२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्रे



अ+ अ-

गलकोट । निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो ।

गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन । डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ ।

ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दासमेत कालोपत्रे भएन”, उहाँले भन्नुभयो, “दुई पालिका जोड्ने सडक कालोपत्रे भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रेका लागि ढिलै भए पनि ग्राभेल गरेको छ ।”

ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ । म्याद सकिएपछि दुई पटक म्याद थप्दासमेत कालोपत्रे नभएको पूर्वाधार कार्यालय बागलुङले जनाएको छ । पूर्वाधार कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रेमा समस्या भएको जानकारी दिनुभयो ।

“यो ठेक्का आर्थिक वर्ष २०७५/०७६ लगाइएको थियो, आगामी म्याद सकिएपछि पुन दुई पटक थपियो, पुससम्म ठेक्का म्याद छ, त्यो म्यादभित्र सडक कालोपत्रे सक्न निर्देशन दिएका छौँ, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरनाभन्दा माथि भौगोलिक जटिलताको कारण देखाउँदै काम ढिलो गरेको छ”, उहाँले भन्नुभयो, “अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र अहिले कायम भएको मितिभित्र समेत सडक कालोपत्रे सकिँदैन ।”

उहाँका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो । अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ ।

झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग रु २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम ढिलो भएको छ । उक्त सडकको हालसम्मको प्रगति ५० प्रतिशत मात्रै भएको छ । अहिलेसम्म रु १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । सडक कालोपत्रेमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गर्नुभयो । उहाँले पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताउँदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“अहिले धमाधम सडक ग्राभेल गर्ने कार्य भइरहेको छ, गाईघाट झरनादेखि माथि पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षति पुग्दा समस्या भयो, अहिले विद्युत्का पोलसमेत सार्न थालिएको छ”, उहाँले भन्नुभयो, “अब कामले गति लिन्छ समस्याग्रस्त क्षेत्रमा कालोपत्रे नगरेर ढलान गर्नका लागि छलफल भइरहेको छ ।”

हटियादेखि गाईघाट झरनासम्म ६३ पोल सार्नका लागि ठेक्कामार्फत अहिले काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत्का पोल सार्ने काम केही दिनमै सकिने जनाउँदै निर्माण व्यवसायीलाई छिटो सडक कालोपत्रे गर्न सुझाव दिनुभयो । रासस




भर्खरै