२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेक चड्न थाले भेडी गोठ



अ+ अ-

ढाेरपाटन । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरी राख्छन् ।

बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन् । बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् । असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ । मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जङ्गलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ ।

अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ बेला मात्रै बेसी झर्ने गर्छन् । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने गर्छन् । यति बेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन् । बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन् । अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्छन् । पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झर्ने गरेको भेडापालक कृष्णबहादुर घर्तीमगरले बताउनुभयो । लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उहाँको भनाइ छ ।

‘यसपालि त बर्खा नलाग्दै ठूलो पानी प¥यो, त्यसले गर्दा लेकमा घाँस पलाएरका छन्, बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिँदैन, त्यही भएर लेकतिर लागेका छौँ, पहिले–पहिले असार लाग्ने बेला जान्थ्यो, यो वर्ष दुई साता पहिलै लेक जाँदैछौँ’, घर्तीमगरले भन्नुभयो, ‘अहिले लेक चडेपछि आउने त अब दसैँतिर मान्न हो, त्यस बेलासम्म परिवारसँग सँगै बस्न पाइँदैन, ज्यानलाई सञ्चो भएन भने, घरका केही प¥यो भने मात्रै झर्ने हो नत्र एकै पटक असोज, कात्तिकमा आउने हो ।’

तमानखोला गाउँपालिका–५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुईको उचाइमा रहेको जनाउँदै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताउनुभयो । गर्मी मौसममा भेडा औलमा बस्दा बिरामी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उहाँको भनाइ छ । हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेँसी झार्ने गरेको बताउनुहुन्छ । भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुनेतिर लैजान सुरु भएको छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीहरु लेक बेँसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो, भेडा नपाली खान लाउन पुग्दै, यही बेचेर परिवार चलाउँदै आएका छौँ, काम त गर्नै प¥यो जे गरे पनि, लाहुर जान सकिएन, पढ्न पाइएन, पढेको भए जागिर खाइन्थ्यो होला, हाम्रो पालामा पढ्ने लेख्ने चलन पनि थिएन, यसैगरी जिन्दगी बित्न थाल्यो, यहाँको वनपाखा सबै थाहा छ, म हरेक कुनामा पुगेको छु ।’

उहाँले नयाँ युवा पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नभएको बताउनुभयो । यसले गर्दा परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको गुनासो गर्नुभयो । पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरेको भन्दै अहिले निकै कम भएको विकको भनाइ छ । भेडाबाख्रा पाल्नेले पनि जङ्गलमा नलगी खोरमै बाँधेर पाल्ने गरेको उहाँले बताउनुभयो । पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ । भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।-रासस