डा जगमान गुरुङ
दुल्लू अघि पूर्व मध्यकालमा पश्चिम नेपालमा विकशित सपादलक्ष खसदेशको हिउँदे राजधानी हो। दुल्लूमा पाँच-पाँच कोशको दूरीमा शिरस्थान, नाभिस्थान, पादुकास्थान, धुलेश्वर र डुङ्गेश्वर यी पाँचवटा तीर्थ छन् । पाँच-पाँच कोशको दूरीमा रहेको हुनाले यी तीर्थहरु पञ्चकोशीतीर्थका नामबाट प्रसिद्ध छन्।
शिरस्थान र नाभिस्थानमा अहिले पनि ज्वाला बल्छ। पादुकास्थानमा चाहिँ खोलो पैरोले गर्दा ज्वाला बल्न छोड्यो। यस ज्वालाको महत्त्वलाई लिएर ज्वालापुराण लेखिएको छ। यहाँका यी ज्वालालाई वैश्वानर ज्वाला मानिएको छ।
धुलीश्वरमा पनि अघि कुनै बेला ज्वाला बल्दो रहेछ। कालान्तरमा ज्वाला बल्न छोड्यो तापनि बेला बेलामा ज्वाला बल्ने छिद्रबाट धुलो फाल्दो रहेछ।त्यसकारण धुलीश्वर नाम रह्यो तर अहिले धुलो फाल्न पनि छोड्यो। ज्वाला बलेको र धुलो फाल्ने गरेको ठाउँ भने अहिले पनि छँदैछ।
दुल्लूको दखिनमा कर्णाली र पराजुला नदीको दोभानमा डुङ्गेश्वर शिवलिङ्ग अवस्थित छ। बडो रमाइलो ठाउँ छ। नेपाली भाषाको पुरानो नमूना यही दुल्लूमा पाइएको छ। दुल्लूको खिराखेतमा पाइएको वामु खड्गाको वि.सं.११५१ को अभिलेखलाई नेपाली भाषाको सबभन्दा पुरानो नमूना मानिएको छ।
यसैगरी पादुकास्थानमा अशोकचल्ल (१२८१-१३४३) को पालाको सउना कार्की र साउका कर्किनीको बुद्धमूर्ति सहितको अभिलेख पाइएको छ। पृथ्वीमल्लको वि.सं. १४१४ को कीर्तिस्तम्भ दुल्लूमा नै अवस्थित छ। नेपालको इतिहासमा मानदेवको चाँगुनारायणको स्तम्भाभिलेख पृथ्वीमल्लको दुल्लूको स्तम्भाभिलेखले महत्त्वपूर्ण स्थान राख्दछ। यसैगरी पृथ्वीमल्लका महामात्य छत्यालवंशका देववर्माले वि.सं. १४११ मा निर्माण गरेको कलात्मक पाथर न्याउला पनि दुल्लूमा नै अवस्थित छ।
कतिपय खस बाहुनको थर यही दुल्लू र दैलेखको गाउँ ठाउँको नामबाट कायम गरिएको छ। जस्तै: रिजुका रिजाल, पोखराका पोखरेल, बडका बडाल, लम्जिका लम्जेल, खँदका खँदाल-खनाल, नेपाका नेपाल, बस्तुलिका बाँस्तोला, बस्ताकोटका बस्ताकोटी, दहका दाहाल, पराजुलाका पराजुली, भुर्तिका भूर्तेल, लम्सिका लम्साल आदि । त्यसकारण खस बाहुनहरु आफ्नो थरको कैरान खोज्न दुल्लू जान पर्छ। यसरी दुल्लू प्राकृतिक स्रोत, मानव संसाधन र सामुदायिक पहिचानका दृष्टिले समृद्ध छ। यस समृद्ध दुल्लूका बासिन्दाहरु पनि सुसभ्य र सुसंस्कृत छ्न्। त्यसकारण अन्तका कोही मानिस आएर पानी मागे भने समृद्ध दुल्लूका सुसंस्कृत मानिसले दही दिन्छन् रे। यस्तो लोकोक्ति प्रसिद्ध छ।
दुल्लूका ज्वालाहरु प्राकृतिक हुन् तर हामी यस ज्वालालाई दैवीशक्ति मान्दछौँ। यो हाम्रो श्रद्धा, विश्वास र आस्था हो। मूर्त्त वस्तुप्रतिको अमूर्त्त दर्शन हो। यसमा हामी गौरवान्वित छौँ, किनभने हाम्रो प्रकृति र हाम्रो आस्था नै हाम्रो गौरव हो।












