काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि करिब १९ अर्ब बजेट ल्याएको छ । महानगरपालिकाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड र विकास क्षेत्रतर्फ ५५ करोड प्रस्ताव गरिएको छ ।
उपप्रमुख खड्गीले भन्नुभयो ‘प्रस्तावित बजेटमा कोभिड-१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गतवर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझावहरू, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको छ’ ।
बजेटमा कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भयो।
आगामी आर्थिक वर्षमा महानगरवासीका लागि महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य किमा कार्यक्रममा ५० प्रतिशत बिमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ भने ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ ।
त्यस्तै महानगरपालिकाले मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन, ज्येष्ठ नागरिक मिलन केन्द्र, उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।












