिम्पिक छात्रवृत्ति पाएकी खेलाडी भने होइनन्।

कसले पाएनन्र ?


नेपाल ओलिम्पिक कमिटीले वाइल्ड कार्डका लागि विभिन्न सात खेलका १२ खेलाडीको सिफारिस गरेको थियो।

१२ जना खेलाडीहरूले अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीद्वारा प्रदान गरिएको ुओलिम्पिक छात्रवृत्तिु अन्तर्गत प्रशिक्षण पनि पाएका थिए।

मासिक ५०० अमेरिकी डलर पाउने सो छात्रवृत्ति पाउने खेलाडीहरू नै वाइल्ड कार्डका दाबेदार हुन्थे। त्यसमा नौ खेलाडीहरूले मौका पाएनन्।

तिनीहरू करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, भारोत्तोलनका सञ्जु चौधरी र कमला श्रेष्ठ, तेक्वान्दोका वीर बहादुर महरा, शुटिङ सुस्मिता नेपाल, जुडोका इन्द्र बहादुर श्रेष्ठ र बक्सिङकी मिनु गुरुङ हुन्।

जुडोकी भट्ट र बक्सिङकी गुरुङले ओलिम्पिक छात्रवृत्ति पाएका थिएनन् तर उनीहरूको नाम वाइल्ड कार्डका लागि सिफारिस भएको थियो।

पारालिम्पिकमा गोवर्धन
ओलिम्पिक सकिएको एक महिनापछि हुने अपाङ्गता भएका खेलाडीहरूको टोक्यो पारालिम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले वाइल्ड कार्ड प्राप्त गरिन्।

आगामी अगस्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने पारालिम्पिकमा गोवर्धनले ४४ देखि ५८ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।

नेपाल तेक्वान्दो सङ्घले गोवर्धन र रञ्जना धामीको नाम वाइल्ड कार्डको लागि पठाएको थियो। गोबर्धन विश्व तेक्वान्दो महासङ्घको १३ औ वरीयता प्राप्त खेलाडी हुन्।

पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेकी थिइन्।

२०१७ मा लन्डनमा आयोजित सातौँ विश्व पारा तेक्वान्दो प्रतियोगितामा उनले पाँचौँ स्थानमा प्राप्त गरेकी थिइन्।

पारा तेक्वान्दो सङ्घका सचिव दीपक विष्टले पारालिम्पिकमा गोवर्धनले पदक जित्ने प्रबल सम्भावना रहेको बताए।

पारालिम्पिकमा एथलेटिक्स लगायत अन्य खेलका खेलाडीहरूको पनि वाइल्ड कार्ड आउन सक्ने बताइएको छ।

फरक ओलिम्पिक


यसपालिको ओलिम्पिकमा सहभागी खेलाडी, पदाधिकारीहरूले कडा स्वास्थ्य सुरक्षाको घेरामा रहेर ओलिम्पिकमा सहभागिता जनाउनुपर्नेछ।

कोरोनाभाइरस महामारीका कारण एकवर्ष ढिला सुरु हुन लागेको प्रतियोगिता नियम नै नियमको चाङमा टेकेर हुने नेपाल ओलिम्पिक कमिटीले बतायो।

कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले भने, 'यो असाधारण ओलिम्पिक सहभागिता हो। त्यसमा जानु १४ दिन अगाडि देखि र खेल सकिए लगत्तै देश फर्किने सम्ममा सहभागी सबै सदस्यले आयोजकले तोकेको नियम कडाइका साथ पालना गर्नुपर्नेछ।'

आयोजकले दिएको निर्देशन अनुसार ओलिम्पिक जानु १४ दिन अगाडिदेखि हरेक दिन खेलाडीहरूको ज्वरो देखि अन्य स्वास्थ्य सम्बन्धी फर्म भर्नुपर्नेछ।

पाँच दिन अगाडिदेखि हरेक दिन पीसीआर गर्नुपर्नेछ। जापान पुगेपछि पनि तीन दिन क्वारन्टीन बस्नुपर्नेछ। र ती सबैमा पीसीआर नेगेटिभ आएपछि मात्र खेलमा सहभागी हुन पाइनेछ।

म्याराथनमा छानिएका खेलाडी गोपीचन्द्र पार्कीले जापान पुगेर क्वारन्टीन बस्दा भने आफ्नो खेलमा असर पर्न सक्ने चिन्तामा छन्।

उनी भन्छन्, 'तीन दिन क्वारन्टीन भने म्याराथन जस्तो खेलमा धेरै हो। यदि क्वारन्टीनमा अभ्यास गर्न पाइएन भने खेलमा निकै असर पर्न सक्ने म देख्छु।' त्यस्तै खेल सकिएको ४८ घण्टाभित्र स्वदेश फर्किसक्नुपर्ने कडा नियम बनाइएको छ।

महासचिव श्रेष्ठले भने, 'खेलाडीहरूले भिलेज छोड्न पाउने छैनन्। आफ्नो खेल स्थलबाहेक अन्य खेलाडीको खेल हेर्न पाउनेछैनन्। बजार जाने, बाहिरका मान्छे भेट्ने जस्ता काम त टाढाको विषय हुनेछ।'

यी कुनै पनि नियमको उल्लङ्घन भएमा आयोजकले तत्काल देश निकाला गर्न सक्ने सम्मको नियम छ। छानिएका खेलाडीमा पौडीकी सिंहले लन्डनमा तथा बाँकी खेलाडीले काठमान्डूमा प्रशिक्षण लिइरहेका छन्।

नेपालबाट यसपालि खेलाडी र अधिकारी गरी झन्डै दुई दर्जनको सहभागिता हुन सक्ने बताइएको छ। (एजेन्सी)