एजेन्सी । युरो २०२० अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन् ।
आज राति समूह 'डी' का अन्तिम चरणका दुई खेलहरु हुन लागेका हुन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।
इंग्ल्यान्डले वेम्बली स्टेडियममा १२ः४५ बजे चेक रिपब्लिकसँग खेल्नेछ ।
आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुग्ने मौका छ । तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने छ ।
चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । बराबरी खेलेमा पनि चेक रिपब्लिक नकआउट चरणमा पुग्नेछ ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । दुई टिमबीचको खेल राति स्कटल्याण्डको हाम्पडेन पार्कमा १२ः४५ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
क्रोएसिया २ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहेको छ भने स्कटल्याण्ड २ खेलमा १ अंकसहित तालिकाको पुछारमा रहेको छ ।












