एजेन्सी । युरो २०२० फुटबल प्रतियोगितामा आज चार खेलहरु हुँदैछन् ।
समूह चरणको अन्तिम खेलमा आज समूह 'बी' र समूह 'सी' का टिमहरुले प्रतिस्पर्धा गर्दैछन् ।
समूह 'सी' मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकाल्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।
नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।
यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रियाले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमबीचको खेल ९ः४५ बजे सुरु हुनेछ ।
दुबै टिमको लक्ष्य जित निकाल्दै नकआउट चरणमा पुग्नु रहेको छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै समूह 'बी' मा रहेको बेल्जियमले फिनल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिम राति १२ः४५ बजे आमनेसामने हुँदैछन् ।
अघिल्ला दुई खेल जितेको बेल्जियम यस अघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ । आज फिनल्यान्डलाई हराएर बेल्जियम समूह विजेता बन्ने दाउमा हुनेछ ।
यता फिनल्यान्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा रसियाले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
रसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।
यता डेनमार्क अंक विहीन रहँदै तालिकाको पुछारमा रहेको छ । यदि डेनमार्कले रसियालाई हराएमा डेनमार्क अन्तिम १६ मा प्रवेश गर्नेछ । गोल डिफरेन्सको आधारमा डेनमार्क नकआउट चरणमा प्रवेश गर्नेछ ।
आइतबार भएको खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको थियो भने स्वीट्जरल्यान्डले टर्कीलाई ३-१ गोलले पराजित गर्यो ।












